Suchana Vatika

सदरमुकाममा ३६ घण्टादेखि विद्युत अवरुद्ध, धनकुटामा हावाहुरीले २५ लाख बढीको क्षति

हावाहुरीले सरकारी र निजी संरचनामा क्षति पुर्‍याएको छ । सदरमुकाममा ३६ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

४ चैत, धनकुटा । धनकुटामा हावाहुरीले सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ ।

प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा नोक्सानी भएको हो ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानप्रसाद महतोका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो ।

सरकारी कार्यालयहरु आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठलगायतका संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा २५ लाख ५ हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको महतो जानकारी दिए ।

उनका अनुसार हावाहुरीले आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालयमा १५ लाख ५० हजार क्षति भएको छ । यस्तै विद्यालयमा चार लाख र निजी घर तथा गोठमा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति हुन पुगेको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।

सदरमुकाममा विद्युत अवरुद्घ

सोमबार राति आएको हावाहुरीपछि अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा मात्रै सुरु भएको छ । तर, सदरमुकाम क्षेत्र भने विद्युत सञ्चालन हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र मूलघाटलगायतका क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनमा आइसकेको छ ।

महालक्ष्मी नगरपालिकाको तल्लो भेगमा समेत विद्युत आपूर्ति पुन: सुरु गरिएको जनाइएको छ । यद्यपि, हावाहुरीकै कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजारमा विद्युत सेवा अवरुद्ध भएको हो ।

धनकुटा नगरपालिकाको निगाले क्षेत्रमा एकै स्थानमा सातवटा पोल भाँचिनुका साथै जडान गरिएको ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।

क्षतिग्रस्त संरचना मर्मत गर्ने काम भइरहेको र सदरमुकाममा विद्युत सेवा पुनः सञ्चालन गर्न प्रयास भइरहेको वितरण केन्द्रका प्रमुख विजलीप्रसाद यादवले जानकारी दिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.