Suchana Vatika

मृत मान्छेलाई पुर्नजीवन दिए के होला ? वैज्ञानिकको भुलभुलैया

एकदिन मृत्यु हुनु नै छ भने ‘मान्छे’ आफैं यतिविघ्न नीच किन छ ? उसको मानवीय संवेदना बेलाबखत कहाँ हराउँछ ?

Summary

  • फ्र्याङ्केष्टाइन सिनेमा भिक्टर फ्र्याङ्केष्टाइनले मृत मान्छेका विभिन्न अङ्ग जोडेर दि क्रेचरलाई पुर्नजीवन दिने कथामा आधारित छ।
  • सिनेमा जीवन, मृत्यु र पुर्नजीवनका विषयमा वैज्ञानिक खोज र मानवीय संवेदनाका आयामहरूलाई थ्रिलर शैलीमा प्रस्तुत गर्छ।

म टहल्दै थिएँ नेटफ्लिक्सतिर । के हेर्ने ? किन हेर्ने ? झट्ट सुन्दा सरल तर गाह्रो लाग्छ अचेल मलाई यी प्रश्न । त्यो भन्दा झन् सिनेमा निफन्न ।

म स्क्रोल गर्दै डुल्डै थिए फ्याट्ट आँखा रोकियो फ्र्याङ्केष्टाइनमा । पोष्टर हेर्दा ‘हरर’ जस्तो । नाम पढ्दा कुनै वैज्ञानिकको जीवनगाथा । लाग्यो- ‘कुनै प्रसिद्ध वैज्ञानिकको कथा हुनुपर्छ ?’ मैले रिभ्युतिर आँखा डुलाइन । सिनेमाभित्र छिरिहालें । सिनेमाका दृश्य अगाडि बढ्दै जाँदा नजानिँदो तरिकाले तान्दै गयो ।

दि क्रेचर अर्थात् मान्छेका विभिन्न अङ्गहरूको जडानबाट पुर्नजीवन गर्ने कलाको बारेमा थियो, सिनेमा । भनौं न, भिक्टर फ्र्याङ्केष्टाइनको कथा जसले मान्छे जस्तै: दि क्रेचर (प्राणी) बनाउने इच्छा राख्छ । पुर्नजीवन पनि दिन सफल हुन्छ तर कालान्तरमा दि क्रेचरलाई मानवीय संवेदनाका विभिन्न आयामहरू भने सिकाउनबाट ऊ चुक्छ । दि क्रेचरलाई सिकाउने सिलसिलामा उसको हतास मनोदशाले तनाव/दु:ख दिन्छ जुन अन्तत: दि क्रेचरका सन्दर्भमा प्रतिशोधमा परिणत भइदिन्छ ।आफ्नो जन्मदाता फ्र्याङ्केष्टाइनमाथि नै क्रेचरले बदलाभाव राख्छ ।

बस्, सिनेमा यिनै कहानी वरपर छ ।

अब कुरा गरौं- सिनेमा, मृत्यु, पुर्नजीवन र बुझाइ…!

सदगुरूको एउटा भनाइ छ, जसले मन/मष्तिष्क हान्छ । ‘जीवन र मृत्यु अलग-अलग विषय होइनन् तर श्वास फेर्ने प्रक्रियाजस्तै निरन्तर र अविभाज्य प्रक्रिया हुन् ।’

तर, जीवनभन्दा अगाडि र मृत्यु भन्दा पछाडिको समय मान्छेका लागि कति महत्वपूर्ण छ ? त्यो समयका बारेमा मान्छेले कति चिन्तन गर्छ ? जन्मनु अगाडिको समयका सन्दर्भामा त प्रश्नै रहेन, जुन कुनैपनि प्राणीको हातमा छैन । तर, मृत्यु पछाडिको समयका बारेमा धेरै चिन्तन, मनन र बहस हुने गरेको हामी पाउँछौँ । मृत्युपछि पनि मान्छेलाई पुर्नजीवन दिन सकिन्छ कि भनेर विज्ञान प्रयासरत छ । यो विषयमा खोज/अनुसन्धान गर्न वैज्ञानिकहरू वर्षौँदेखि लागिपरिरहेका छन्। विकसित देशका केही धनाढ्यहरूको मृत शरीरलाई सुरक्षित राखिएका छन् । सायद यसमा कुनै दिन पुर्नजीवन दिन सकिन्छ कि भन्ने अभिप्राय हुनसक्छ ।

