Suchana Vatika

एमालेले चाहेको भए एक मिनेटमा खरानी बनाइदिन्थ्यो

नेकपा (एमाले) की नेतृ तथा पूर्वमन्त्री ज्वाला कुमारी साहले सिमरा विमानस्थल आसपास भएको बुधबारको घटनाको सीधा जिम्मा सरकारमाथि दिएको छ। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सरकारले नियोजित ढंगले एमालेका नेताहरूलाई रोक्न खोजेको आरोप लगाइन्।

साहका अनुसार जेन–जी युवामार्फत भएको अवरोध कुनै स्वतःस्फूर्त घटना होइन, बरु सरकारकै समन्वयमा घटेको राजनीतिक चाल हो। “हिजोको घटना सरकारले नै गराएको हो। एमालेका नेताहरूलाई रोक्नुपर्छ, कांग्रेसका नेताहरूलाई रोक्नुपर्छ भन्ने सोचले यस्तो गरिएको हो,” उनले भनिन्।

बुधबार महासचिव शंकर पोखरेल र महेश बस्नेत कार्यक्रमका लागि सिमरा हुँदै जाने तयारीमा थिए। उनीहरू आउने जानकारीसँगै जेन–जी समूहले विमानस्थल क्षेत्रमा अवरोध गरेपछि त्यहाँबाट उड्ने उडानसमेत रद्द भएको थियो। साह भन्छिन्— “एमालेले चाहेको भए एक मिनेटमै परिस्थिति बदलिन्थ्यो। तर हामी कहिल्यै त्यस्तो बाटो अपनाउँदैनौँ।”

यही प्रसंगमा उनले सरकार निर्वाचन गराउने मनस्थितिमा नै नभएको आरोप दोहोर्याइन्।

साहले कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको आक्रमण मुद्दामा पनि सरकार ढिलोचलानी र ‘राजनीतिक संरक्षण’ दिइरहेको दाबी गरिन्। उनका अनुसार, “हत्या गर्न खोज्नेहरूलाई कारबाही गर्न सरकार इच्छुक छैन।”

सिमरा घटनापछि सरकारको भूमिका, जेन–जी आन्दोलन र राजनीतिक दलहरूको आरोप–प्रत्यारोपले चुनावअघि नै वातावरण झन् तनावपूर्ण बन्दै गएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.