Skip to main content

Suchana Vatika

कुलमान, बालेन र रवि जोड्ने वैचारिक सूत्र

रवि, बालेन र कुलमान बीचको एकता केवल सामुदायिक संयोजन होइन। यो कुनै कोटा, समीकरण वा शक्ति–सन्तुलनको सम्झौता पनि होइन; नेपाली समाजको वास्तविक चरित्रको स्वाभाविक अभिव्यक्ति हो।

पुस १२ देखि १४ गतेसम्म वैकल्पिक राजनीतिक धारमा जे–जे घट्यो, त्यो कुनै आकस्मिक घटना थिएन। त्यो जनताले चाहेको, महसुस गरेको र लामो समयदेखि खोजिरहेको दिशाको स्पष्ट अभिव्यक्ति थियो। ती तीन दिनले एउटा गहिरो सन्देश दिए– राजनीति अब नारामा कैद हुँदैन घटनाले बोल्छ।

एउटा व्यक्ति जेलबाट निस्किएको केही घण्टामै कति धेरै सम्भावना जन्मिन सक्छन् भन्ने जीवित प्रमाण यही कालखण्डले देखायो। रवि लामिछानेले एकपटक भन्नुभएको थियो, “मेरो कुनै रङ छैन, कुनै बासना छैन। म त धागो हुँ, जसलाई तोड्न सजिलो छैन।” त्यो वाक्य कुनै भावुक उपमा र प्रतीकात्मक वाक्य मात्रै रहेन। व्यवहारमै उहाँले आफूलाई धागो बनाउँदै नयाँ पुस्तालाई स्वागत गर्नुभयो। भरोसाको बलमा एकता बुन्नुभयो। विचार मिल्यो कि मिलेन भन्ने बहस हुन सक्छ, तर उहाँले जनता बीच भरोसा असाधारण रूपमा जोडिदिनुभयो, धेरै समयदेखि टुटेर, थकित भएर बसेका जनआकांक्षालाई एउटै बलियो गाँठोमा बाँधिदिनुभयो। उहाँले नेपाली राजनीतिमा आशाको नयाँ अध्यायको सुरुआत गरिदिनुभयो।

त्यसैले यो बेलामा हामीले भन्नुपर्ने हुन्छ– रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको एकता जात–जातिको गणित मिलाएर बनाइएको कुनै कृत्रिम संयोजन होइन। यो कुनै कोटा, समीकरण वा शक्ति–सन्तुलनको सम्झौता पनि होइन। यो नेपाली समाजको वास्तविक चरित्रको स्वाभाविक अभिव्यक्ति हो।

नेपाल कुनै एकरङ्गी समाज होइन। नेपाल भाषा, भूगोल, वर्ग, संस्कृति र अनुभवले बनेको इन्द्रेणी समाज हो। र यही इन्द्रेणी समाजबाट जन्मिएका प्रतिनिधि पात्रहरू हुन् रवि, बालेन र कुलमान। जनजीवनको भुईंबाट उठेका पात्र, जसले वास्तविकता बुझेर, अनुभव र प्रतिबद्धताबाट नेतृत्वको क्षमता हासिल गरेका छन्।

यही वास्तविकता र जनजीवनको आधारमा जन्मिएको नेतृत्वले मात्र अस्थायी वा शक्ति सन्तुलनको एकता भन्दा फरक, दिगो र प्रभावकारी राष्ट्रिय एकताको ढाँचा निर्माण गर्न सक्छ।

यो देशमा राष्ट्रिय एकताको कुरा सधैं हुन्छ। भाषणमा हुन्छ, नारामा हुन्छ, घोषणापत्रमा हुन्छ। तर त्यो एकता कहिल्यै स्थायी हुन सकेन। राष्ट्रिय एकताको कुरा सबैभन्दा बढी राजावादीहरूले गरे, तर राजावादी शक्तिहरू आफैं कहिल्यै एक हुन सकेनन्। अहिले मुस्किलले जेनजी आन्दोलनको दबाबपछि राजावादी धारको दल राप्रपा एक त देखिएको छ तर यो एकता कति टिक्छ, त्यो अझै अनिश्चित छ। किनकि विचारविहीन, लक्ष्यविहीन र भविष्यको खाका विना बनाइने एकताको नियति इतिहासले पटक–पटक देखाइसकेको छ।