के कुनै दिन मृत शरीरलाई जीवन दिन सम्भव छ ? सिनेमाको अर्न्तवस्तुले धेरथोर यसको जवाफ दिन्छ ।

सदगुरूले भने झैं, जन्म र मृत्यु अलग विषय होइनन् भने विज्ञानले त्यो चमत्कार कुनैदिन सिर्जना गर्न सक्ला ? वा चुनौती दिन सक्ला ? धार्मिक ग्रन्थमा त मान्छेको चौरासी जुनीको कुरा वा भनौं मान्छेको पुर्नजन्मको कथ्य धेरै पाइन्छ । तर, यहाँ सिनेमाले मान्छेलाई दि क्रेचर (प्राणी) का रूपमा पुर्नजीवन प्रदान गर्न सफल भएको कथा पस्केको छ ।

‘मान्छे मरेपछि के हुन्छ ? कहाँ जान्छ ? मरेको मान्छेलाई जलाइन्छ वा गाडिन्छ अब एक हिसाबले हेर्ने हो भने ‘मान्छे भन्नु अन्तत: मृत्युपछिको खरानी वा माटो ।’

के कुनै दिन हाम्रो विज्ञानले यो कुरा सम्भव तुल्याउला सक्ला ? यस विषयमा धार्मिक/मानवीय/सामाजिक र साँस्कृतिक दृष्टिकोणबाट व्याख्या/बहस भइ नै रहला । सिनेमामा भिक्टर फ्र्याङ्केष्टाइनले दि क्रेचरलाई फरक-फरक मान्छेका फरक-फरक अङ्गहरू जोडेर पुर्नजीवन दिन सफल भएको मुख्य कथा र तीनका उपकथाहरू छन् । फ्र्याङ्केष्टाइन त्यसरी पुर्नजीवित गरेको मान्छेलाई नवजात शिशुलाई झैं धेरै कुरा सिकाउन चाहन्छन् ।

त्यहाँ मानवीय संवेदनाको कुरा छ । भाषाको कुरा छ । संस्कार र चेतनाको कुरा छ । दि क्रेचर र मान्छेबीचको संवाद, एक-अर्कालाई बुझ्न/बुझाउन सक्ने कुरा छन् । तर, फ्र्याङ्केष्टाइन यी सबै कुराहरू दि क्रेचरलाई सिकाउनबाट चुक्छन् । दि क्रेचरलाई धेरै कुराहरू सिकाउने सिलसिलामा उनले त्यस प्राणीलाई हदैसम्मको दु:ख दिन्छन् । र अन्तत: दि क्रेचलाई आफूले पुर्नजीवन दिएर गल्ती गरेको महसुस गर्न पुग्छन् ।

दि क्रेचर तथा आफ्नो ल्याब ध्वस्त गर्ने मनसायले आगो लगाउँछन् । तर दि क्रेचर त्यहाँबाट बच्न सफल हुन्छ । त्यसपछि, दि क्रेचरले कसरी भाषा सिक्छ ? कसरी मानवीय संवेदनाका आयामहरू बुझ्छ ? उसले संसार र मान्छेलाई कसरी बुझ्छ भन्ने विषय बडो रोचक तरिकाबाट सिनेमामा प्रस्तुत गरिएको छ ।

खैर, दि क्रेचरले भिक्टर फ्र्याङ्केष्टाइनसँग बदला लिन वा उसको खोजी गर्न थाल्दासम्म सिनेमा ‘थ्रिलर’ सिनहरूले भरिएको मोडमा पुग्छ । वैज्ञानिक फ्र्याङ्केष्टाइन र दि क्रेचर बीचको तनावको विषय त झन् रोचक छ ।

