आगामी निर्वाचनमा ‘जेन-जीको जुत्ता’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका डा. कमल (निकोलस) भुसालले सन् २१०० सम्म पृथ्वीलाई नै स्वर्ग बनाउने लगायतका योजनासहितको अवधारणा सार्वजनिक गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो चुनावी घोषणापत्रको मस्यौदा सार्वजनिक गर्दै उनले नेपाललाई वि.सं. २०९० सम्म ‘हरित स्वर्ग’ र सन् २१०० सम्म विश्व शान्ति संगठनमार्फत पृथ्वीलाई नै स्वर्गको रूपमा चिनाउने दाबी गरेका हुन्।
घोषणापत्र लेखनकै चरणमा रहेको जानकारी दिँदै उनले यसमा आम सर्वसाधारणसँग सुझावको अपेक्षा समेत गरेका छन्।
डा. भुसालले सार्वजनिक गरेको अवधारणामा आर्थिक र सामाजिक सुधारका लागि समयसीमासहितका प्रतिज्ञाहरू समेटिएका छन्।
उनले पदभार ग्रहण गरेको एक महिनाभित्र ‘जेन-जी’ पुस्ताका सम्पूर्ण माग पूरा गर्ने र तीन महिनाभित्र सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूको डुबेको रकम फिर्ता गराउने उद्घोष गरेका छन्।
त्यस्तै, एक वर्षभित्र शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, खानेपानी र बिजुली पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने तथा तीन वर्षभित्र स्वदेशमै रोजगारी सिर्जना गरी देशको सम्पूर्ण ऋण तिर्ने उनको योजना छ।
अझ अघि बढ्दै उनले पाँच वर्षभित्र ३ हजार खर्बको अर्थतन्त्र निर्माण गरी सबै नेपालीलाई करोडपति बनाउने र आठ वर्षभित्र नेपाललाई स्वर्गको नमुना बनाउने दाबी प्रस्तुत गरेका छन्।
राज्यको शासकीय स्वरूप र नीतिगत व्यवस्थामा आमूल परिवर्तनको प्रस्ताव गर्दै उनले नेपाललाई वैदिक सनातन हिन्दू, बुद्ध र किरात राष्ट्र घोषणा गर्ने बताएका छन्।
संघीयताको वर्तमान संरचनाप्रति असहमति जनाउँदै उनले प्रदेश सभा र मन्त्रीहरू खारेज गर्ने तथा शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी राज्यले लिने नीति अघि सारेका छन्।
नेपालका खानी, पानी, जल, जंगल र जडीबुटीको वैधानिक प्रयोगमार्फत आर्थिक क्रान्ति गर्ने र ‘न्याय नपाए गोर्खा जानू’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासनयुक्त नेपाल निर्माण गर्ने उनको भनाइ छ।
साथै, आयात न्यूनीकरण गर्दै तीन वर्षमा व्यापार घाटा अन्त्य गर्ने र यातायात व्यवसायीहरूलाई सम्मानित पेसाको रूपमा स्थापित गर्ने योजना पनि उनले समेटेका छन्।
विशेषगरी रूपन्देही जिल्लालाई केन्द्रमा राखेर उनले स्थानीय विकासका खाकाहरू पनि कोरेका छन्।
जसअनुसार बुटवललाई शिक्षा, तिलोत्तमालाई औद्योगिक र सैनामैनालाई सूचना प्रविधिको केन्द्रबिन्दु बनाउने उनको योजना छ।
लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेज बनाउने, तिनाउ खोलाको तटबन्ध तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने र ज्योतिनगरको पहिरो नियन्त्रण गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
पर्यटकीय विकासका लागि एक वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्य राख्दै उनले विभिन्न धार्मिक धाम तथा पार्कहरूको स्तरोन्नति गर्ने बताएका छन्। हरेक वडामा खेल मैदान र एक प्रदेश एक रंगशाला निर्माण गर्ने उनको प्रतिबद्धता छ।
आफूलाई विश्वको गुरु राष्ट्रका नागरिकका रूपमा चिनाउँदै डा. भुसालले नेपाल गरिब देश नभई गरिब बनाइएको तर्क गरेका छन्।
उनले राष्ट्रियता, एकता, मानवता र आत्मनिर्भरतालाई मूल सिद्धान्त मान्दै ग्लोबल पीस युनियन मार्फत विश्वका शक्ति राष्ट्रहरूसँग समन्वय गरी विश्व शान्तिको नेतृत्व नेपालले गर्ने महत्वाकांक्षा राखेका छन्।
‘देशको खाऊँ, देशको लगाऊँ र देशमै रमाऊँ’ भन्ने नारासहित आत्मनिर्भर नेपाल महाअभियान चलाउने र रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने उनको मुख्य एजेन्डा रहेको छ।