Suchana Vatika

दलहरु छलफलमा, मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

१९ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका राजनीतिक दलहरुले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।

दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए ।

गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा मुख्यमन्त्री पदको शपथ लिएर विवादित बनेका यादवलाई सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।

तर उनले विश्वासको मत लिन नसक्ने भएपछि १७ मंसिरमा राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख कर्णले नयाँ सरकारमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री टुंगो लगाउन एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरूले विहीबार आठ घण्टा लामो छलफल गरेका थिए । छलफलमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी थिए ।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ मुख्यमन्त्रीको टुंगो लागेको र शुक्रबार दिउँसो २ बजे नै सात दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने बताएका थिए । उनले सात दलीय गठबन्धनको भावना अनुसारै सरकार गठन हुने र मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलबाट मन्त्रीको शपथ हुने दाबीसमेत गरे ।

बैठकमा सहभागी अर्का एक सांसद भने शुक्रबार पुन: बैठक बसेर नाम टुंगो लगाउने सहमति भएको बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.