Suchana Vatika

भोट माग्न पुग्छन् नेता पुग्दैन विकास, हुम्लाको मासपुरमा

‘हामीले बाजुरा जिल्लाबाट स्वास्थ्य सेवा,खाद्यान्न सेवा लिएका छौं । हुम्लाले हामीलाई क्या गरेको छ र ?’ उनले आक्रोशित हुँदै स्थानीय गहुँकला रोकायाले भनिन्, ‘अब भोट माग्न आएपछि भोट पनि हाल्दैनौं ।’

२६ माघ, हुम्ला । पञ्चायतकालमा मासपुरवासी साविकको मैला गाउँ विकास समिति-७ को बेदलचौर पुगेर एक माना चामल र नुन लिएर जग्गाको तिरो तिर्थे ।

सरकारी सेवा बदेलचौरबाटै चल्थ्यो । एनजीओ-आईएनजीओ पनि त्यहीँबाट कार्यक्रम सञ्चालन गर्थे । तर, मासपुरवासी भने जग्गाको तिरो तिर्न मात्रै बदेल चौर जान्थे । बाँकी सरकारी सेवा सुविधा भन्ने मासपुरवासीलाई थाहा नै थिएन ।

नेताहरु र हुम्ला सदरमुकामलाई मासपुर गाउँ छ भन्ने पनि थाहा थिएन । ०४८ सालमा नेपाल कम्युनिस्ट पाटी (नेकपा एमालेका) गोरखबहादुर बोगटी चुनावमा भोट माग्न बदेलचौर पुगेका बेला जग्गाको तिरो तिर्न आएका मासपुरवासीसँग भेट भयो ।
भोट माग्न गएका बोगटीलाई मासपुरवासीले विद्यालय स्थापना गरिदिन माग गरे । बोगटीलाई समेत मासपुर हुम्लामा पर्छ भन्ने थाहा थिएन । ‘मासपुर पनि हुम्ला जिल्लामा पर्छ र ?’ बोगटीले सोधेको स्मरण गर्दै मासपुरका आइते रोकायाले सुनाए ।

हाल हुम्लाको ताजाकोट गाउँपालिका-३ मा पर्ने मासपुरका बासिन्दाले अहिले पनि बाजुराको हिमाली गाउँपालिका-३ युना, बौडी धुलाचौरबाट खाद्यान्नदेखि आधारभूत स्वास्थ्य सेवा उपभोग गर्दै आएका छन् ।

यसअघि उनीहरु सुकुमबासी नै थिए । अहिले हुम्ला मालपोत कार्यालयबाट जग्गाधनी पुर्जा पाएका छन् । यहाँ २५ घरधुरी मात्रै बसोबास छ । सबै घर एकै प्रकार छन्, ढुंगाले छाएका ।

यो गाउँको सदरमुकाम र अन्य गाउँसँगको सम्पर्क बाक्लो छैन । त्यसैले कोही नयाँ मान्छे गाउँमा आउँदा उनीहरु त्यति धेरै खुल्दैनन्, धेरै त लजलाउँछन् ।

गाउँको तलतिर सैपाल हिमालबाट बगेर आउने नदी छ । नदीको पारिपट्टी बाजुराको हिमाली गाउँपालिका-३ बौडी, युना गाउँ पर्छ । बाजुराको युना, बौडीमा विकास भएको छ । तर, मासपुर विकास भएको छैन ।

मासपुरका नागरिकलाई पैदल यात्रा गरेर वडा कार्यालय र गाउँपालिका केन्द्र पुग्नै एक दिन लाग्छ । स्वास्थ्यमा समस्या ,घरेसी दैनिक उपभोग्य वस्तु, बालबालिकालाई खोप लगाउन बाजुराको बौडी, युना पुग्छन् ।
०४८ सालयता मासपुरवासीले पटक-पटक भोट फेरबदल पनि गरे । तर, भोत परिवर्तन गरे पनि मासपुर जस्ता थियो त्यस्तै छ ।

संघीयता आएपछि पहिलोपटक हुम्लाका नेताहरू भोट माग्न मासपुर गाउँ पुगेका थिए । गाउँको विकास हुन्छ कि भन्दै यहाँ नागरिकहरू एक दिनको पैदल यात्रापछि ताजाँकोट गाउँपालिका केन्द्र छेपला पुगेर भोट हाले । तर, गाउँमा कुनै परिवर्तन नभएको मासपुरका स्थानीय आइते रोकायाको दुखेसो छ ।

नेताहरु पटक-पटक भोट माग्न आएर आश्वासन बाँड्ने तर निर्वाचनपछि कहिल्यै नफर्किने गरेको रोकायाले बताए ।

मासपुरकै गहुँकला रोकायाले त आफूहरुलाई नेताहरुले जंगली मान्छे सम्झिएको गुनासो गर्छिन् । ‘राज्यले नेपाली भनेर नागरिकता मात्रै दिएको छ । विकास कहिल्यै आएन, मासपुरलाई जंगली सम्झिएका छन्’, उनले भनिन् ।

हुम्ला जिल्लाबाट आफूहरुले कुनै सेवा नपाएको उनको भनाइ छ । ‘हामीले बाजुरा जिल्लाबाट स्वास्थ्य सेवा,खाद्यान्न सेवा लिएका छौं । हुम्लाले हामीलाई क्या गरेको छ र ?’ उनले आक्रोशित हुँदै भनिन्, ‘अब भोट माग्न आएपछि भोट पनि हाल्दैनौं ।’

आगामी फागुन-२१ हुने प्रतिनिधि सभाको निर्वाचनमा स्थानीय छरी भिरको पहरोबाटै नेताहरूलाई गाउँ छिर्न नदिने स्थानीयको भनाइ छ । ‘भोट माग्न आउन पनि दिदैनौं । गाउँमा सल्लाह भइसकेको छ’, स्थानीय केशबहादुर रोकायाले भने ।

पटक-पटक भोट हाले पनि गाउँपालिका केन्द्र छपेला जाने छरी भिरको पहिरोमा पुलसमेत नहालिदिएको नबनाएको भन्दै उनले आक्रोश पोखे । ‘बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले युना, बौडीलगायतका स्थानमा सडक पुगाइसक्यो’, उनले थपे, ‘हुम्लाका नेताहरूले गोरेटो बाटो पनि बनाइदिएका छैनन् किन यिनिहरूलाई भोट हाल्नु ?’

गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले भने त्यहाँको मैतानासम्म सडक पुर्‍याएको बाँकी काम हुँदै गरेको बताए । बाजुरा र हुम्लाको सहकार्यमा सीमासँग सडक पुगेको उनले बताए ।

चुनाव नजिकिएको बेला पुन: नेताहरु भोट माग्न गाउँ पसेका छन् । २१ फागुनमा हुने निर्वाचनमा होमिएका नेकपा र एमालेले मासपुरमा सडक पुर्‍याउने एजेन्डा बनाएका छन् । तर, यहाँका बासिन्दाले विश्वास नभएको भन्दै यसपटक मतदान नगर्ने चेतावनी दिँदै आएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.