Suchana Vatika

कांग्रेस प्रवक्ता महत : चुनाव सुनिश्चित नभए संसद् पुनर्स्थापना गर्नुपर्छ

‘निर्वाचनबाट संसद् बनाउनु पर्‍यो । त्यो सरकारले सक्दैन भने संसद् पुनर्स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,’ प्रवक्ता महतले भने, ‘अहिलेको स्थिति यही हो ।’

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारले निर्वाचनबाट नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औं वार्षिक साधारणसभाको उद्घाटन समारोह सम्बोधन गर्दै उनले निर्वाचन गरेर सरकारले संसद् ल्याउने अवस्था नभए प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् ।

‘निर्वाचनबाट संसद् बनाउनु पर्‍यो । त्यो सरकारले सक्दैन भने संसद् पुनर्स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,’ प्रवक्ता महतले भने, ‘अहिलेको स्थिति यही हो ।’

सरकारले २१ फागुनमा निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेस चुनावमा सहभागी हुन तयार रहेको जिकिर गरे ।

‘जनताले जे म्यान्डेट दिन्छन्, जनताको जे इच्छा हुन्छ, त्यो इच्छा संसदमा प्रकट हुन्छ,’ महतले भने, ‘त्यो संसद्ले आवश्यक सुधारका कुरादेखि संवैधानिक सुधारका कुराहरू र अरू कुराहरू अगाडि बढाउँछ ।’

२१ फागुनमा चुनाव नभए संसद् पुनर्स्थापनाको बाटोमा जाने उनको भनाइ थियो ।

‘अब होइन भनेदेखि संसद् पुनर्स्थापनाको बाटोमा जान्छ । संसद्ले सरकार बनाउँछ,’ प्रवक्ता महतले भने, ‘त्यसले फेरि चाँडै गर्छ । इलेक्सन ०८४ सम्म बस्नु पर्दैन । २०८३ निर्वाचन हुन्छ ।’

प्रवक्ता महतले संवैधानिक व्यवस्थामा शून्यता लामो समयसम्म राख्नु भनेको खतरनाक कुरा भएको जिकिर पनि गरे ।

उनले बंगलादेशको पछिल्लो अवस्थाको उदाहरण दिँदै नेपाललाई पनि त्यही बाटोमा जान दिन नहुने बताए ।

‘त्यहाँ एकदम अन्यौलता छ । उग्रवादको पराकाष्टा भइरहेको छ । निर्वाचन झन् अनिश्चितता तर्फ गइराखेको छ,’ उनले भने, ‘हाम्रो देशलाई पनि त्यही बाटोमा राख्नु भएन ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.