Suchana Vatika

नतिजा देखाउने राजनीति, कुरौटे होइन

राजनीतिक मार्गदर्शन गर्ने एजेन्डा ‘कुन दल?’ वा ‘कुन नेता ?’ होइन; कसरी समाधान ? हुनुपर्छ। मुद्दामा आधारित राजनीति नेपालका लागि केवल वैकल्पिक राजनीतिक अभ्यास होइन; देशलाई दीर्घकालीन स्थिरता, आर्थिक समृद्धि र प्रविधिमैत्री शासनमा लैजाने एकमात्र व्यावहारिक बाटो हो।

नेपालको तीन दशकभन्दा लामो राजनीतिक विकास विरोधाभासले भरिएको छ। एकातिर लोकतन्त्र संस्थागत भयो भन्ने न्यारेटिभ छ भने अर्कोतिर आम नागरिक तहमा राजनीतिक निराशा र वितृष्णा बढेको बढ्यै छ। कुनै समयमा राजनीतिक परिवर्तनको नेतृत्व गरेका र ठूलो सम्भावना बोकेका दलहरू अहिले आफ्नै नेतृत्वको थकान, दलभित्रको आन्तरिक निरङ्कुशता र अस्वस्थ प्रतिस्पर्धाले जकडिएका छन्। विरोध, गठबन्धन, भुत्ते सोच र पदलोलुप राजनीतिक अभ्यासले दलहरूप्रति जनतामा ठूलो अविश्वास छ।

यस्तै निराशाको वातावरणमा आम नागरिक, विशेषगरी युवा पुस्ता, अब नयाँ राजनीतिक विचारधारा होइन, नयाँ राजनीतिक व्यवहार खोजिरहेका छन्, जहाँ राजनीति सुधार र समाधानमुखी होस्। यसै पृष्ठभूमिमा,  गतिशील लोकतान्त्रिक पार्टी (गतिलो पार्टी) “मुद्दामा आधारित राजनीति” लाई केन्द्रमा राखेर पार्टी निर्माणको अभियानमा जुटेको छ। यो पहल नेपालका लागि नयाँ मात्र होइन, अत्यन्त आवश्यक छ भन्ने हाम्रो बुझाइ हो।

मुद्दामा आधारित राजनीति किन

मुद्दामा आधारित राजनीति नयाँ सैद्धान्तिक अवधारणा होइन तर समाजलाई गलत सूचना, भ्रम र पपुलिज्मले विभाजित गरिरहेको तथा जादुमय शैलीमा हाम्रा समस्याहरूको समाधान कुनै नायकबाट खोजिरहेको सन्दर्भमा यसको अपरिहार्यता झनै बढेको छ। किनभने, मुद्दामा आधारित राजनीतिको केन्द्रमा तीन प्रमुख मूल्यहरू हुन्छन्: समाधानमुखी योजना, भावनाभन्दा तथ्य र नाराभन्दा नतिजा।

अहिले देशमा नेता मात्र धेरै भए तर देशको विकास समयक्रम अनुसार हुन सकेन भन्ने आम चासो र चिन्ता छ। रोजगारी संकट, वैदेशिक निर्भरता, शिक्षा–स्वास्थ्यको असमानता, यत्रतत्र भ्रष्टाचार, कृषि क्षेत्रमा न्यून उत्पादन र व्यवसाय विरोधी वातावरणले हाम्रो जनजीवनलाई अँध्यारोतिर धकेलिरहेको छ। हाम्रा समस्याको समाधान प्रचार र नाराले होइन, मुद्दाकेन्द्रित राजनीतिले मात्र सम्भव छ।

नवयुवा सधैंभरि मूकदर्शक बनेर कुरिरहन सक्ने पुस्ता होइन। यो पुस्ता कुरौटे होइन, परिणाममुखी नेतृत्वको खोजीमा छ। यही पृष्ठभूमिमा गतिशील लोकतान्त्रिक पार्टीले उठाएको ‘मुद्दामा आधारित राजनीति’ को एजेन्डाले विशेष महत्व राख्छ।

यो नयाँ संस्कार बोकेको राजनीतिलाई अगाडि बढाउन आम सञ्चारमाध्यममै धेरै बहसको आवश्यकता छ। अबको राजनीतिमा “किन” होइन, “कसरी” भन्ने प्रश्न सबैले सोध्न जरूरी छ।

उदाहरण: म्याक्रोन र ‘En Marche!’