विगतमा एमाले र कांग्रेस पटक–पटक फुटेका छन्। माओवादी त झन्डै दर्जनौं टुक्रामा विभाजित भयो। कहिले माओवादी केन्द्र, कहिले एकीकृत नाम फेरिंदै गयो, तर न माओवादी साँच्चिकै एकीकृत हुनसक्यो, न त केन्द्रित भएर आफूलाई सम्हाल्न सक्यो। हामीसँग भर्खरै आएका विवेकशील साझा पार्टीको विगत पनि यस्तै छ। विवेकशील नेपाली दलबाट साझा पार्टीसँग मिल्दै फुट्दै गरेको अनुभव बोकेर यहाँ आएको छ उक्त पार्टी। भविष्यमा यस्तो तिक्ततापूर्ण अनुभव नदोहोरियोस् भनेर यसलाई आरोपका रूपमा होइन, चेतावनीका रूपमा लिनुपर्छ।

हामी आज प्रतिबद्धता जनाऔं। हाम्रो एकता यस्तो नहोस्। तर प्रतिबद्धता र कामनाले मात्र पुग्दैन; केवल इच्छा भएर मात्र इतिहास बदलिंदैन। अहिले हामीसँग लड्ने शक्ति छ। कसले बढी त्याग गर्ने भन्ने पवित्र भावना छ। किनकि आज हामी विपक्षमा छौं, बाहिर छौं, सङ्घर्षमा छौं। तर भोलि, जब हामीसँग सत्ता हुनेछ, त्यतिबेला ‘हामीमध्ये को हो?’ कसले बढी पायो र कम भन्ने प्रश्न अचानक महत्त्वपूर्ण बन्न सक्छ। शक्ति हुने र नहुने बीच अदृश्य द्वन्द्व जन्मिन सक्छ। यही बिन्दुमा अधिकांश नेपाली राजनीतिक प्रयोग असफल भएका छन्। त्यसैले यसप्रति हामी आजै सजग हुनुपर्छ।

एकले अर्कोलाई होच्याउने, हेप्ने, अपमान गर्ने, योगदानलाई सानो बनाउने प्रवृत्ति भोलिका दिनमा नआओस् भनेर आजैबाट काम गरौं। एकताको परीक्षा व्यवहारमा हुन्छ। किनकि सत्ता संयम माग्छ, सत्ता धैर्य माग्छ। धेरैले भन्छन् नेतृत्वको सामर्थ्य र सीमा सङ्कटका बेलामा देखिन्छ। तर मलाई हिजोआज लाग्न थालेको छ नेतृत्वको वास्तविक सामर्थ्य र सीमा त सुख–सुविधामा प्रकट हुन्छ। त्याग गर्ने बेला कोभन्दा को कम हुनेहरू प्राप्तिका क्षणमा टक्कराउँछन्।

हाम्रो सभापतिमाथि विभिन्न आरोप लाग्दा हामी एकजुट भएर लड्यौं। त्यो राजनीतिक प्रतिशोध थियो र हो भन्नेमा हाम्रो आवाज सधैं एउटै रह्यो। तर भोलि, जब हामीसँग अझ धेरै अवसर, पद, स्रोतहरू आउनेछन् के हामी त्यही एकतामा टिकिरहन सक्छौं? कि हामी एक–अर्कालाई अपमान गर्दै, शङ्काको नजरले हेर्दै, विस्तारै टाढिंदै जानेछौं? त्यसको तयारी आजैबाट गर्नुपर्छ।

२०४८ सालमा कांग्रेसले बहुमत पायो, तर त्यसलाई व्यवस्थापन गर्न सकेन। २०५६ मा फेरि बहुमत पायो, फेरि असफल भयो र आफैं फुट्यो। २०६४ मा माओवादी झन्डै बहुमतको नजिक पुगेर पहिलो पार्टी बन्यो। उसले पनि सम्हाल्न सकेन र फुट्यो। २०७४ मा एमाले र माओवादी मिलेर बहुमत ल्याए, तर त्यो पनि टिकाउन सकेनन्। नेपालमा बहुमत पाउनु नै फुटको सुरुआत जस्तै भएको छ। बहुमत आयो कि फुट्ने दिन सुरु भएको जस्तो इतिहासले देखाउँछ।

