Suchana Vatika

आम नेपालीको कथा ‘तोरकीन’ चराङको मूलमा

निधारको पसिना पुछ्ने सल, रुमाल वा गम्छा फरक होला, पसिना उही। लेखकले यो साझा कथा मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।

‘हिँड्नै नपरे के गर्थ्यो मान्छे, बाटै नभए कस्तो हुँदो हो मान्छेको जीवन ?’ यो प्रश्न जति सजिलो छ, उत्तर पनि सजिलै आउँछ । तर, बुझाइ र भोगाइ बटुवाहरूको फरक–फरक हुन्छ। जस्तो फरक हुन्छ आख्यानकारहरूको शिल्प र शैली । जस्तो फरक हुन्छ, एउटै ढुङ्गाबाट कालिगढले कुदेका मूर्तिहरू। ठीक त्यस्तै फरक छ क्षितिजको आख्यानमा प्राण भर्ने शब्दशिल्प। माथि उल्लिखित प्रश्न उनै क्षितिजले आफ्नो उपन्यास तोरकीनमा उठाएका हुन्। उपल्लो मुस्ताङको चराङमा झुलुक्क उदाएको घाम, खुसी, उज्यालो र आशाबाट सुरु भएको उपन्यास अन्ततः छेवाङ पात्रमार्फत निराशा र एक्लोपनको अँध्यारोमा रुमल्लिएर “घर जाने कि घाट जाने ?’ भन्ने दोसाँधमा प्रश्नवाचक चिन्ह खडा गरेर टुङ्गिन्छ ।

उसो त तोरकीन उपल्लो मुस्ताङरचराङको कथा हो भनेर लेखक स्वयम्‌ले स्वीकारेका छन्। उपन्यास पढ्दै जाँदा पाठक त्यहाँको संस्कृतिमा यति घुल्छन् कि रसायनशास्त्रको विद्यार्थीले भन्ने सन्तृप्त घोलको अवस्थाजस्तै लाग्छ। मुस्ताङको संस्कृति र परिवेश बुझ्न यो उपन्यास एक्लै काफी छ। उपन्यासको सैद्धान्तिक पाटो समालोचकहरूलाई छोडेर म यहाँ तोरकीन (रेसिपि) को स्वादको बखान र टिप्पणी गर्दैछु। रेसिपि कस्तो हुनुपर्छ भन्ने  समालोचककै जिम्मा।

उपन्यासमा निम्नवर्गीय परिवारको जीवनसंघर्ष सशक्त रूपमा उठाइएको छ। फिल्म मान्ने हो भने छेवाङ नायक र कुन्साङ नायिका हुन्। दर्शकले ह्याप्पी इन्डिङको आशा गर्दा स्क्रिप्ट राइटरले बिछोड गराउँछन्-यो बियोगान्त कथा हो। खल्लो लाग्छ, तर पुँजीवादी समाजको तीतो यथार्थसँग जोडेर हेर्दा धेरैले स्वीकार गर्न सक्छन्।

पाठकले आफ्नो रुचिअनुसार रसास्वादन गर्न पाउँछन् : संस्कृति खोज्नेले संस्कृति, प्रकृति खोज्नेले प्रकृति, इतिहास खोज्नेले इतिहास, प्रेम खोज्नेले प्रेम । पेम्बा र छेवाङको मित्रता पढ्दा सुदामा–कृष्णको मिथक याद आउँछ। लेखकले त्यो सम्भावना सक्षमतापूर्वक देखाएका छन्।

उपन्यास पढ्दै जाँदा उपल्लो मुस्ताङका चराङ, छुसाङ, सामर, स्याङबोचे, घिलिङ, घमी, माराङ, लोमान्थाङ, छोन्हुप र छोसेर गाउँहरूको सम्बन्ध, तिक्तता र निकटतास बस्ने जातजाति, रीतिरिवाज, विवाह र मृत्यु संस्कार नौला र आश्चर्यजनक लाग्छन्। ल्होघेकर गुम्बा, धोर्जेदेन गुम्बा, थुक्चिपे गुम्बा जस्ता धार्मिक स्थलका आस्था, विश्वास र पूजाविधिस हिजोको तिब्बतसँगको सम्बन्ध र आजको साङ्गोपाङ्गो अवस्था-यी सबै उपन्यासले सुन्दर ढङ्गले केलाउँछ।

