Skip to main content

Suchana Vatika

कागजातमा हुलाक टिकट टाँस्नैपर्ने व्यवस्था हट्यो, कानुनले तोकेबाहेक

प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य प्रचलन हटाउने निर्णय भएको हो ।

Summary

  • सरकारले कानुनले तोकेको बाहेक अन्य कागजातमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था खारेज गरेको छ।
  • मन्त्री जगदीश खरेलले हुलाकलाई व्यावसायिक, प्रतिस्पर्धी र स्मार्ट बनाउने कार्ययोजना अघि बढाउन निर्देशन दिएका छन्।
  • सञ्चार मन्त्रालयले स्मार्ट हुलाकका लागि नीतिगत सुधार गर्दै ५० वटा हुलाक कार्यालयलाई स्मार्ट बनाउने बजेट विनियोजन गरिसकेको छ।

२९ मंसिर, काठमाडौं । सरकारले कानुनले तोकेको बाहेक अन्य कागजातमा हुलाक टिकट टाँस्नैपर्ने गरी राखिएका व्यवस्था खारेज गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य प्रचलन हटाउने निर्णय भएको हो ।

उता आजै मन्त्री खरेलले  डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षण समेत गरेका छन् । सोही क्रममा उनले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिए ।

मन्त्री खरेलले हुलाकलाई व्यावसायिक कार्ययोजना साथ अगाडि बढाइनुपर्नेमा जोड दिए ।

‘हामीले हुलाकलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा राम्रो कार्ययोजना बनाइयो भने पाँच वर्षभित्र हुलाकले राज्य र जनतालाई योगदान गर्ने बनाउन सकिन्छ,’ उनले भने ।

उनले स्मार्ट हुलाकको काम तीव्रतासाथ अगाडि बढाउन पनि निर्देशन दिए ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारको पहल भएको उल्लेख गरिन् ।

‘स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ,’ उनले भनिन्, ‘यो वर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट पनि विनियोजन भइसकेको छ ।’

उनले २०१९ सालको हुलाक ऐन समयसापेक्ष बनाइनुपर्नेमा जोड दिइन् । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले नेपालमा स्मार्ट हुलाकको अवधारणा प्रस्तुत गर्दै हुलाक प्रणाली रूपान्तरण गर्न र राजस्व वृद्धि गर्ने उद्देश्य सहित स्मार्ट हुलाकको अवधारण अगाडि ल्याइएको बताइन् ।

गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत ढालबहादुर जीसीले गोश्वारा हुलाक कार्यालयको प्रस्तुतीकरण गर्दै हुलाकको सेवा विस्तार विश्वव्यापी बनाउने, नीतिगत सुधार र इकमर्समा गएर हुलाकको योगदान बढाउने गरी कार्ययोजना सहित अगाडि बढेको जानकारी दिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.