Suchana Vatika

कुलमानले आफैलाई घोषणा गरे उज्यालो नेपालको अध्यक्ष रविसँग एकता भाँडिएपछि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफैलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्।

निवर्तमान ऊर्जामन्त्री घिसिङ यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय थिए।

उज्यालो नेपालका प्रवक्ता राजु थापाले कुलमान अब पार्टीको अध्यक्ष बनेको र यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने जानकारी दिए। उज्यालो नेपालको केन्द्रीय समिति बैठक आज शनिबार ४ बजे बस्दैछ। त्यसपछि ६ बजे पत्रकार सम्मेलन डाकिएको छ।

यसअघि कुलमानलाई पहिलो वरीयताको उपसभापति बनाउने गरी रास्वपासँग एकता गर्दा उज्यालो नेपालका तर्फबाट अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका थिए।

उक्त सहमति भएयता रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच निरन्तर छलफल भए पनि विभिन्न विषयमा कुरा नमिल्दा एकता नै टुटेको हो।

एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टीको नाम परिवर्तन गर्नुपर्ने पक्षमा उज्यालो नेपालका कतिपय सदस्यहरू रहेको स्रोत बताउँछ।

‘राष्ट्रिय उज्यालो पार्टी वा उज्यालो स्वतन्त्र पार्टी नाम राख्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ ती नेताले भने, ‘उहाँहरू ठोस कुरा गर्नुहुन्न। नाम र चुनाव चिह्न हेरफेरका पक्षमा पनि देखिनुभएन। हामीलाई आफ्नो अस्तित्व नै मेटेर कसरी जाने भन्ने भयो।’

उज्यालो नेपालमा ९४ जना केन्द्रीय सदस्य छन्। कुलमान घिसिङ पार्टीमा अहिलेसम्म कुनै पदमा थिएनन्। उज्यालो नेपालका अधिकांश नेता रास्वपासँग पूर्ववत सहमति कार्यान्वन गरी एकतामै रहनुपर्नेमा थिए भने कतिपय नेता उज्यालो नेपाल पार्टी नामअनुसार पनि ब्रान्डिङ भइसकेकोले एक्लै अघि बढ्नुपर्नेमा थिए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.