Suchana Vatika

नमागेको सुझाव – जिम्मेवारी बोक्न तम्सेका बालेनलाई 

नयाँ सम्भावना देखाएर निर्वाचन जित्ने दल धेरै छन्, तर देश पटक–पटक हारेको छ। अब नेपाललाई नयाँ चुनाव जित्ने होइन- राजनीति र नेतृत्वको अर्थ नै पुनर्परिभाषित गर्ने नेतृत्व चाहिएको छ।

देश विस्तारै चुनावमय बन्दैछ। नागरिक सरकार आगामी फागुनमा निर्वाचन गराउने जिम्मेवारी बोकेर अघि बढिरहेको छ। अहिलेको राजनीतिक जटिलताबाट अगाडि बढ्न चुनावको विकल्प पनि छैन। एकातिर परम्परागत राजनीतिक दलहरू आफैं नेतृत्वको अन्योलमा छन्, अर्कोतिर नयाँ राजनीतिक दलहरूको बाढी लागेको छ।

यही अन्योल, निराशा र राजनीतिक रिक्तताको पृष्ठभूमिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक निर्वाचित जनप्रतिनिधि मात्र होइन, एउटा राजनीतिक परिघटनाका रूपमा उभिएका छन्।

मैले विना कुनै अतिशयोक्ति भन्न सक्छु- बालेन शाह पछिल्ला दशकहरूमा देखिएको सबैभन्दा लोकप्रिय युवा राजनीतिक नेतृत्व हुन्। उनको लोकप्रियता कुनै एक वर्ग, क्षेत्र वा पृष्ठभूमिमा सीमित छैन। राजनीतिबाट ठगिएको महसुस गरिरहेको युवा पुस्तामा उनको प्रभाव असाधारण छ। स्पष्ट र कहिलेकाहीं कठोर भाषा, आत्मविश्वास, जरा गाडेर बसेका स्वार्थ समूहसँग ठोक्किने साहस र ‘काम गरेर देखाउने’ शैलीले उनलाई आशाको प्रतीक बनाएको छ— र सँगसँगै विवादको केन्द्र पनि।

यी पात्रले अहिलेको राजनीतिक परिवेशमा के निर्णय लेलान् भन्ने चासो सबैतिर थियो। यही चासोका बीच बालेन शाहले राजनीतिक दल गठन गर्ने र परम्परागत शक्तिहरूसँग संस्थागत रूपमा नै राजनीतिक प्रतिस्पर्धामा उत्रिने निर्णय लिएका छन्। यो निर्णय आफैंमा स्वागतयोग्य छ। जब ठूलो राजनीतिक सम्भावना बोकेको पात्र लोकतान्त्रिक जिम्मेवारीको भारी बोक्न अगाडि सर्छ, उसले प्रशंसा मात्र होइन, प्रश्न र बहस पनि सामना गर्नुपर्छ। यो लोकतन्त्रको स्वभाव हो। त्यसैले, बालेन अब खुला राजनीतिमा प्रश्न र बहसको लागि तयार छन्।

बालेनले नेपाली युवापुस्तामा राजनीतिप्रति एक किसिमको पुनर्जागरण ल्याएका छन्। आज उनी केवल युवापुस्ताका नेता मात्र होइनन्, नेपालको लोकतान्त्रिक पुनर्जागरणका प्रतिनिधि पात्र पनि हुन्। उनले स्वीकारे पनि अस्वीकार गरे पनि जेनजी आन्दोलनको केन्द्र बालेन नै हुन्।

उनले अब निर्माण गर्न खोजेको राजनीतिक संस्थाले भविष्यमा युवाले लोकतन्त्रलाई कसरी बुझ्ने, लोकतन्त्रलाई युवाले कसरी विश्वास गर्ने, मूल्याङ्कन गर्ने भन्ने कुरामा गहिरो प्रभाव पार्नेछ। त्यसैले बालेन जस्ता पात्रप्रति पूर्ण समर्थन वा पूर्ण विरोध दुवै गलत हुन्छन्। उनलाई उनको काम अनुसार समर्थन वा विरोध खुलेर गर्नुपर्दछ।

अवसर : दुर्लभ राजनीतिक क्षण

नेपालको राजनीतिक इतिहासमा यस्ता अवसर बारम्बार आउँदैनन्। अधिकांश नेता पार्टी संरचना, विरासत र गुटबन्दीको भरमा उदाएका छन्। तर बालेन शाहको सबैभन्दा ठूलो राजनीतिक पूँजी नैतिक वैधता हो। काठमाडौंमा उनले प्राप्त गरेको मत एउटा मेयर उम्मेदवारको साधारण विजय मात्र थिएन। त्यो देशभरि फैलिएको वैकल्पिक राजनीतिप्रतिको आकांक्षाको संकेत थियो।

