Suchana Vatika

कुलमान घिसिङ – कामबाट स्थापित पार्टी हौं, सामाजिक सञ्जालबाट होइन

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन्।

पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरदैलो कार्यक्रम सहभागी हुने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गरे।

देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गरे। 

उनले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गरे। 

उनले प्रधानमन्त्रीको छनोट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताए। अध्यक्ष घिसिङकाअनुसार दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी हुन्।

उनले यी दुबै पार्टीहरू भाषण गरेर नभई समाजमा काम गरेर आएको पार्टी भएको बताए। 

उनले अबको निर्वाचनमा भाषण गर्नेलाई नभई काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने आवश्यकता औंल्याए।

भाषण गरेर देशमा रूपान्तरण नहुने उनको भनाइ छ।

उनले भने, ‘हामी डेलिभरी दिनको लागि आएका हौं। अबको भोट भनेको डेलिभरी दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन। काम गरेर देखाउने पार्टीलाई, व्यक्तिलाई भोट दिनुपर्छ। यो समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रूपान्तरण गर्नुपर्छ। हाम्रो पार्टी डेलिभरी दिने पार्टी हो। अरू भनेको भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन। डेलिभरी दिएर अर्गानिक रूपमा स्थापित भएको पार्टी हो। हामी छोटो समयमा आएका छौँ। तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ। प्रधानमन्त्री हामी नै हुन्छौँ। हामी यो देशको नेतृत्व गर्न आएको हो। हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन। हामी आफै प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौं। भाषण गरेर मात्रै प्रधानमन्त्री बनिँदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो।’

उनले आफूहरूले विगतमा पनि काम गरेको र आगामी दिनमा पनि गर्ने बताउँदै  आफूहरूलाई मतदान गर्न आग्रह गरे।

उनले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उनको भनाइ छ।

नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको जानकारी दिए।

उनले भने, ‘उज्योलो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापित सबैभन्दा नयाँ पार्टी हो। नयाँ ऊर्जा र जोश लिएर आएको पार्टी हो। उज्यालो नेपाल पार्टीसँग राष्ट्रिय परिवर्तन पार्टी पनि एकता भएको छ। यी दुवै पार्टी जेनजी आन्दोलनपछि स्थापना भएका पार्टी हुन्। राष्ट्रिय परिवर्तन पार्टी जेनजी आन्दोलनका घाइतेहरूको पार्टी हो। दुवै पार्टीले जेनजी आन्दोलनको भावना र मागलाई बोकेको छ। यो पार्टी नै नयाँ हो र यसले नै देशको परिवर्तन गर्छ। हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरू यो पार्टीमा छौं।’

उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान सुरू गरेको छ।

अध्यक्ष घिसिङकाअनुसार मधेस प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्वपूर्ण प्रदेश हो, जहाँ पार्टीको सशक्त उपस्थिति छ।

प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उनले धेरै क्षेत्रमा प्रतिस्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गरे। – न्युज एजेन्सी नेपाल

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.