सारांश
- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेको ११ औँ महाधिवेशन विशेष हुने बताए।
- उनले महाधिवेशन वैचारिक, राजनीतिक र सांगठानिक हिसाबले महत्त्वपूर्ण हुने बताए।
- गुरुङले जबजको सान्दर्भिकता अझै बढेको र एमालेको औचित्य बढेको उल्लेख गरे।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन वैचारिक राजनीतिक हिसाबले विशेष किसिमको हुने बताएका छन् । सोमबार काठमाडौँमा प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा बोल्दै नेता गुरुङले यस्तो बताएका हुन् ।
‘यस पटकको महाधिवेशन बैचारिक, राजनीतिक र सांगठानिक हिसाबले विशेष किसिमको हुनेछ’, गुरुङले भने– ‘वर्तमान राजनीतिक पृष्ठभूमि र नयाँ नेतृत्वको हिसाबले पनि विशेष र महत्त्वपूर्ण हुनेछ ।’
उनले जनेजी आन्दोलनपछि एमालेले अङ्गालेको जनताको बहुदलीय जनवाद (जबज)माथि समेत कतिपयले प्रश्न उठाउने गरे पनि जबजको सान्दर्भिकता अझै बढ्दै गएको बताए । पछिल्लो परिस्थितिमा नेपालका कतिपय कम्युनिस्ट पार्टीहरू एकीकरणका नाममा वृद्धाश्रममा परिणत भएको अवस्थामा मुलुकको समग्र हित र विकासका लागि नेकपा एमालेको औचित्य र आवश्यकता थप बढ्दै गएको बताए ।