उनले दलालीभन्दा दक्षता, भाषणभन्दा कार्य र सम्झौताभन्दा परिणाम रोज्ने नेतृत्वको चाहना प्रतिनिधित्व गरे। राष्ट्रिय राजनीतिमा भर्खरै पाइला राख्दै गरेका बालेनसँग आफ्ना प्रतिस्पर्धीहरूभन्दा केही फाइदा छन्— परम्परागत दलहरूले बोकेको विचारधाराभन्दा माथि उठेको पोस्ट–आइडियोलोजिकल अपिल, युवा र पहिलो पटक मतदान गर्ने समूहमा बलियो पकड, निर्णय क्षमताको छवि र पुराना शक्ति सञ्जाल र बिचौलियाबाट प्रभावित नहुने स्वतन्त्र छवि।

यही कारणले उनी सम्भावनाको केन्द्रमा छन्। तर यही कारणले उनी जोखिमको केन्द्रमा पनि छन्।

जोखिम : कार्यक्षमताको नाममा लुकेको अधिनायकवाद

बालेन शाहमाथि लाग्ने सबैभन्दा गम्भीर आरोपमध्ये एक हो- उनको अधिनायकवादी झुकाव। दलीयकरणले अस्तव्यस्त बनाएको राजनीतिक प्रणालीमा दृढ निर्णयलाई प्रशंसा गरिनु स्वाभाविक हो। तर लोकतन्त्र व्यक्तिगत नायकत्व वा कार्यक्षमतामा मात्र टिक्दैन। लोकतन्त्र संवाद, प्रक्रिया, समावेशिता, संस्थागत सम्मान र उत्तरदायित्वमा टिक्छ।

विश्व राजनीति हेर्दा एउटा खतरनाक ढाँचा देखिन्छ। व्यवस्था तोड्ने नारा बोकेर आएका करिश्म्याटिक नेताहरू क्रमशः आफूले आलोचना गरेको व्यवस्था जस्तै बन्दै जान्छन्। लोकप्रियता परामर्शको विकल्प बन्छ। सामाजिक सञ्जालले संस्थागत वैधताको स्थान लिन्छ। “जनताको नाम” आलोचनाबाट बच्ने ढाल बन्छ।

बालेन शाहको जोखिम नियत खराब हुनु होइन। जोखिम यो हो कि ‘म सही छु’ भन्ने आत्मविश्वासले असहमति राख्नेहरूलाई निषेधको राजनीतिक सिकार बनाउन सक्छ। नेपालको इतिहास – राजतन्त्रदेखि अधिनायकवाद र क्रान्तिसम्म – यही सिकाउँछ कि शक्ति व्यक्तिकेन्द्रित भयो भने नतिजा सधैं दुःखद् हुन्छ। देउवा, ओली र प्रचण्ड व्यक्ति–केन्द्रित शक्तिको पछिल्ला उदाहरण हुन्, जसको मूल्य देशले तिरिरहेको छ।

बालेन शाहलाई उनले नमागेको केही सल्लाहहरू यहाँ छन्:

पहिलो सल्लाह : शक्ति खोज्नुअघि संस्था निर्माण

बालेन शाहका लागि सबैभन्दा महत्वपूर्ण सल्लाह सरल छ, तर व्यवहारमा कठिन—निर्वाचन जित मात्र सबै कुरा होइन। पार्टी जित्दैमा लोकतन्त्र संस्थागत हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।

कांग्रेस, एमाले वा माओवादीलाई हराउने उद्देश्यले मात्र पार्टी खोल्नु ठूलो कुरा होइन। यसले सिट दिलाउन सक्छ, तर दिगो राजनीतिक शक्ति निर्माण गर्दैन। आन्तरिक लोकतन्त्र नभएको पार्टीले फेरि अर्को व्यक्तिकेन्द्रित संरचना जन्माउँछ र नेपाललाई त्यस्तो राजनीति अब चाहिएको छैन।

राष्ट्रिय राजनीतिमा जानुअघि बालेनले निर्माण गर्ने पार्टीले आन्तरिक लोकतन्त्र, आर्थिक पारदर्शिता, स्पष्ट संगठनात्मक संरचना र संस्थागत निर्णय प्रक्रिया व्यवहारमै देखाउनुपर्छ। पार्टी उनको व्यक्तित्वको विस्तार मात्र बन्यो भने, त्यो पुरानै केन्द्रीकृत संस्कृतिको पुनरावृत्ति हुनेछ।

दोस्रो सल्लाह : गठबन्धन मूल्यमा आधारित हुनुपर्छ

बालेन शाह विभिन्न राजनीतिक शक्तिसँग संवादमा रहेको खबर उत्साहजनक पनि छ, चिन्ताजनक पनि। उत्साहजनक यस अर्थमा कि उनले एक्लैले देश बदल्न नसक्ने यथार्थ स्वीकार गरेका छन्। तर चिन्ताजनक यस अर्थमा कि “परम्परागत दललाई हराउने” मात्र उद्देश्य भएको गठबन्धन दीर्घकालीन हुँदैन।

