Suchana Vatika

महावीरले भने- बल्ल बुद्धि आएछ, रास्वपाले समर्थन गरेपछि

सर्मथकहरूले हात मिलाउनु भनेपछि ‘बल्ल बुद्धि आएछ’ भन्ने प्रतिक्रिया महावीरको थियो । अनि आफू मुस्कुराए र सहभागीलाई हँसाए ।

बेनी, १० माघ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार युवराज रोकाले सर्मथन गरेका छन् ।

पुनले बेनीको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलन स्थलमा पुगेका रोकाले पार्टीको निर्देशन र शुभेच्छुकहरूको सुझाव अनुसार महाविरलाई सघाउने निर्णय गरेको जानकारी गराए । ‘हामीले महावीर सरलाई फोन गर्दा कुरा गर्नै नचाहने, फोन उठाएर पनि त्यत्तिकै राखिदिने गर्नुभयो, अर्कोतर्फ उमेदवारी फिर्ता लिएर समर्थन गर्न दबाब आइरहेको थियो,’ रोकाले भने, ‘हिजो ढिलाइका कारण आधिकारिक रुपमा प्रत्यक्षतर्फ महावीर सरलाई सघाएर आफ्नो उमेदवारी निष्क्रिय बनाएको घोषणा गर्दछु ।’

करिब एक घण्टासम्म आफ्नो भनाइ राखेका महावीरले बोल्ने क्रममा पुगेका रोकालाई सहयोगीहरूले उनीसँगै उभाएर तत्कालै समर्थन गरेको घोषणा गराउने तयारी गरे । तर महावीरले ‘कति आत्तेको ? एकछिन पखन्’ भन्दै कुराए । अन्तिममा ‘के हो ? कुरा लौ आउ भन’ भनेर मञ्चमा बोलाए ।

युवराजले आफ्नो भनाइ राखे । त्यतिबेलासम्म महवीर बेवास्ता गरिरहे जस्तो देखिन्थे । सर्मथकहरूले हात मिलाउनु भनेपछि ‘बल्ल बुद्धि आएछ’ भन्ने प्रतिक्रिया महावीरको थियो । अनि आफू मुस्कुराए र सहभागीलाई हँसाए ।

स्वतन्त्र उमेदवार बनेका बेनीका नविन जिसीले उमेदवारी फिर्ता लिएर शुक्रबार महावीरलाई सघाउने घोषणा गरेका थिए । नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाले बिहीबार विज्ञप्ति जारी गरेर महावीरलाई सर्मथन गर्ने घोषणा गरेपनि शुक्रबार उमेदवारी फिर्ता लिन आएनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको शुक्रबार दिउँसो १० देखि १ बजेभित्रको समयमा जिसीको मात्र उमेदवार फिर्ता भएको हो ।

१३ जनाको मनोनयन दर्ता भएकोमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उमेदवारी कायम रहेको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताए ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदीको उमेदवारी कायम छ ।

उनका अनुसार नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा र मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामासँग स्वतन्त्र महावीरको उमेदवारी कायम छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।

चौतारीमा उभिएर काम, अनुभव र योजना बेलिविस्तार लगाए

त्रिभुज चुनाव चिन्ह रोजेका महाबिरले सार्वजनिक स्थलमा पिपलको रुखमुनी रहेको चौतारीमा पत्रकार र सर्वसाधारणहरूलाई बोलाएर आफूले मन्त्रालयमा हुँदा गरेका र गर्न खोजेका काम देखि योजना सुनाए । ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपमा स्पष्टीकरण दिए ।

‘कसैले धोकेबाज पनि भनेको छ, भगौडा, मन्त्रिपरिषदलाई धोका दिएको, जेनजीलाई धोका दिएको भनेका छन् । धोका दिनलाई होइन, धोका नदिनलाई छोडेको । किनभने त्यहाँ बसेर काम गर्न सकिन्न भने किन बस्ने ?,’ सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको उनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिको गठन, शिक्षक सरुवा, शैक्षिक परामर्श र प्राविधिक शिक्षामा भएको बेथिति हटाउन र विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नभएर प्रतिस्पर्धाबाट नियुक्त गर्ने ब्यवस्था ल्याउन साथ नपाएको महावीरले गुनासो गरे ।

‘मैले यसअघि आमरन अनसन बसेर सरकारसँग गरेको सम्झौता कार्यान्वयन गराउन देखि केही सुधारको प्रयास गर्दा सहयोग पाइनँ,’ पुनले भने ‘बेथिति र विकृति टुलुटुलु हेरेर हस्ताक्षर मात्र गरेर बस्नुभन्दा जे पर्ला पर्ला भनेर उमेदवार हुन आए ।’

आफूले शिक्षा क्षेत्रको सुधारका लागि उठाएको मुद्दाका विषयमा निर्वाचित हुने सबै सांसदहरूको समूह बनाएर संसद र सरकारसँग पैरवी महावीरले योजना सुनाए ।

विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको लागि कानुन बनाउनु पनि आफ्नो राजनीतिक मुद्दा भएको महावीरको भनाइ छ ।

किताब बेच्ने ठाउँ खोज्दै

मनोनयन दर्ता लगत्तै धवलागिरी र मालिका गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट र आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका महावीर पुनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिताको विषयमा स्पष्टीकरण मागेकोमा आक्रोश पोखे ।

‘म उमेदवार भएर आएकोमा कसैले दु:ख नमान्नुहोला, त्यतिकै किन डुल्नु भनेर किताब बेच्दै गाउँ पुगेको थिए, कुनै राजनीतिक दलको मान्छेले उजुरी गर्नुभएछ,’ उनले भने, ‘निर्वाचन आयोगले किताब बेच्दै नहिँड्नु भनेकाले अबै बेनीमा कतै बिक्री कक्ष खोज्दैछु । त्यहीबाट किताब बेच्नेहोला ।’

चुनाव लड्न पुख्यौली थलो फर्किए

७१ वर्षीय महाविरको पुर्ख्यौली घर म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ८ नागी हो । तर उनी चितवनको रत्ननगरमा हुर्किएका थिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिख, घार, पाउद्वार, खिवाङ, स्वाँता लगायत बस्तीमा सन् १९७०–८५ को दशकमा प्राध्यापक कावाकिताले ‘स्थानीयको समस्या स्थानीयकै सहभागितामा समाधाान गर्ने’ केजे मेथोड (कावाकिता जिरो मेथोड) अपनाएर पम्पिङ सिस्टमको खानेपानी, लघुजलविद्युत् र जंगलबाट घाँसदाउरा ओसार्न रोपवे प्रविधि भित्राएका थिए । त्यसका लागि कावाकिताले हिमालय संरक्षण संस्था (आईएचसी) स्थापना गरेका थिए ।

त्यही भूगोलमा पुनले जिरो कावाकिताको विकास मोडेल पछ्याउँदै सन् १९९० को दशकदेखि सामुदायिक पर्यटन, व्यवसायिक शिक्षा, स्थानीय पार्टपुर्जा र टीभीका एन्टेना प्रयोगगरी वायरलेस इन्टरनेट सेवा पुर्‍याएका थिए ।

एउटै भूगोलमा एउटै विकास मोडेल ‘केजे मेथोड’ अपनाएर समुदायको जीवनस्तर उकास्न काम गरेकोले कावाकिता र पुन दुवैले रोमन म्यागासेसे पुरस्कार जितेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.