Suchana Vatika

सासु र बुहारीबीच रत्यौली ब्याटल टिकटकमा चर्कियो

धेरै सासूहरूमा बुहारीलाई घर भाँड्ने व्यक्ति ठान्ने मानसिकता अझै छ । त्यो मानसिकता परिवर्तन हुन जरुरी छ

Summary

  • टिकटकमा सासू र बुहारीबीच रत्यौली नामक व्यंग्यात्मक गीतमार्फत घरायसी पीडा र अनुभवहरू साझा गर्ने ट्रेन्ड चलेको छ।

तपाईं टिकटकतिर चाहर्नुहुन्छ भने पक्कै पनि अहिले ट्रेन्डिङमा के छ भन्ने थाहा हुनुपर्छ । विवाहको सिजन छ र त्यही सेरोफेरोमा रत्यौलीले टिकटक रंगिएको छ । रमाइलोका लागि खेलिने रत्यौली अहिले सासु र बुहारीबीच भर्चुअल भनाभनमा बदलिएको छ ।

सासु भनिरहेकी छिन्, ‘बल्ल छोरो भा’कोथ्यो कमाउने भोलि आउँछे एटिएम समाउने ।’

बुहारी भित्र्याएपछि छोरोको खल्तीमा बुहारीले अधिन जमाउँछ भन्ने आशयको कटाक्ष छ यसमा ।

कुनै विवाहमा आमा खलकले रत्यौलीमा गाएको गीत भाइरल भयो । जसै भाइरल भयो, बुहारीहरू किन पो चुप बस्थे ।

उनीहरूले टिकटकबाटै जवाफ फर्काए, ‘बल्ल छोरी लाकी थी रमाउन, लगे अब नोकर्नी बनाउन ।

सासु र बुहारीबीचको यो रत्यौली यत्तिमै रोकिँदैन । यसपछि सासु खलक एकातिर र बुहारी खलक अर्कोतिरबाट सवाल–जवाफ गर्न थाल्छन् । अहिले यही सवाल जवाफ टिकटकमा धेरैको रमिता बनेको छ ।

यहाँ दुवै पक्षले आफ्नो भडास मात्र पोखेका छैनन्, आफ्ना दुःख र मर्म पनि सुनाएका छन् । ख्याल-ख्यालैमा सुरु भएको रत्यौली ब्याटल अहिले सासु बुहारीबीचको आयम र अर्थ खोतल्ने मेलो बनेको छ ।

सासु भन्छिन्, ‘सात तोलाको रानी हार लाई–लाई मैले पाको छोरो नि उसैलाई ।’

बुहारी जवाफ फर्काउँछिन्, ‘छोरी काखा बुहारी पाखा भो, तिम्रो छोरा तिमी नै राख भो ।’

प्रतिक्रियाहरू पनि थरीथरीका छन् । कसैले गीतकै भाकामा प्रतिक्रिया दिएका छन् भने कसैले विभिन्न प्रश्नहरू गरेका छन् ।

माइती छोड्दा लुकाएँ आँसुलाई, मैले ल्याएको दाइजो नि सासूलाई

बोल्छ्यौ सासू हेपेर घुमार, राख न त छोरोलाई कुमार

सात तोलाको हैन २० तोलाकै रानीहार बनाइदिम्ला, तपाईँले पाको छोरो अन्माएर मेरो घरमा ल्याउँछु है त ? एक ‘छोरी’ ले प्रश्न गरेकी छिन् ।

यो ट्रेन्ड नेपाली विवाह परम्परामा प्रचलित रत्यौलीको रमाइलोबाट प्रेरित छ, जसमा सासू र बुहारीबीच व्यङ्ग्यात्मक दोहोरी गीतमार्फत घरायसी जीवनका पीडा, गुनासो र अनुभवहरू बाँड्ने गरिन्छ ।

नेपाली संस्कृतिमा रत्यौली बेहुला बेहुली लिन गएका बेला गाउँका महिलाहरू बिहे घरमा जम्मा भएर नाचगान गर्दै रमाइलो गर्ने परम्परा हो । आधुनिक समयमा टिकटकजस्ता प्लेटफर्ममा यसको प्रसारले मनोवैज्ञानिक प्रभाव र सामाजिक मान्यताहरूबारे प्रश्न उठाएको छ ।

मनोविद्हरूका अनुसार, यस्ता गीतमार्फत सासू–बुहारी सम्बन्धलाई शत्रुतापूर्ण देखाउँदा नयाँ पुस्तामा नकारात्मक धारणा पैदा हुन सक्छ । यसलाई सकारात्मक रूपमा परिवर्तन गरेर सम्बन्ध मजबुत बनाउने अवसर पनि हुन्छ । यो ट्रेन्डले लाखौँ भ्यूज कमाएर नेपाली संस्कृतिको आधुनिक रूपलाई प्रतिबिम्बित गरिरहेको छ, तर यस खालका शब्दहरूले पार्ने दीर्घकालीन प्रभावलाई विचार गर्न आवश्यक छ ।