वैज्ञानिकहरू नयाँ कुरा आविष्कार गर्न त चाहन्छन् तर त्यसपछिको परिणाम, त्यसले सिर्जना गर्ने समस्या, विज्ञान वा भनौं समाजले चुकाउने पर्ने मूल्य त्यो झन् सोचनीय विषय रहन्छ । ‘कुनैदिन वैज्ञानिकले मृत मान्छेलाई पुर्नजीवन दिँदा त्यसरी पुर्नजीवन पाएको मान्छे पुरानै लयमा जस्तै: संवेदना, रिस, राग, द्वेष, स्मरण, चेतना र विचार बोकेर फर्केला ? यो सोचनीय प्रश्न हो ।

यदि मान्छेले मृत्युपछि पुर्नजीवन पाउने भए अझ भनौं अमर हुने भयो भने सामाजिक, साँस्कृतिक, राजनीतिक र विश्व व्यवस्थाका मूल्य-मान्यता के होला ? मान्छेको ‘अहम्’ भन्ने जुन तत्व छ त्यसको चेपुवामा मान्छेबीच भइरहेको आर्थिक, सामाजिक र प्रतिष्ठाको वर्तमान खाडलको दुर्दशा कुन रूपमा परिणत होला ? अहिले नै अनेकन भद्रगोलबाट गुज्रिरहेको विश्व समुदायको हविगत झन् कस्तो रहला ? कहिल्यै मर्नु नपर्ने सवालमा धनी र गरीबबीचको विभेद के होला ? अमर रहनका लागि पैसाको होडबाजी कति चल्ला ? कस्तो सामाजिक विकृति, विसंगती उत्पन्न होला ?

प्रश्न टन्नै छन् तर जवाफ पनि विज्ञानले कुनैदिन दिनेछ । तर, यहाँ त मैले सिनेमाको न कुरा गर्दैछु । यी विषय अझै पनि काल्पनिक दुनियाँमा मात्र न सीमित छन् । तर, विकसित मुलुकका विज्ञानका प्रयोगशालाभित्र मान्छेलाई पुर्नजन्म वा अमर बनाउने विषय जुनस्तरमा दौडिदै छ । आउँदा दिनमा त्यो सम्भव भएमा त्यसपछिको प्रश्न र उत्तरको खोजि भने समयले नै जरुर गर्नेछ ।

‘गोथिक फिक्सन’ वा ‘साइन्स फिक्सन’ विधा मन पर्नेहरूका लागि त यो सिनेमा रोचक नै छ । अझ अस्कर आइज्याकका फ्यानहरूका लागि त सुन्दर उपहार । उनको अभिनयले भिक्टर फ्र्याङ्केष्टाइनको भूमिका शतप्रतिशत न्याय गरेका छन् । झन् दी क्रियटरको भूमिका निभाएका ज्याकोब इरोल्डीको प्रशंसा त गर्नैपर्ने हुन्छ । कसैले पुर्नजन्म दिएको दि क्रेचरले यो धर्तीमा पहिलोपटक पाइला टेक्दै गर्दा कस्तो हाउभाउ वा स्वभाव देखाउनुपर्छ भन्ने पाठ उनको अभिनय हेर्नेहरूको आँखामा कहिल्यै नमेटिनेगरी टाँसिन्छ।

मृत्यु जति श्वासत सत्य भनिएको छ, जीवनको भोग वा बाँच्नु पनि उत्तिकै श्वास्त सत्य छ । त्यसपछि मान्छेसँग समय कहाँ छ । पुर्नजन्म वा जीवनको अर्थ कहाँ छ ?

