Suchana Vatika

बुवा अझै प्रतीक्षामा – छोरा-बुहारीले नागरिकता पाए

दुवै आँखाको ज्योति गुमाएका रामजीको अहिलेसम्म आफ्नो पहिचान छैन । उनी राज्यबाट पाउनुपर्ने नागरिकताबाट समेत वञ्चित छन् ।

२२ माघ, सप्तरी । राजविराज नगरपालिका-९ मलेठ निवासी ८२ वर्षीय रामजी राम अँध्यारोमै बाँचिरहेका छन्। उनका लागि साँझ-बिहान, उज्यालो-अँध्यारो सबै उस्तै।

दुवै आँखाको ज्योति गुमाएका रामजीको अहिलेसम्म आफ्नो पहिचान छैन । उनी राज्यबाट पाउनुपर्ने नागरिकताबाट समेत वञ्चित छन् ।

रामजीले लामो समय भारतको पञ्जाबमा श्रम गर्दा नेपाली नागरिकता बनाउन पाएनन्। परिवारको जीविकोपार्जनमै व्यस्त रहँदा आफ्नै पहिचानको कागज अधुरै रह्यो।

छोरा-बुहारीले नागरिकता पाए, रामजीको छैन

रामजी रामका छोरा–बुहारीले २०६३ सालमा गाउँमा आएको टोलीमार्फत नै नागरिकता बनाए उनको पनि नागरिकता बनाउने प्रक्रिया सुरु भएको थियो। तर त्यतिबेला उनी पञ्जाबमै थिए ।

समय अभावका कारण उनको नागरिकता बन्ने प्रक्रिया बीचमै रोकियो। रामजी भन्छन्, ‘प्रक्रिया पूरा नहुँदै नागरिकताको कुरा सेलायो। अझै पनि नागरिकता पाएँ खुसी हुन्थें । अब कति नै बाँच्छु र । ‘नागरिकता पाए जीवनको इच्छा पूरा हुन्थ्यो।’

नागरिकता नहुँदा उनी राज्यले प्रदान गर्ने अधारभूत सेवा-सुविधाबाट वञ्जित छन् । अहिलेसम्म ज्येष्ठ नागरिक भत्तासमेत पाउन सकेका छैनन्।

रामजीलाई शारीरिक रूपमा कुनै गम्भीर रोग छैन । तर दृष्टि गुमेपछि उनी पूर्ण रूपमा सन्तानको सहारामा बाँच्न बाध्य छन्।

अनि गुम्यो आँखाको ज्योति

रामजी झण्डै २५ वर्षदेखि दृष्टिविहीन छन्। आँखाको ज्योति विस्तारै कमजोर हुँदै जाँदा उनले धेरैपटक चिकित्सकको शरण लिए।

‘सुरुसुरुमा धमिलो देखिन्थ्यो। जाँच गराउँदा डाक्टरले औषधि दिए । ठिक हुन्छ भने,’ उनी सम्झन्छन्, ‘तर औषधिले काम गरेन। एक दिन एकै पटक दुवै आँखाले देख्नै छोडे।’

युवावस्थादेखि नै उनी रोजगारीका लागि भारतको पञ्जाब जाने गर्थे। कठोर श्रम गर्दै परिवार धानेका रामजीले त्यहीँ रहँदा आँखामा समस्या सुरु भएको महसुस गरेका थिए।

‘पञ्जाबमै धेरै डाक्टरलाई देखाएँ,’ उनी भन्छन्, ‘सबैले काला मोतियाबिन्दु भने, औषधि दिए । तर ठिक भएन।’

पछि परिवारले रामजीलाई लहानस्थित सगरमाथा आँखा अस्पताल लगे । त्यहाँ चिकित्सकले सुनाएको खबरले उनको परिवार नै स्तब्ध बन्यो।

रामजीकी बुहारी फुलोदेवी भन्छिन्, ‘डाक्टरले दुवै आँखाको नशा सुकिसकेकोले ठिक हुँदैन भने । त्यसपछि घरमै ल्यायौं। अहिले हामीले नै स्याहार–सुसार गरिरहेका छौं।”

पढाइको इच्छा अधुरै

रामजी रामको पीडा केवल आँखासँग मात्र जोडिएको छैन। उनी भित्र अझै एउटा अधुरो सपना छ- स्नातक पढ्ने।  ‘२०६६/६७ सालतिर स्नातकमा नाम लेखाएर पढ्न सुरु गरेको थिएँ,’ उनी भन्छन्, ‘तर आँखाकै कारण पढाइ छोड्नुपर्‍यो।’

बुढेसकालमा पनि पढेर केही गर्ने उत्साह बोकेका रामजीलाई अन्धकारले केवल दृष्टि मात्र खोसेन, शिक्षाको सपना पनि अधुरै बनायो।

राज्यले आफ्ना नागरिक पहिचान गरी नागरिकता समयमा नै दिनुपर्ने र यसरी आधारभूत सेवाबाट वञ्चित पार्नु राज्यको ठूलो कमजोरी भएको सप्तरीका नागरिक अगुवा डा. सूर्यनारायण यादव बताउँछन् ।

‘वडादेखि जिल्ला प्रशासनसम्म रहेका निजामती कर्मचारीले किन पहिचान गर्न सकेन रामजीलाई,’ उनको प्रश्न छ, ‘अब जिल्ला प्रशासन सप्तरी र वडा कार्यालयले रामजीको विषयमा आफ्नो दायित्व पूरा गर्ने कि ?’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.