स्थानीय पोशाकहरू-फुजे, कोयो, तोचे, काउ, ल्हाम्डोक, केतेन, पाङदेन, छिरिङ किङ्गा, ओदोकस खानेकुरा-नुन–चिया, भुटेको गहुँ–जौ–उवाको सातु, ढिँडो, याक–भेडाको मासु, सुकुटी, छ्याङ र रक्सी पढ्दा पाठकलाई त्यतै पुगेर ती पहिरन र खानपान अनुभव गर्ने लालसा जाग्छ ।

समग्रमा तोरकीन पढ्दा निकै मजा आउँछ। प्राविधिक त्रुटिबाहेक पछिल्लो समय पढिएका उपन्यासमध्ये कथावस्तु र शैलीका हिसाबले स्वादिलो छ

घर निर्माणको संघर्ष, बनावट, सुरक्षा, माथिल्लो तलामा देवता र दाउरा राख्ने चलनस थाङ्कामा कुँदिएका बुद्ध, बोधिसत्व, धर्मपाल र रिम्पोचेका चित्रस चाडपर्वमा बज्ने काङलिङ, ढुङ्चेन, ङा र घ्यालिङका ताल-यी सबैले पाठकलाई कथाभित्रै रौनकता दिन्छन् ।

सहरकेन्द्रित बसाइँसराइ र निजी विद्यालयको मोहले गाउँका सामुदायिक स्कुलमा विद्यार्थी नहुने, शिक्षक कुरुवा बस्ने अवस्थास विदेशिने बाध्यतास तिब्बती शरणार्थीलाई अमेरिका पठाउने नीतिका कारण कागजी बिहे जस्ता आयातित संस्कृतिमा फस्नुस जलवायु परिवर्तनको असर (पग्लँदै गएको हिउँ र रित्तिँदै गएको गाउँ) यी सबै विषय उपन्यासले गहिराइमा छाम्छ। पाठकको मन भक्कानिन्छ।

यसरी हेर्दा भूगोल उपल्लो मुस्ताङ भए पनि पात्रहरूको संघर्ष हिमाल, पहाड र तराईका निम्न तथा मध्यमवर्गीय परिवारसँग जोडिन्छ। छेवाङ मलेसिया जान्छन्, कुन्साङ अमेरिका-नाम र ठाउँ फेरिए पनि नियति एउटै। निधारको पसिना पुछ्ने सल, रुमाल वा गम्छा फरक होला, पसिना उही। लेखकले यो साझा कथा मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।

खाना जति मिठो भए पनि नेपाली बानी नै हो-नुन कम र धेरै भयो भन्ने । त्यसैले केही प्रसङ्ग फिल्मी र हजम नहुने लागे : २०५८ मा कालीमाटीमा एक रातको कोठा ५०० तिर्नुस गाडी दुर्घटनामा मृत्युको हल्ला फैलाएर अस्पताल देखाउनुस स्याउको पेटीमा लागूऔषध भेटिनु र जेल प्रक्रियास राम्रो कमाइ हुँदाहुँदै मलेसिया पठाउनुस कुन्साङलाई अमेरिकामा फिलिपसँग टाँस्नु-यी ‘ये बात कुछ हजम नहीं हुई’ जस्ता लागे ।

समग्रमा तोरकीन पढ्दा निकै मजा आउँछ। प्राविधिक त्रुटिबाहेक पछिल्लो समय पढिएका उपन्यासमध्ये कथावस्तु र शैलीका हिसाबले स्वादिलो छ। पहिलो उपन्यासबाटै नेपाली आख्यानमा सशक्त उपस्थिति जनाएका लेखक क्षितिज समर्पणको अर्को कृतिमा चाँडै नजर पुगोस् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.