त्यसैगरी, निर्देशक गुइलेर्मो डेल टोरोले सिनेमामार्फत छाडेका कैयौंमध्ये मान्छेका लागि एउटा सोंच्न बाध्य पार्ने प्रश्न छ । त्यो यस्तो प्रश्न हो, जसको उत्तर प्रत्येक मान्छेले कुनै न कुनै समय खोजिरहेको हुन्छ । टोरो भन्छन्- जन्म, जिन्दगी र मृत्यु मान्छे भन्ने जिनिससँग टाँसिएका आत्माभित्रका प्रिय प्रश्न हुन् । यी मान्छेले एकदिन महसुस गर्नैपर्छ, भोग्नैपर्छ ।

निर्देशक टोरोलाई सोध्न पो ! मन छ- ‘मृत्यु’लाई जित्न सकेको दिन विज्ञानले के भन्ला ? वैज्ञानिकले कस्ता विचार राख्लान् ? पैसा र मान्छेबीचको सम्बन्ध के होला ? समाजिक श्रृखलाले कस्तो लय समात्ला ? अझ आममान्छेले यो विषयलाई कसरी बुझ्ला ? के धर्म मौन बस्ला ? विज्ञान र धर्मको सम्बन्ध कस्तो होला ? यो युगले कस्तो बाटो समात्ला ? र यदि बाँचिरहेमा टोरो आफैँले चाहिँ के भन्लान् ?

उनै टोरोले यै ‘फ्र्याङ्केष्टाइन’ सिनेमा पुन:बनाउनु परे कस्तो बनाउनेछन् ? अनेकन छ, प्रश्न ! मृत्यु भन्दा पनि जटिल । तर, यो जटिलतालाई भने सम्भव तुल्याएको छ, ‘फ्र्याङ्केष्टाइन’ सिनेमाले । सिनेमा हेरिसकेपछि जो कोहीको मस्तिष्कमा यी-यस्तै प्रश्नहरूको विजारोपण हुन्छ । सिनेमाले ‘भिक्टर फ्र्याङ्केष्टाइन’ को कथा खोतल्छ जो वैज्ञानिक हो।

जसको काम मरिसकेकाका मान्छेहरूको अंग जोडेर नयाँ दि क्रेचर लाई पुनर्जीवन दिनु हो । त्यो ख्वाब उनको मस्तिष्कमा छ । वास्तविक दुनियाँमा त्यसलाई ब्यूँताउन उनी चाहन्छन् । तीनै संघर्षको कथा ‘थ्रिलर’ सिनमार्फत सिनेमामा देखाउँछ तर रोचक शैलीमा…

०००

थोरै आफ्नै कुरा… !

धनी होस् वा गरिब । मान्छेका लागि सबैभन्दा डरलाग्दो विषय हो ‘मृत्यु’ । त्यसमाथि पनि ‘मान्छे मरेपछि के हुन्छ ? कहाँ जान्छ ? मरेको मान्छेलाई जलाइन्छ वा गाडिन्छ अब एक हिसाबले हेर्ने हो भने ‘मान्छे भन्नु अन्तत: मृत्युपछिको खरानी वा माटो ।’ अर्थात् खरानी वा माटोको संग्रह । ‘खरानी’ वा ‘माटो’ को मात्रै अर्थ दिँदा अन्याय हुन्छ होला ?

मान्छेको कर्म र उसले बाँचेको जीन्दगी त्यो ‘खरानी’ वा ‘माटो’ भन्दा निकै निकै पर छ अर्थात् ज्यूँदो छँदा । यसर्थ, जन्म र मृत्यु मात्र श्वासत सत्य हुन् कि मान्छेका सन्दर्भमा अरू विषय पनि उत्तिकै सत्य छन् ।

मान्छे हुनु भनेकै प्रथमत: के हो? यो ब्रह्माण्डमा मान्छे हुनु र सांसारिक शक्तिको अनुभवबीचको सम्बन्ध के होला ? यी तमाम् प्रश्नहरू अझै पनि अनुत्तरित छन् । सदगुरूको तर्क छ— विज्ञानसँग सबै कुराको प्रमाण छैन । उहाँको प्रश्न छ- विज्ञान भन्छ, पृथ्वी गोलो छ ?’, यदि पृथ्वी गोलो छ भने ‘आकाश’ कहाँ पर्छ ? यसको जवाफ कसैसँग छैन । न विज्ञान न वैज्ञानिक । हामीले आकाशलाई माथितिर भनेका छौं तर पृथ्वी गोलो भएपछि त आकाश चारैतिर हुने भयो । हो, शायद विज्ञान वा भनौं धर्मका लागि ‘जन्म, जिन्दगी, मृत्यु र पुर्नजन्म वा पुर्नजीवन’ को उत्तर पनि त्यस्तै होला ।
०००

अब छुट्टिदै गर्दा…!