टिकटकमा चलिरहेको यो रत्यौली ब्याटलको विषयमा जेम्स सुदिपले लेखेका छन्- बिहे गरेको २ वर्षमै बच्चा नपाउँदा ‘किन बच्चा नपाएको’ भनेर प्रश्न गर्ने समाजबाट रत्यौलीको नाममा बुहारी माथिको अपमान कुनै नौले कुरा भएन । यो एउटा उदाहरण मात्र हो राम्रो समाज कति विषाक्त छ भनेर देखाउने ।

रमाइलो गरेको भनेर जे पनी बोल्न पाइन्छ ?

धेरैले यो गीत रमाइलोका लागि गाएकाले यसमा धेरै टिप्पणी गर्न आवश्यक नभएको भन्ने तर्का गरिरहका छन् ।तर, जुन गीतले, जुन शब्दहरूले सासू अनि बुहारीको सम्बन्धलाई यति नकारात्मक ढङ्गले प्रस्तुत गरेरेहेको छ त्यो कसरी रमाइलोका लागि हुन सक्छ ?

सासू र बुहारी दुस्मन हुन है उनीहरू सँगै मिलेर बस्नै सक्दैनन् भन्ने जुन भाष्य छ, त्यो नै पुर्स्थापना गर्ने गीतहरू कसरी हाँसिमजाक मात्र हुन सक्छन् ।

बिहेमा रत्यौली खेल्ने चलन कस्तो हो ?

जब जन्तीहरू बेहुलीको घरतिर लाग्छन् त्यसपछि केही बेर आफ्ना घरधन्दा सकेपछि रत्यौलीको भाका सुरु हुन्छ । यसमा भाकाहरू आफ्नो स्थानीय भाकासँग समायोजित भएका हुन्छन् । रत्यौली एउटी महिलाको घरायसी जीवनको पीडा चित्रण गरिने यथार्थवादी गीत हो । रत्यौली केवल मनोरञ्जनको साधन मात्रै नभएर आफ्नो पीडा प्रस्फुटन गर्ने फोरम पनि हो ।

यही रत्यौली मार्फत आफ्ना पीडा अरूसामु पोख्ने गरिन्छ । यस्ता पीडाहरू विशेष गरी सासू र बुहारीको बीचमा हुने गर्छन् । जहाँ दुवैले एकअर्काको गीत सुन्ने गरेका हुन्छन् । रत्यौलीमा प्रायगरी महिला मात्रै सहभागी हुने भएकाले यसमा उनीहरूसँग जोडिएका विषय, प्रसंगहरू गीतमा समेटिने गर्छ ।

प्राचीन नेपाली समाजमा सासूबाट बुहारीहरू प्रताडित हुने गर्थे । यही एउटा यस्तो मञ्च हुन्थ्यो । जहाँ गीतको माध्यमबाट नजिकै बसेकी सासूलाई आफ्नो पीडा गीतबाट सुनाउने गरिन्थ्यो ।

रत्यौलीको नाउँमा यस्ता शब्दहरू प्रयोग गर्नु कति उचित ?

मनोचिकित्सक रचना शर्माका अनुसार सासू–बुहारीको सम्बन्धलाई एक प्रकारको ग्यापयुक्त सम्बन्ध नै मान्न सकिन्छ । यो सम्बन्ध कहिल्यै पनि पूर्ण रूपमा सहज हुँदैन, किनकि यसमा आफ्नो सन्तानजस्तो भावना हुँदैन ।

सासूले बुहारी आउनुअघि नै नकारात्मक कुरा गर्दा बुहारीलाई असर पर्न सक्छ, तर बुहारीले पनि जवाफ फर्काउँदा यो दुवै तर्फी हुन्छ । यसलाई नकारात्मक रूपमा मात्र नलिई हास्य र मजाकको रूपमा पनि लिन सकिन्छ, तर राम्रो कुरा गरेर रमाइलो गर्नु राम्रो हुने डा. शर्मा सुझाउँछिन् ।

