काठमाडाैँ । हिमाली जोखिमबाट पर्वतारोहीलाई जोगाउन ‘माउण्टेन फर्स्ट एड ट्रेनिङ’ (प्राथमिक उपचार पद्धति) सिकाइएको छ । पर्वतारोहण तथा पदयात्राका क्रममा हुनसक्ने चोटपटक, हाइपोथर्मिया, उचाईजन्य रोग र महिला स्वास्थ्यसँग जोडिएका आकस्मिक जटिलताबाट बचाउन ‘माउण्टेन फर्स्ट एइड ट्रेनिङ’ दिइएको हो ।
महिला गाइडको सहभागिता बढाउँदै आत्मनिर्भर बनाउन काठमाडौँ इन्भायरोमेण्टल एजुकेशन प्रोजेक्ट (किप) को आयोजनामा प्राथमिक उपचार पद्धति सिकाइएको हो । बिहीबारदेखि सञ्चालन भइरहेको तालिमले उच्च हिमाली क्षेत्रमा प्राथमिक उपचारको व्यावहारिक ज्ञान प्रदान गर्नेछ । नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाको संयुक्त सहयोगमा सञ्चालिन तालिममा पर्यटक गाइडका रूपमा काम गर्ने १९ जना महिला सहभागी छन् ।
किपका व्यवस्थापक तारादत्त जोशीले तालिमले पर्वतारोही महिलाहरूको आत्मनिर्भरता र स्वास्थ्य सुरक्षाको क्षमता बढाउने बताए । तालिममा माउण्टेन फर्स्ट एड र सुरक्षाको विषयमा जानकारी गराउने काम भइरहेको जोशीको भनाइ छ । उनले पर्वतारोहणका क्रममा स्वास्थ्य समस्या भइहालेमा के गर्ने भन्ने विषयमा जानकारी नहुँदा मान्छेको मृत्यु नै हुने अवस्था भएपनि तालिमले केही न्युनीकरण गर्न सहजता प्रदान गरेको जोशीको भनाइ छ ।
उनले पाँच हजार मिटरमाथिको उचाईमा लेक लाग्ने समस्या अत्याधिक हुने भएकोले त्यसको प्रतिरक्षाको लागि तालिमको आयोजना गरिएको बताए । उनले भने, “पर्वतारोहणमा स्वास्थ्य समस्या हुँदा जानकारी नहुँदा मृत्यु नै हुनसक्छ । ५ हजार मिटरमाथि लेक लाग्ने समस्या बढी हुन्छ, यसको प्रतिरक्षा र प्राथमिक उपचार सिकाउन यो तालिम महत्वपूर्ण छ । विगतमा ट्रेनर र उपचारको अभाव थियो, अहिले सहयोगले प्रभावकारी बनाएका छौँ ।”
यसअघि पुरुष र महिला दुवैका लागि तालिम गराइएको भएपनि यसपटक विशेषगरी महिलाहरूका लागि केन्द्रित गरिएको जोशीले उल्लेख गरे । तालिमले गाइडहरूको जीवनरक्षा गर्न प्रभावकारी हुने उनको विश्वास छ ।
तालिममा सहभागी मिना शेर्पाले यसले गाइडहरूलाई जिम्मेवार बनाउने र आपतकालीन अवस्था व्यवस्थापन गर्न सहयोग गर्ने बताइन् । अस्पताल पुर्याउनुपूर्व गरिने यस्ता कार्यले पर्वतारोहण पदयात्रा र उच्च हिमाली क्षेत्रमा हुने आपतकालीन अवस्था र दुर्घटनाको जोखिम कम गर्ने उनको विश्वास छ ।
उनले भनिन्,“घाइतेको जीवन बचाउन, उद्धार सहज बनाउन र जोखिम न्यूनीकरणमा यो तालिम उपयोगी छ ।” यसैगरी, दिव्या दुलालले अस्पताल पुर्याउनु अघिको प्राथमिक उपचारले दुर्घटना जोखिम कम गर्ने विश्वास व्यक्त गरे । तालिमले गाइडहरुलाई जिम्मेवार बनाउने र आपतकालीन अवस्थालाई सजिलो व्यवस्थापन गर्न र दुर्घटना आइपरेमा त्यसको जोखिम कम गर्न सघाउने बताए ।
घाइते वा जोखिममा परेकाको जीवन बचाउन र खतरा कम गर्दै उद्धारमा सहजीकरण गर्न तालिमले सघाउने पनि बताए । उनले भने, “उच्च हिमाली क्षेत्रमा हुने आपतकालीन अवस्थामा यो ज्ञानले धेरै फाइदा पुर्याउँछ ।” तालिमले पर्वतारोहण र पदयात्रामा संलग्न महिलाहरूको सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।