Suchana Vatika

बालेनको सचिवालय ओलीको गढमा

चुनावी गतिविधि बढाउन दमक–५ मा घर समेत भाडामा लिइसकेको छ । यही भाडाको घरबाट बालेनको दल रास्वपा कार्यकर्ताले गतिविधि थालेका छन् ।

३ माघ, दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंका मेयर बालेन शाहले चुनावी प्रतिस्पर्धा गर्ने भएपछि झापा–५ को राजनीतिक सरगर्मी बढेको छ ।

यो क्षेत्रमा २०४८ सालदेखि निर्वाचन लड्दै आएका छन् । २०६४ साल बाहेक सँधै जित्दै आएका ओलीले आफूलाई यही क्षेत्रमा सुरक्षित ठान्छन् । र यसपटक पनि यही क्षेत्रबाट एकल सिफारिस भएका छन् ।

तर जेनजी आन्दोलनका बेला सत्ताको नेतृत्व गरिरहेका ओलीलाई हराएर भावी प्रधानमन्त्री बन्ने घोषणा सहित बालेनले यही क्षेत्रबाट चुनाव लड्ने तयारी बढाएका छन् ।

चुनावी गतिविधि बढाउन दमक–५ मा घर समेत भाडामा लिइसकेको छ । यही भाडाको घरबाट बालेनको दल रास्वपा कार्यकर्ताले गतिविधि थालेका छन् । कलाकार तथा निर्देशक निश्चल बस्नेत सहितका पंक्ति पनि दमक आइसकेका छन् ।

कार्यालय बाहिरबाटै काम

शुक्रबार रास्वपाका कार्यकर्ताहरू नयाँ सम्पर्क कार्यालयमा चुनावी रणनीति बनाउन व्यस्त रहँदा करिब ५ किलोमिटर पश्चिम दक्षिणमा रहेको एमाले दमकको कार्यालय भने खण्डहर जस्तै थियो । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले डढेको भवन अझै मर्मत भएको छैन । भवनका भित्तामा धुवाँको दाग बाहिरबाट प्रष्टै देखिन्छ ।

पार्टी कार्यालय मात्र होइन, नजिकै रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासको अवस्था पनि उस्तै छ । ओली बस्ने घरको बाहिरी गेटमा ताला लागेको छ भने आगजनीले क्षति पुगेको संरचना जस्ताको तस्तै छ ।

छिमेकीका अनुसार आगजनीपछि सामान्य सरसफाइ गरिए पनि पुन:निर्माण भएको छैन । जलेका झ्याल ढोकाले आन्दोलनको कुरुप पक्षलाई देखाइरहेको छ । जुन आन्दोलन गर्न बालेनले जेनजी पुस्तालाई उक्साएको आरोप छ ।

पार्टी कार्यालय र अध्यक्षको घरमा ताला लागेपछि एमालेका स्थानीय नेता–कार्यकर्ताहरू संगठनात्मक काममा बाहिरै व्यस्त देखिन्छन् । एमाले दमक नगर अध्यक्ष राम पौडेल वडा र टोलमा सांगठनिक गतिविधि भइरहेको बताउँछन् । ‘पार्टी कार्यालयमा कोही पनि हुनुहन्न, मिटिङ बैठक वडावडामै चलिरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘पार्टीको काममा छौं ।’

एमालेको गढ मानिने ठाउँमा पार्टी कार्यालय नै सुनसान हुँदा समर्थकहरूमा केही खिन्नता भने देखिएको छ । आगजनीपछि पार्टी कार्यालय नखुलेको एमाले समर्थक समेत रहेका स्थानीय धर्म भण्डारीले बताए ।

रास्वपा उत्साहित

बालेनको सचिवालय चलाउन शुक्रबार कार्यालय उद्घाटन भएको घरको भित्तामा आध्या कन्सलटेन्सीको बोर्ड छ । रास्वपा नेताहरूका अनुसार कन्सलटेन्सीले छाडेको कोठा भाडामा लिएपनि बोर्ड राख्न बाँकी नै छ ।

नयाँ कार्यालयमा भेला भएका रास्वपाका नेता तथा कार्यकर्ता यसपटक झापा–५, मा परिवर्तनको बाढी आउने दाबी गर्छन् । रास्वपा कमल गाउँपालिका सभापति केदार चापागाईं पार्टीले वरिष्ठ नेतालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर झापा पठाउनु झापाका लागि गौरवको विषय भएको बताउँछन् । ‘अहिलेको माग युवा पुस्ता र रास्वपाको हो,’ एमालेको गढ किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने,‘त्यसो भनिएपनि परिस्थिति बदलिएको छ ।’

स्थानीय नेता खेम कार्की यसपटक उत्साह थपेको बताउँछन् । ‘हिजो जनताले केपी ओलीलाई प्रधानमन्त्री बनाउन भोट दिएका थिए,’ उनले भने, ‘अब बालेनलाई प्रधानमन्त्री बनाउन विधिबाटै हटाउँछौं ओलीलाई ।’

ओलीको पकड रहेको यो क्षेत्र नम्बरमा रास्वपाको सक्रियता र बालेनको आगमनले पुरानो दलका नेताहरूलाई झस्काएको छ । विश्लेषक पूर्वप्राध्यापक मोहन भण्डारी, झापा–५ मा यो पटक कडा प्रतिस्पर्धा हुने बताउँछन् ।

‘बालेन शाह किन आउँदैछन् भन्दा केपी शर्मा ओलीलाई हराउन, तर नयाँ ठाउँमा उनलाई सजिलो छैन,’ भण्डारी भन्छन, ‘झापा ५ मा कडा प्रतिस्पर्धा हुँदा हारजित जसको भएपनि थोरै मतान्तरको हुन्छ ।’

बालेन साह झापा क्षेत्र नम्बर ५ आउँदै गर्दा केपी शर्मा ओलीले आफ्नो सुरक्षाका लागि कांग्रेस र राप्रपासँग सहकार्य गर्नसक्ने सम्भावना उनी देख्छन् ।

‘हिजो राप्रपासँग गठबन्धन भएको थियो, परम्परागत शक्तिलाई हराउन भन्दै नयाँ मान्छे आउँदा पुराना दलबीच गठबन्धन हुनसक्छ,’ उनले भने, ‘जस्तो अवस्था भएपनि प्रतिस्पर्धा कडा हुने निश्चित छ ।’

क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीले गरेका काम र स्थानीय भएका कारण उनलाई केही फाइदा भने हुने उनको बुझाइ छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.