Suchana Vatika

धनुषाको मनोनयन रद्द, उदयपुरमा चुनावै जिते – कालोसूचीमा उम्मेदवार

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको मनोनयन नै खारेज भयो । तर यस्तै केस परेका उदयपुर-२ का सूर्यबहादुर तामाङले चुनाव नै जितेका छन् ।

Summary

  • धनुषा–१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी साह कमलको मनोनयन निर्वाचन आयोगले खारेज गरेको छ।
  • उदयपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परे पनि १४ हजार ८०२ मतसहित विजयी भएका छन्।
  • मकालु कान्जिरुवा अटो लिङ्क प्रालिका सञ्चालक सूर्यबहादुर तामाङले काटेका धेरै चेक बाउन्स भएर कालोसूचीमा परेको र व्यवसायमा समस्या देखिएको रास्वपाले जनाएको छ।

२८ फागुन, विराटनगर । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका धनुषा–१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी साह कमलको मनोनयन खारेज भयो । निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

उम्मेदवारी खारेज भए पनि धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर, सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।

उदयपुरमा भने कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका उम्मेदवारले चुनाव नै जितेका छन् । रास्वपाबाट उदयपुर क्षेत्र नम्बर २ मा विजयी भएका  केन्द्रको कालोसूचीमा छन् ।

उदयपुर-२ बाट उनी १४ हजार ८०२ मतसहित विजयी भएका हुन् । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायामाझीले ७ हजार ६४८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले भने ७ हजार २९० मत प्राप्त गरेका थिए ।

रास्वपाले उदयपुरको कटारी बजारमा व्यवसाय गर्दै आएका कटारी नगरपालिका–७ मर्जेतपुरका पर्यटन व्यवसायी तामाङलाई टिकट दिएको थियो । उनी कालोसूचीमा रहेको जानकारी पार्टीका नेताहरूलाई थियो । तर बाहिर बोलेका थिएनन् ।

विजयी भएपछि उनी कालोसूचीमा रहेको विषय बाहिर आएको हो । ‘मनोनयनका क्रममा पनि पार्टी भित्र कुरा उठेको हो । जसका कारण मनोनयन पनि अन्तिम समयमा गरिएको थियो,’ रास्वपा स्रोतले भन्यो, ‘उजुरी नपरेपछि यो विषय बाहिर आएन ।’

चुनाव जितेका तामाङ पर्यटन व्यवसायी हुन् । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार पटकपटक मकालु कान्जिरुवा अटो लिङ्क प्रालिबाट काटिएको चेक बाउन्स हुँदा सञ्चालक सूर्यकुमार तामाङ कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रले जारी गरेको कालोसूचीको विवरणअनुसार १ लाख १ हजार ५१४ नम्बरमा मकालु कान्जिरुवा अटो लिङ्कको नाम छ । यसको सञ्चालकमा लिला राई र सूर्यबहादुर तामाङको नाम छ । उनको नाम २०८० माघ २५ गते कलोसूचीमा नाम चढेको छ । मकालु कान्जिरुवा अटो लिङ्कले त्रिथुङ्गा ट्रेडिङको नाममा माछापुच्छ्रे बैंकको खाताबाट काटेको २ लाख ५५ हजारको चेक बाउन्स भएको थियो ।

२०७९ फागुन १५ गते पनि कालोसूची नम्बर ५७८२३ मा मकालु कान्जिरुवा अटो लिङ्कले माछापुच्छ्रे बैं‌कबाट इस्टन एजेन्सिसलाई काटेको १ करोड ५५ लाखको चेक नसाटिएका कारण सञ्चालक सूर्यबहादुर कालोसूचीमा छन्।

२०८० भदौ ५ गते माछापुच्छ्रे बैंककै खाताबाट सुरेश श्रेष्ठको नाममा काटेको २२ लाख ५० हजारको चेक नसाटिएका कारण कम्पनी र सञ्चालक कालोसूचीमा छन् । प्रेमकुमार श्रेष्ठको नाममा काटिएको १३ लाख ५५ हजारको चेक बाउन्समा पनि २०८० भदौ ६ गते कालोसूचीमा नाम चढेको छ । २०७९ कात्तिक २५ गते पनि उनको नाम कालोसूचीमा चढेको छ । कालोसूची नम्बर ४८४१० मा पनि उनको नाम छ ।

रास्वपा उदयपुर स्रोतका अनुसार व्यवसायमा समस्या भएपछि उनी कालोसूचीमा परेका हुन् । ‘उहाँको नियत त्यस्तो होइन । विकासप्रेमी र समाजसेवी मान्छे हो,’ स्रोतले भन्यो, ‘तर व्यवसायमा समस्या देखिएपछि अप्ठ्यारोमा पर्नुभयो ।’

यो विषयमा बुझ्न खोज्दा नवनिर्वाचित सांसद तामाङले फोन उठाएनन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगाल निर्वाचन परिणाम घोषणा भइसकेका कारण कालोसूचीमा भएको विषयमा आयोगले केही गर्न नमिल्ने बताउँछन् । कालोसूचीमा भएको भए सम्बन्धित पक्ष अदालत जानसक्ने उनको भनाइ छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.