प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले पदाधिकारीको संख्या टुंगो लगाएको छ ।
बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारलगायत मिलेर गठन हुन लागेको प्रगतिशिल लोकतान्त्रिक पार्टीले अधिकांश पदाधिकारीको संख्या टुंगो लगाएको हो ।
अहिलेसम्म टुंगो लागेअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्मा पाँच जना रहनेछन् । स्रोतका अनुसार अध्यक्ष परिषद्मा दुर्गा सोव, सन्तोष परियार र सुदन किराँती रहनेछन् । शिलापत्रसँग स्रोतले उल्लेख गरेअनुसार अध्यक्ष परिषद् नयाँ नेताहरूले नेतृत्व गर्ने सहमति भएको छ ।
त्यसैगरी, केन्द्रीय समिति भने १५१ जनाको हुनेछ । पार्टी स्रोतले उल्लेख गरेअनुसार संरक्षकमा एक जना हुनेछन् । सल्लाहकार समितिमा सात जना रहने तय भएको छ । त्यसैगरी, नीति परिषद्मा सात जना र १६५ निर्वाचन क्षेत्रबाट नेतृत्व सम्मिलित हुने गरी अर्को परिषद् गठन गर्ने पनि तयारी भएको छ ।
भोलि प्रगतिशिल लोकतान्त्रिक पार्टीको बृहत पार्टी एकता घोषणा हुँदै छ ।