Suchana Vatika

काका–भतिजा नै प्रतिस्पर्धामा : सप्तरी ३

काका–भतिजा अनि पुराना परिचित अनुहारसँगै नयाँ उम्मेदवार पनि थपिएकाले सप्तरी ३ को चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

१३ माघ, सप्तरी । सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–३ बाट एकै परिवारका काका–भतिजा फरक–फरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर– ५ निवासी पूर्व संविधान सभा सदस्य ताराकान्त चौधरी र अमरकान्त चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

ताराकान्त काका हुन् भने अमरकान्त भतिजा हुन् । अमरकान्त ताराकान्तका जेठो दाजु चन्द्रकान्तका छोरा हुन् ।

काका ताराकान्त (एमाले)का उम्मेदवार छन् भने अमरकान्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार छन् । अमरकान्तले यसअघि २०७९ को चुनावमा डाक्नेश्वरी नगरपालिकाको मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रतिस्पर्धा गरेका थिए । तर उनी पराजित भएका थिए ।

ताराकान्त र अमरकान्त दुवैले आफूले चुनाव जित्ने दाबी गरेका छन् ।

चौधरी परिवार सप्तरीकै दानविर परिवारका रुपमा चिनिन्छन् । उनीहरुको जग्गा दानबाट पातो बजार, विद्यालय, स्वास्थ्य चौकी, कृषि भवन, डाक्नेश्वरी नगरपालिकाको भवन लगायत स्थापना भएका छन् ।

सप्तरी ३ मा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पनि प्रतिस्पर्धामा छन् । नेपाली कम्युनिष्ट पार्टीबाट अरुण कुमार साह, जनमत पार्टी बाट सुरेन्द्र शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्देश्वर साह, उज्यालो नेपालबाट प्रमेश्वर लाल साह, राष्ट्रिय मुक्ति पार्टी नेपालका गजेन्द्र कुमार मण्डल लगायत २२ जना उम्मेदवार छन् ।

पुराना परिचित अनुहारसँगै नयाँ उम्मेदवार पनि थपिएकाले सप्तरी ३ को चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

विगतको निर्वाचन

यसअघि ताराकान्त २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेबाटै निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा पनि उनी उम्मेदवार बने । तर उक्त निर्वाचनमा ताराकान्तका दाजु चन्द्रकान्त चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार बनेर विजयी भएका थिए । चन्द्रकान्तले २२ हजार ५ सय ८४ मत ल्याएका थिए भने ताराकान्तले ११ हजार १ सय ८८ मत ल्याई तेश्रो स्थानमा चित बुझाएका थिए । चन्द्रकान्तको गत २६ पुसमा निधन भयो ।

पिताको क्रिया बसेकै अवस्थामा अमरकान्तले ६ माघमा उम्मेदवारी दर्ता गराएका थिए । उनी भन्छन्, ‘नयाँ नेपाल बनाउन उम्मेदवार बनेको हुँ ।’

ताराकान्तका अनुसार २०७४ को चुनावमा जेठो दाजु चन्द्रकान्तले आफू चुनाव नलड्ने बताएका थिए । तर भाइविरुद्ध चुनाव लडेर जिते । अहिले फेरि तिनै दाजुको छोरा अमरकान्त आफूविरुद्ध प्रतिस्पर्धामा उत्रिएको उनी बताउँछन् । ‘दाजुले म चुनाव लड्दिनँ, तिमीलाई सहयोग गर्छु भन्नुभएको थियो तर दाजु एक्कासी उम्मेदबार बन्नुभयो,’ ताराकान्त २०७४ को चुनाव स्मरण गर्दै भन्छन्, ‘अहिले उहाँको छोराले पनि त्यसै गरेको छ ।’ तर यसबाट आफूलाई कुनै फरक नपर्ने बताउँदै उनी बताउँछन् ।

सप्तरी क्षेत्र नम्बर–३ को विगतको दुई निर्वाचन फर्केर हेर्दा २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजापा) बाट चन्द्रकान्त चौधरी २२ हजार ५ सय ८४ मत ल्याई विजय हुँदा निवर्तमान सांसद दिनेश कुमार यादव १९ हजार ४ सय १ मत ल्याई दोस्रो भएका थिए । ताराकान्त तेस्रो भएका थिए ।

यस्तै २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेका केन्द्रीय सदस्य समेत रहेका दिनेश कुमार यादव २६ हजार १ सय ६६ मत ल्याई निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीले २२ हजार ३ सय मत ल्याएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.