काठमाडौं । नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन आउनेहरुका सवारी साधनको पार्किङ गठ्ठाघर र जगातीमा गर्ने व्यवस्था मिलाएको छ ।
काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघरमा र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको हो । जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ आदि स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ ।
उदघाटन समारोहमा सहभागीहरु जुलुससहित सल्लाघारीसम्म पुग्ने व्यवस्था मिलाइएको छ । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म मुल सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गरी अघि बढाउने तयारी गरिएको बताए ।
उदघाटन समारोहमा कम्तिमा तीन लाख मानिस उतार्ने लक्ष्य एमालेले राखेको छ ।
समारोह हुने मञ्च साँस्कृतिक झल्को दिने खालको बनाइएको छ । त्यहाँ अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलबाट झण्डत्तोलन गरी महाधिवेशन उदघाटन गर्नेछन् ।
बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरू काठमाडौं उपत्यकामा भेला भएका छन् । प्रतिनिधिहरूले एमालेको नयाँ नेतृत्व चयन गर्ने छन् ।
अध्यक्षमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने जनाएका छन् ।