‘रत्यौलीमा प्रयोग हुने नकारात्मक शब्दहरूले कस्तो असर गर्छ भन्ने कुरा व्यक्तिगत रूपमा निर्भर गर्छ, कसैलाई यसले प्रभाव पार्न सक्छ, विशेष गरी बाल्यकालमा नकारात्मक अनुभव भएकाहरूलाई । कुनै पनि परिस्थितिको प्रभाव दुई व्यक्तिमा एकै हुँदैन, यो आफ्नो अनुभव र व्याख्यामा भर पर्छ । त्यसैले राम्रो कुरा मात्र बाहिर ल्याउनु उत्तम हुन्छ, ’ उनले भनिन् ।

हाम्रो संस्कृतिमा अभिभावकहरूसँगै बस्ने परम्पराले गर्दा यस्ता कुराहरू बढी देखिन्छन् । अर्को परिवारमा गएर बस्ने कुरा विदेशहरूमा कम एकताबद्ध हुन्छ, तर हामीले यसलाई सकारात्मक रूपमा लिनुपर्छ । यसमा परिवर्तनहरू ल्याउनु आवश्यक छ । किनकि परम्परागत इतिहासले प्रभाव पार्ने उनले बताइन् ।

पहिलेका पुस्ताका आमाहरू बढी परिवारमा निर्भर हुन्थे, जसमा आर्थिक पक्ष पनि जोडिन्छ । तर अहिले महिलाहरू स्वतन्त्र छन्, सबै कुरामा परिवार वा श्रीमानमा निर्भर हुनुपर्दैन । यसले गर्दा नयाँ पुस्तालाई यस्ता पुराना कुराहरूले खासै प्रभाव पार्नु नहुने डा. शर्मा बताउँछिन् ।

अहिले टिकटकमा सासू–बुहारीबीच रत्यौली ब्याटल चलिरहेको छ, जसमा प्रयोग हुने शब्दहरूले सासू र बुहारी दुवैमा मनोवैज्ञानिक प्रभाव पर्ने मनोविद् गृष्मा पनेरु बताउँछिन् । ‘पहिले रत्यौली खेल्दा रेकर्ड हुँदैनथ्यो र त्यहीं सकिन्थ्यो’ पनेरू भन्छिन्, ‘तर अहिले रेकर्ड भएर बारम्बार सुन्न सकिन्छ, जसले नयाँ बुहारीलाई असहज बनाउँछ । ’

‘रत्यौलीमा प्रयोग हुने शब्दहरूलाई परिवर्तन गर्नुपर्छ, किनकि समय बदलिएको छ तर परम्परा उस्तै छ । यसमा बुहारीलाई सधैँ दोषी ठहराउने र सासूले पीडितको भूमिका खेल्ने प्रवृत्ति छ, जसलाई मनोवैज्ञानिक रूपमा नयाँ बुहारीलाई नकारात्मक बनाउँछ,’ पनेरु भन्छिन् ‘यसले घरमा आउनुअघि नै नकारात्मक सोच पैदा गर्छ । यसलाई परिवर्तन गर्नु आवश्यक छ, किनकि यसले समाजको वास्तविकता पनि झल्काउँछ ।’

धेरै सासूहरूमा बुहारीलाई घर भाँड्ने व्यक्ति ठान्ने मानसिकता अझै छ । त्यो मानसिकता परिवर्तन हुन जरुरी छ । यो मानसिकता परिवर्तन हुनेबित्तिकै गीतका शब्दहरू पनि परिवर्तन हुने पनेरू बताउँछिन् ।

‘यसमा राम्रो पक्ष पनि छ, जसले सुधार्नुपर्ने कुरा देखाउँछ’ पनेरू भन्छिन्, ‘सबैको मनोविज्ञान एकै हुँदैन, त्यसैले नकारात्मक शब्द प्रयोग नगरी सकारात्मक रूपमा खेल्नु राम्रो हो । जस्तै, बुहारीलाई एटिएम समाउने भन्दा पनि घर समाल्ने लक्ष्मी आउँछिन् भन्ने शब्द प्रयोग गर्न सकियो ।’

यसले बुहारीलाई नयाँ घरमा आउँदा खुसी दिन्छ र दीर्घकालीन सम्बन्धलाई मजबुत बनाउँछ । नकारात्मक शब्दहरू मनमा गढेर सम्बन्ध बिगार्न सक्छ, त्यसैले सकारात्मक दृष्टिकोण अपनाउनु उत्तम हुने उनको सुझाव ।

मनोविज्ञहरूका अनुसार, यस्तो चर्काचर्कीले समाजबाट आएका सोचहरूलाई उजागर गर्छ र समझदारी बढाएर सम्बन्धलाई मजबुत बनाउन सक्छ । हाम्रो परम्परामा एउटै घरमा बस्ने भएकाले यस्ता झगडा स्वाभाविक हुन्छन्, तर अन्तमा यसले सजिलो सहजीकरण र राम्रो मिलनको बाटो खोल्छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.