नेपालका लागि मुद्दामा आधारित राजनीति गर्न चाहने कोही पनि नेताले अध्ययन गर्नै पर्ने उदाहरण हो- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन।

२०१६ मा फ्रान्सको परम्परागत राजनीतिक संरचना पुरानै विवाद र ध्रुवीकरणमा फसेको थियो। वामपन्थ र दक्षिणपन्थ दुवै पुरानै मुद्दा दोहोर्‍याइरहेका थिए, जसबाट नागरिक निराश थिए। त्यस्तै अवस्था आजको नेपालमा पनि देखिन्छ- पुराना पार्टीहरू आन्तरिक समस्यामा व्यस्त छन् र जनता वैकल्पिक राजनीतिक अभियानको खोजीमा। 

म्याक्रोनले फ्रान्समा के गरे ?

नारा वा भावनालाई होइन, समाधानमुखी बहसलाई राजनीतिको केन्द्रमा राख्ने काम म्याक्रोनले सफलतापूर्वक गरे।  उनले राजनीतिबाट दिक्क भएका आम नागरिकहरूलाई “नट राइट नट लेफ्ट– बट फरवार्ड” को सन्देश दिए। उनले आफ्नो कोर–एजेन्डा तीन क्षेत्रमा केन्द्रित गरे:

  • आर्थिक सुधार र उद्यमशीलता वृद्धि
  • श्रम बजार आधुनिकीकरण
  • पारदर्शी, जवाफदेही र नयाँ पुस्ता–केन्द्रित शासनशैली

केवल एक वर्षको राजनीतिक अभियानमा उनले फ्रान्सको राजनीतिलाई पूरै हल्लाइदिए।
एक वर्षभित्र उनले राष्ट्रपतिसम्मको यात्रा पूरा गरे।

म्याक्रोनको सफलताको मूल मन्त्र सरल थियो— “जनताले चासो राखेका मुद्दा उठाउनु, तिनै मुद्दामा समाधान प्रस्ताव गर्नु, र त्यस विषयमै लगातार संवाद गर्नु।”

फ्रान्समा सफल भएको यस्तो राजनीतिक अभ्यास आजको नेपालको मनोवृत्ति, वातावरण र आवश्यकतासँग अत्यन्त मेल खान्छ। 

नेपालमा मुद्दामा आधारित राजनीतिको आवश्यकता

नेपालमा अहिले “राजनैतिक स्थिरता होइन, सुधारको स्थिरता” चाहिएको छ।

मुख्यतया पाँच क्षेत्रमा तत्काल परिवर्तन आवश्यक छ:

१. सुशासन र भ्रष्टाचार नियन्त्रण

भ्रष्टाचारले राज्यका हरेक निकायमा जनविश्वास कमजोर बनाएको छ। ई–गभर्नेन्स, डिजिटल ट्र्याकिङ, खुला बजेट प्रणाली र राजनीतिक दलहरूभित्र आर्थिक पारदर्शिताको अभ्यास आवश्यक छ।

२. रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्धन

विदेश पलायनले देशको श्रमशक्ति र भविष्य दुवै कमजोर भइरहेका छन्। स्टार्टअप, एसएमई, कृषि उद्यम, पर्यटन र डिजिटल उद्योगलाई नव आर्थिक आन्दोलनको रूपमा अगाडि बढाउन आवश्यक छ।

३. शिक्षा–स्वास्थ्य सुधार

यी दुई क्षेत्र गुणस्तर र सेवाको हिसाबले धरासायी बनिरहेका छन्। नेपालको माध्यमिक शिक्षा र सरकारी स्वास्थ्य सेवा ध्वस्त छ। उच्चतम प्रविधि र दक्ष मानवीय स्रोत विना यी क्षेत्रका सेवा ग्राह्ययोग्य हुँदैनन्।

४. स्थानीय तहलाई आर्थिक शक्ति बनाउने नीति

स्थानीय सरकारलाई रोजगारी सिर्जनाको केन्द्र बनाउनुपर्दछ। स्थानीय तहमा कृषिलाई प्रथम उद्योगसँग जोडेर स्थानीय तह आर्थिक विकासको केन्द्र बनाउन सकिन्छ।