अब हामी त्यो इतिहास तोडौं। इतिहास सधैं एकै किसिमले दोहोरिंदैन। इतिहास नयाँ–नयाँ चेतना, नयाँ–नयाँ अभ्यास र नयाँ–नयाँ राजनीतिक संस्कृति मार्फत पुनः लेखिन्छ। त्यो कुरा हामी प्रमाणित गरिदिऔं। हामी मानसिकतामा पनि स्वतन्त्र छौं। पार्टीभित्रका साना–साना बन्धन, गुट, स्वार्थ र अहङ्कार भन्दा माथि छौं भन्ने कुरा व्यवहारबाट देखाऔं। यस्ता दिनहरू आउँदै छन् त्यसका लागि आजैबाट तयार बनौं।

हामी सिङ्गो देशलाई एक बनाउन सक्छौं। तर त्यसका लागि, पहिला हामी आफैं साँच्चिकै एक हुनुपर्छ।

हिजो पार्टीमा भित्रिने बाटो र बाहिरिने ढोकाबारे स्पष्ट नीति थिएन, त्यसैले हामीले फराकिलो हृदयका साथ सबैलाई स्वागत गर्‍यौं र बिदाइलाई पनि सहज बनायौं। तर यही सहजता र भावनात्मक उदारताले पार्टीलाई केही क्षति पनि पुर्‍याएको सत्य अब लुकाउन मिल्दैन। पार्टी केवल सङ्गठन होइन, साझा विचार, साझा अनुशासन र दीर्घकालीन जिम्मेवारी हो भन्ने कुरा त्यो बेला बुझाउनुपर्ने थियो। हिजो सकेनौं अब भनौं।

आज पार्टी ठूलो र प्रभावशाली बनेको छ, र प्रभावसँगै जिम्मेवारी पनि बढेको छ। अब पार्टी भावनाले होइन, प्रणालीले चल्नुपर्छ, व्यक्तिगत सम्बन्धले होइन, संस्थागत निर्णयले निर्देशित हुनुपर्छ। फराकिलो हृदय हाम्रो शक्ति हो, तर अस्पष्टता हाम्रो कमजोरी बन्न दिनुहुँदैन। स्वागत होस्, तर विचारसँग मेल खाने गरी; बिदाइ होस् संस्थागत प्रक्रियाबाट।

पार्टी कसैको अस्थायी विश्रामस्थल होइन; यो साझा सपना, साझा सङ्घर्ष र साझा भविष्य बोकेको राजनीतिक संस्था हो। यहाँ प्रवेश गर्नेले केवल अवसर होइन, जिम्मेवारी बोक्नुपर्छ; यहाँ रहनेले पद होइन, आत्मसंयम र अनुशासन देखाउनुपर्छ; र यहाँबाट बाहिरिनेले पनि संस्थाको गरिमा, मर्यादा र मूल्यलाई सम्मान गर्नुपर्छ। यही चेतनाले मात्र पार्टीलाई सङ्ख्यामा ठूलो होइन, चरित्रमा बलियो, विश्वासमा टिकाउ र इतिहास परिवर्तन गर्न सक्ने राजनीतिक शक्ति बनाउँछ। यो बुझाउन ढिला नगरौं।

हामी सिङ्गो देशलाई एक बनाउन सक्छौं। तर त्यसका लागि, पहिला हामी आफैं साँच्चिकै एक हुनुपर्छ। हिजो व्यक्तिका स्वार्थका कारण पार्टी फुट्दा पनि त्यसलाई राजनीतिक लेपन दिइन्थ्यो, वैचारिकताको आवरण ओढाइन्थ्यो। तर आज हामी यस्तो अवस्थामा छौं, जहाँ हाम्रो वैचारिकता के हो भन्ने कुरा नै धेरै ठाउँमा अझै परिभाषित हुन बाँकी छ। यस्तो अवस्थामा व्यक्तिगत स्वार्थ हावी हुने खतरा झन् बढ्छ। हामी छिन्न–भिन्न पनि हुन सक्छौं। त्यस्ता दिन नआओस् भनेर आजैबाट हामीले एउटा साझा मान्यता निर्माण गर्नुपर्छ।

