Suchana Vatika

खोजिए कारबाही हुने, पर्यवेक्षणको आवरणमा स्वार्थ पूरा गर्न

काठमाडौँ ।  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन पर्यवेक्षणको अनुमति लिएर आउने संस्था तथा व्यक्तिहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन्।

आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पर्यवेक्षकको नाममा मतदानस्थलमा पुगेर निर्वाचनलाई प्रभावित पार्ने वा मतदान प्रक्रियामा अवरोध सिर्जना गर्ने गतिविधि हुन सक्ने बताए। त्यस्ता शङ्कास्पद गतिविधि देखिएमा तत्काल समाचार सम्प्रेषण गरी आयोगलाई सघाउन उनले सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरेका छन्।

आगामी निर्वाचनमा स्वदेशी तथा विदेशी दुवै तहका पर्यवेक्षकहरू सहभागी हुनेछन्। विदेशी संस्थाहरूबाट विभिन्न देशका निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्त तथा उच्च पदस्थ व्यक्तिहरू नेपाल आउने तय भएको छ। उच्च पदस्थ अधिकारीहरूबाट अनुचित कार्यको सम्भावना नरहे पनि अन्य व्यक्तिहरूले पर्यवेक्षणको नाममा मतदान अधिकृतलाई अनावश्यक प्रश्न सोध्ने वा मतदान प्रक्रियामा क्षणिक अवरोध पुर्‍याउन सक्ने भन्दै आयोगले निगरानी बढाएको छ। यदि कसैले पर्यवेक्षणको आवरणमा निर्वाचनको स्वच्छतामा आँच पुर्‍याउन खोजेमा आयोगले तत्काल सम्बोधन गर्ने विश्वास भण्डारीले दिलाएका छन्।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विगतको निर्वाचनका केही तीता अनुभवहरू सुनाउँदै पर्यवेक्षकहरूले मतदातालाई विशेष चुनाव चिह्नमा मतदान गर्न वा नगर्न दबाब दिएको इतिहास रहेको स्मरण गराए। उनले पहिले केही विदेशी संघ-संस्थाहरूले पर्यवेक्षणको अनुमति लिएर आफ्नो गुप्त उद्देश्य पूरा गर्न प्रचारबाजी गरेको उदाहरण दिँदै यसपटक त्यस्तो हुन नदिने अडान व्यक्त गरे। निर्वाचनको समयमा कुनै पनि पक्षबाट हुने ‘तलमाथि’ लाई आयोगले गम्भीर रूपमा लिने र त्यस्ता व्यक्ति वा संस्थालाई जवाफदेही बनाइने उनले स्पष्ट पारे।

यही फागुन २१ गते हुन लागेको निर्वाचन नियमित आवधिक निर्वाचन मात्र नभएर ट्रयाक बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउने माध्यम भएको उनले दाबी गरे। संविधानको सफल कार्यान्वयनका लागि पनि यसपटकको मतदान स्वच्छ, भयरहित र स्वतन्त्र हुनुपर्नेमा उनले विशेष जोड दिए। निर्वाचनका लागि आम नागरिकहरू निकै उत्सुक रहेको उल्लेख गर्दै उनले यस ऐतिहासिक अवसरलाई बिथोल्न खोज्ने जुनसुकै तत्वलाई निरुत्साहित गरिने बताए। आयोगले मतदान स्थलको सुरक्षा र पर्यवेक्षणको आचारसंहिता पालनामा कुनै सम्झौता नगर्ने उनको भनाइ छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.