उनले भेटेका धेरै पात्रहरू कुनै न कुनै विवाद, कुण्ठा वा असफलताको बोझ बोकेका देखिन्छन्। यस्ता स्वार्थ र आक्रोशबाट बनेका अस्वाभाविक गठबन्धनको आयु छोटो हुन्छ, तर क्षति दीर्घकालीन।

गठबन्धन गर्नुअघि बालेनले आफैंलाई सोध्नुपर्छ— उनी आफैं र उनीसँग गठबन्धन गर्न उत्साहितहरूको न्यूनतम लोकतान्त्रिक प्रतिबद्धता के हो ? शासन प्रणाली र मूल्यमा साझा दृष्टिकोण छ कि छैन ? केवल चुनाव जित्नका लागि गरिएको गठबन्धनले अन्ततः लोकतन्त्रलाई नै पराजित गर्छ।

तेस्रो सल्लाह : मेयरबाट राष्ट्रिय नेता—सिकाइको चरण स्वीकार्नुहोस्

महानगर चलाउनु र देश चलाउनु एउटै कुरा होइन। मेयरले निर्देशन दिन सक्छन्; राष्ट्रिय नेताले संविधान, संघीय संरचना, सुरक्षा संयन्त्र, कूटनीति र गठबन्धन सन्तुलन बुझ्नुपर्छ।

मेयर बालेनका केही असन्तुलित अभिव्यक्तिले समय–समयमा विवाद पनि जन्माएका छन्। राष्ट्रिय राजनीतिमा उनले आफैंलाई कसरी सन्तुलित राख्छन्, यही कुराले उनको दीर्घकालीन राजनीतिक आयु निर्धारण गर्नेछ।

त्यसैले पार्टी निर्माणकै चरणमा आलोचकहरूसँग संवाद गर्नुपर्छ। परिपक्व नेतृत्व सबै कुरा जान्ने हुनुमा होइन, राम्रा मान्छेहरूको समूह निर्माण, विनम्रता र सुन्ने क्षमतामा पनि मापन हुन्छ।

चौथो सल्लाह : युवाको समर्थन जिम्मेवारी हो

बालेन शाहको सबैभन्दा ठूलो शक्ति युवा पुस्ताको समर्थन हो। आज उनको एउटा फेसबुक स्टाटसले राजनीतिक तरंग ल्याउन सक्छ। उनी आफ्नो फेसबुक स्टाटसकै भरमा सरकार ढाल्न पनि सक्छन्। त्यसैले युवाको सपनामाथि सबैभन्दा ठूलो जिम्मेवारी पनि उनैको हो।

युवा पुस्ताले नयाँ नेता मात्र खोजेको होइन। उनीहरूले नयाँ राजनीतिक संस्कार खोजिरहेका छन्। यदि युवालाई केवल भावनात्मक समर्थनको स्रोत बनाइयो भने, निराशा अझ गहिरो हुनेछ।

पाँचौं सल्लाह : लोकतान्त्रिक सुधारक बन्नुहोस्, शर्टकट होइन

नेपालको लोकतन्त्र धेरै बहस भएर कमजोर भएको होइन। कुशल व्यवस्थापकीय क्षमता र उत्तरदायित्व बहन गर्न सक्ने नेतृत्व नहुँदा कमजोर भएको हो। सुधारका नाममा प्रक्रिया छल्ने लोभले लोकतन्त्रलाई नै धराप बनाउँछ।

बालेनले आफैंलाई स्पष्ट गर्नैपर्छ- उनी संस्था बलियो बनाउने नेता बन्न चाहन्छन्, कि संस्था बदल्ने नाममा आफैं संस्था बन्न चाहन्छन्? लोकतान्त्रिक नेताले संस्था बलियो बनाउँछन्। अलोकतान्त्रिक नेताले शर्टकट खोज्छन्।

निष्कर्ष : सत्ता जित्न सजिलो छ, योग्य साबित हुन कठिन

नेपालमा महत्वाकांक्षी नेताको कमी छैन; संयमित र सक्षम नेताको कमी छ। हिजोआज ज्वागलमा देखिएको बालेनको राजनीतिक सक्रियता उनको व्यक्तिगत भविष्यसँग मात्र जोडिएको छैन; यो नेपालको भविष्यसँग जोडिएको छ। उनले राजनीतिलाई आफूभन्दा ठूलो बनाउँछन् कि राजनीतिभन्दा आफूलाई ठूलो बनाउँछन्— यो प्रश्न खुला छ।

बालेनलाई मेरो सल्लाह यत्ति हो :

राजनीति गर्ने शैली नै फरक बनाएर पुराना दललाई अप्रासंगिक बनाउनुहोस्। नयाँ सम्भावना देखाएर निर्वाचन जित्ने दल धेरै छन्, तर देश पटक–पटक हारेको छ। अब नेपाललाई नयाँ चुनाव जित्ने होइन- राजनीति र नेतृत्वको अर्थ नै पुनर्परिभाषित गर्ने नेतृत्व चाहिएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.