५. सार्वजनिक सेवामा मापनयोग्य सुधार

सेवा–डेलिभरीमा समयसीमा, गुणस्तर मापन र सार्वजनिक मूल्यांकन प्रणाली अनिवार्य हुनुपर्छ।

यी सबै इस्युहरू कुनै दल वा विचारधारा विशेषको समस्या होइनन्— यी राष्ट्रिय समस्या हुन्। र राष्ट्रिय समस्या समाधानका लागि मुद्दामा आधारित राजनीति नै सबैभन्दा प्रभावकारी बाटो हो।

गतिशील लोकतान्त्रिक पार्टीको आगमन: नयाँ अभ्यासको सुरुवात

नयाँ रूपमा अघि आएको गतिलो पार्टीले यिनै मुद्दाहरूलाई आफ्नो मूल एजेन्डा बनाएको छ। यस पार्टीले तीन कुरामा जोड दिएको छ:

१. उद्यमशीलता–केन्द्रित आर्थिक नीतिको प्राथमिकता

कृषि–उद्योग, साना उद्यमलाई प्रोत्साहन, कर प्रणाली सुधार, डिजिटल अर्थतन्त्र र स्थानीय उत्पादनलाई राष्ट्रिय उद्योगमा जोड्ने रणनीति दलको मुख्य आर्थिक मुद्दाहरू हुन्। उद्यमशीलता र रोजगारीको विकास नगरी देशले आर्थिक रूपमा गति लिन सक्दैन भन्ने गतिलो पार्टीको निचोड हो।

२. नागरिकलाई नीतिको सह–निर्माता बनाउने

डिजिटल सर्वे, खुला संवाद, स्थानीय सल्लाहकार समूह र विषय विज्ञ समितिको सहयोगमा नीति–निर्माणको बाटो रोजिनेछ। यस्तो अभ्यासले नीति पुस्ता विशेष वा नेतृत्व विशेषको होइन, नागरिकको बनाउने संरचना विकास गर्छ।

३. पारदर्शी पार्टी–सञ्चालन

नेपालमा पार्टी–वित्त, आन्तरिक निर्णय, अभियान खर्च र नेतृत्व छनोट सबैभन्दा अपारदर्शी क्षेत्र मानिन्छ। गतिलो पार्टीले पारदर्शी र खुला वित्तीय प्रणालीको अभ्यास गर्ने घोषणा गरेर नै नयाँ राजनीतिक संस्कृतिको संकेत दिएको छ।

निष्कर्ष: नेपालको भावी राजनीति ‘नतिजाप्रधान’ बन्नुपर्छ

नेपाल परिवर्तनको मोडमा उभिएको देश हो। नेतृत्व पुरानो, तर जनसंख्या अत्यन्तै युवा छ। समस्या धेरै, तर सम्भावना अझ धेरै छन्। यस्तो अवस्थामा राजनीतिक मार्गदर्शन गर्ने एजेन्डा ‘कुन दल?’ वा ‘कुन नेता?’ होइन; कसरी समाधान? हुनुपर्छ।

मुद्दामा आधारित राजनीति नेपालका लागि केवल वैकल्पिक राजनीतिक अभ्यास होइन; देशलाई दीर्घकालीन स्थिरता, आर्थिक समृद्धि र प्रविधिमैत्री शासनमा लैजाने एकमात्र व्यावहारिक बाटो हो।

गतिलोले शुरु गरेको अभियानले नेपाली राजनीतिमा एउटा नयाँ प्रतिस्पर्धा शुरु गरेको छ: “अब कुरौटे राजनीति होइन, नतिजा देखाउने राजनीतिको प्रतिस्पर्धा गरौं।”

गतिलोले नतिजा देखाउने राजनीति रोज्दै १० वर्षमा कृषि, पर्यटन र सूचना-प्रविधिको क्षेत्रमा ५० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सक्ने अवधारणा सार्वजनिक गरेको छ। यो अवधारणा तथ्य र प्रमाणका आधारमा प्रस्तुत गरिएका छन्। सफल व्यवस्थापकीय क्षमता र सपना देख्ने नेतृत्वले मात्र नेपालमा आर्थिक क्रान्ति गर्न सक्छ। गतिलो पार्टीले यो सपना पूरा गर्ने पूर्व तयारीका साथ राजनीतिक मैदानमा आफूलाई उतारेको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.