यो सिनेमा अंग्रेजी लेखक म्यारी सेलेको उपन्यास गोथिक फ्र्याङ्केष्टाइन अर्थात् दि मर्डन प्रोमिथियस फिक्सन अर्थात् गोथिक ‘हरर’बाट साभार गरिएको हो । २०औँ शताब्दीको एस्थेटिक दर्शनमा डर र मानवीय अभ्यास जसले सुन्दरता, स्वाद, सिर्जनशीलता जस्ता विषयको अध्ययन गर्थ्यो जुन युरोपको मध्ययुगीन समयका बार्बारिक ट्राइबका कथा थिए ।

म्यारी सेले भन्छिन्- ‘जीवनका कारणहरू बुझ्नका लागि हामीले पहिलो पटक मृत्युसँग आश्रय लिनुपर्दछ ।’, शायद, विद्धतहरू पनि बारम्बार जीवन बुझ्न मृत्यु बुझ्न आवश्यक रहेको धारणा राख्छन् । तर एउटा साधारण मान्छेले मृत्यु कसरी बुझ्छ ? मृत्युको विषयमा अझै पनि हाम्रो समाजमा खुलेर बहस हुँदैन ? एकदिन मृत्यु हुनु नै छ भने ‘मान्छे’ आफैं यतिविघ्न नीच किन छ ? उसको मानवीय संवेदना बेलाबखत कहाँ हराउँछ ? मान्छे हुनुको स्वभाव नै बिर्सन्छ ।

त्यसैले त यहाँ हरेक मान्छे जीवनका तमाम् समस्यासँग जुँधिरहेका छन् । उच्च कोटीको प्राणी भएर पनि उसको जीवन किन सरल छैन ? यही मान्छे शासन गर्छ । अर्को रैती बन्छ । सत्ता र व्यवस्थाको नाममा मान्छेको जिन्दगी उल्झनमा पर्छ । तर्क/कू-तर्क, ज्ञान/अज्ञान, बुझ्ने/बुझाउने जस्ता अनेकन उल्झनमा जेलिएको हुन्छ मान्छेको जिन्दगी ।

आफू बाहेक अर्को मान्छे शक्तशाली हुनु, चेतनशील हुनुलाई खतराको रुपमा लिइरहेको हुन्छ मान्छेले मृत्यु अनि जिन्दगीका तमाम प्रश्नहरूलाई ऊ अनदेखा गर्छ । मृत्यु जति श्वासत सत्य भनिएको छ, जीवनको भोग वा बाँच्नु पनि उत्तिकै श्वास्त सत्य छ । त्यसपछि मान्छेसँग समय कहाँ छ । पुर्नजन्म वा जीवनको अर्थ कहाँ छ ? बरू समय छँदै मान्छे त्यतै रूमलिन्छ जसमा उसको नितान्त व्यतिगत मानीवय संवेदनाको उच्चतम रुचि हावी छ ।

रुचिबीच द्वन्द्ध नहुने हो भने यदाकदा प्रश्न पनि कहाँ रहला र, ‘गोथिक फिक्सन’को विधाले भने झैं मान्छेसँग जोडिएका तमाम् रहस्य हराउला । भय, त्रासलाई जित्ला । र अलौकिक शक्ति भएको ब्रह्माण्ड बुझ्न खोज्ला , डर, त्रास, सुख, दु:ख र रहस्यले भरिपूर्ण वातावरणमा बाँचुन्जेल जिन्दगीलाई झनै रोचक र अर्थपूर्ण बनाउँन खोज्ला ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.