प्रवासमा पसिना बगाएर काम गरिरहेका नेपालीलाई पनि सोधौं। उनीहरूको पीडा, आशा र अपेक्षाबाट हाम्रो विचार निर्माण गरौं। हाम्रो साझा मान्यता नेताको सुविधा होइन, जनताको अनुभवबाट जन्मिनुपर्छ। हाम्रो विचार घोषणापत्रमा मात्र होइन, जनजीवनमा देखिनुपर्छ। त्यसरी बनेको विचारले मात्र हामीलाई एक राख्न सक्छ। नत्र, वैचारिक अस्पष्टतामा स्वार्थले बाटो खोज्छ र पार्टी फेरि फुट्छ।

अहिले नागरिकमा जति उत्साह छ, त्यत्तिकै गहिरो डर पनि। यदि हामी फेरि फुट्यौं भने, जेन–जेडले सडकमा उत्रेर दिएको त्यत्रो बलिदान व्यर्थ हुनेछ, नागरिकले हामीमाथि राखेको भरोसा निर्दयी रूपमा चकनाचूर हुनेछ, र देश फेरि कांग्रेस–एमालेले लामो समय देखाएको पुरानै सर्कसमा फर्किनेछ। ती पार्टीहरूबाट निराश भएर नागरिक हामीतिर आएका हुन् त्यो आशाले हामीलाई उठाएको हो। तर यदि भोलि फेरि उही अनुहार, उही संस्कार, उही बेइमानी राजनीति देखियो भने, त्यो कति डरलाग्दो हुनेछ, एकछिन सम्झौं। त्यो केवल हाम्रो हार होइन, त्यो नागरिकको विश्वासमाथि गरिएको धोका हुनेछ। त्यो बलिदानमाथि गरिएको अपमान हुनेछ। इतिहासले त्यसको लेखाजोखा कहिल्यै भुल्ने छैन। हामीले आजको जिम्मेवारी सम्झिनुपर्छ यो शक्ति केवल हाम्रो होइन, यो नागरिकको भविष्य र देशको आत्मसम्मानसँग जोडिएको छ।

जसरी जेलबाट निस्किनासाथ हाम्रो सभापतिले उदारता, धैर्य र राजनीतिक परिपक्वता देखाउँदै एकताको पक्षमा अगाडि बढ्नुभयो, त्यही परम्परा हामीले भित्रैबाट जोगाउनुपर्छ। भोलि पार्टीभित्र दरार पैदा हुँदा त्यसलाई सम्हाल्न बाहिरबाट अर्को ‘रवि’ खोज्नुपर्ने अवस्था नआओस्। एकता कुनै व्यक्तिको असाधारण हस्तक्षेपले होइन, हाम्रो सामूहिक चेतना, आत्मसंयम र जिम्मेवारी बोधले टिक्नुपर्छ। यदि सङ्कट आउँछ भने, हामी सबैले आफूभित्रै त्यो उदारता जन्माउन सक्नुपर्छ त्यही नै साँचो नेतृत्व हो, त्यही नै दिगो एकताको आधार हो।

यो एकता, एक ताका भनेर अरू दलले वा कसैले पनि खिसीटिउरी गर्ने दिन कहिल्यै नआओस्। हामी साँचो अर्थमा नयाँ र वैकल्पिक शक्तिहरूको साझा मञ्च बन्न सकौं। विगतमा एकता र सहकार्यका नाममा दलहरूले गरेका व्यक्तिकेन्द्रित स्वार्थहरूको मञ्चन अब नेपालमा पटक–पटक दोहोरिन हुँदैन। विचार र मान्यताको बलियो धागोले यसलाई जोडिराख्नेछ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.