२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलन अघि आफूले सभापति शेरबहादुर देउवालाई युवाले सामाजिक सञ्जाल डिस्कर्डमा गरेको छलफलबारे जानकारी दिएका बताएका छन् ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा उनले सभापति देउवालाई २२ भदौमा जेनजी पुस्ताले आन्दोलनका लागि डिस्कर्डमा गरेको छलफलबारे आफ्नै मोबाइलमा देखाएको जानकारी दिएका हुन् ।
‘यही फोनमा लगेर देखाएको हो मैले । डिस्कर्ड के हो ? मेरो छोरी नौ कक्षामा पढ्छ । के भइरहेको छ, के कुरा गरिरहेका छन् । रूँदै आउँथी मेरो छोरी । बाबा तिमीहरूलाई यति गाली गर्छ, तिमीहरू सबैलाई गाली गर्छ भन्दै आउँथी,’ महामन्त्री थापाले भने, ‘मैले गएर भनेँ ।’
आफूले कुरा राख्दा सभापति देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाउँदा ओलीले नमान्ने गरेको जवाफ दिएको पनि थापाले बैठकमा सुनाए ।
‘२२ गते (भदौ) बेलुका लगातार भनिसकेपछाडि कुरो ठीक हो, भाइहरूको कुरा ठीक हो, ठीक हो, ठिक हो, ठीक हो, तर ओली मान्दैनन्, ओलीले मान्दैनन् भनेपछि म एउटा निष्कर्षमा पुगेको हुँ,’ महामन्त्री थापाले भने ।