Skip to main content

Suchana Vatika

सिनेमा किन बदलिँदैन, दर्शक बदलिए

‘द लर्ड अफ द रिङ्स’ को सुटिङ सुरु गर्नुअघि कलाकारले महिनौं घोडा प्रशिक्षण लिए । ‘अवतार : द वे अफ वाटर’ का लागि मुख्य कलाकारले पानीमुनि अभिनय गर्न सक्ने गरी लामो पानीमुनि अभिनय गर्ने तालिम गरे, यो सनक थिएन, आवश्यकता थियो ।

Summary

  • चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरी उद्योगका प्राविधिक कमजोरी सुधार्न तालिम कार्यक्रम सुरु गरेको छ।
  • तालिममा ध्वनि, भ्वाइस डबिङ, एआई फिल्ममेकिङ, ड्रोन, प्रोस्थेटिक मेकअप, पटकथा लेखन र घोडसवारी, पौडी सिकाउने विषय समावेश छन्।
  • बोर्डको पहलले नेपाली चलचित्र उद्योगलाई व्यावसायिक र प्राविधिक रूपमा सुदृढ बनाउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुर्‍याउने लक्ष्य राखिएको छ।

नेपाली चलचित्रको इतिहास पल्टाउँदा एउटा कुरा बारम्बार भेटिन्छ, यहाँ सपना देख्नेहरू सधैं थिए, तर सपनालाई सीपमा बदल्ने ठाउँ कहिल्यै भएन ।

दशकौंसम्म यो उद्योगमा एउटै अलिखित नियम चल्यो : सेटमा आऊ, हेर, बुझ, गर । ‘सेटमा पुगेपछि सिकिन्छ’ भन्ने परम्पराले पुस्तौं तयार गर्‍यो, तर जानाजानी हासिल गरिएको सीप र बाध्यतामा गरिएको कामको भिन्नतालाई कहिल्यै स्वीकार गरेन । त्यही फरकको मूल्य नेपाली सिनेमाले वर्षौंसम्म चुकायो ।

समस्या प्रतिभाको थिएन, यहाँ कथा थिए, माटो उर्वर थियो, मान्छेमा भोक थियो । तर प्रतिभालाई परिष्कृत गर्ने, फैलाउने र उद्योगसँग जोड्ने कुनै संरचना थिएन । फलस्वरूप ध्वनि कमजोर रह्यो, पटकथाको जग खुकुलो रह्यो, मेकअपले पात्रको विश्वसनीयता बढाउनुभन्दा दर्शकको हाँसो निम्त्याउने काम गर्‍यो । राम्रा कथाहरू पनि पोस्ट-प्रोडक्सनको असमान स्तरका कारण दर्शकसम्म पुग्दा आधा बलमा मात्र पुगे, पूरा ऊर्जाले होइन ।

अब कुरा गरौं आजको दर्शकको ।

आफ्नो सानो स्क्रिनमा कोरियाली थ्रिलर, स्प्यानिस ड्रामा र जापानी एनिमेसन हेर्दै हुर्किएको यो पुस्ताको आँखा र कान दुवै परिष्कृत भइसकेका छन् । ध्वनिमा कुनै नक्कली लय आयो भने उसले तुरुन्त थाहा पाउँछ । डायलगमा भाव नभए उसको मन त्यहाँ अड्दैन, रिमोट थिच्छ, अर्को सिरिज खोल्छ ।

यस्तो दर्शकसामु खाली ‘मनलाग्दो कथा’ लिएर उभिँदा पुग्दैन । कथा सुनाउने प्राविधिक दक्षता पनि उत्तिकै पाकेको हुनुपर्छ । कथा र प्रविधि- यी दुई अब अलग कुरा होइनन्, एकै सिक्काका दुई पाटा हुन् । एउटा कमजोर भयो भने अर्को जतिसुकै बलियो भए पनि दर्शकले नचाख्ने नै हो ।

यही पृष्ठभूमिमा चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गर्‍यो । सतहमा हेर्दा यो एउटा कार्यक्रमको सूचना जस्तो लाग्न सक्छ । तर भित्रको अर्थ खोतल्दा, यो घोषणाले नियामक संस्थाको भूमिका नै पुनर्परिभाषित गरेको छ । परम्परागत रूपमा बोर्ड ‘के रोक्ने’ भन्ने प्रश्नमा अल्झिएको थियो । सेन्सरसिपको सोच, अनुमतिपत्रको भाषा, नियन्त्रणको मानसिकता । यस पटक ‘के निर्माण गर्ने’ भन्ने प्रश्न केन्द्रमा आयो ।

घोडचढी सिक्दै नेपाली चलचित्र कलाकार ।

तालिम भनेको चलचित्रकर्मीलाई ‘सिकाउने’ मात्र होइन । यो पूरै उद्योगलाई व्यावसायिक संस्कार दिने प्रक्रिया हो र त्यो फरक बुझ्न सक्नु नै बोर्डको यो पहलको सबैभन्दा बलियो पक्ष हो ।

बोर्डले अहिले सञ्चालन गरिरहेका तालिमको सूची पहिलो नजरमा सामान्य लाग्छ । तर ती विषयहरू किन रोजिए, कसरी रोजिए, त्यो हेर्दा एउटा कुरा स्पष्ट हुन्छ : यी उद्योगका सबैभन्दा कच्चा घाउहरूमाथिको सुलक्षित हस्तक्षेप हुन् ।

ध्वनिको कुरा गरौं पहिले । नेपाली चलचित्रको सबैभन्दा ठूलो प्राविधिक कमजोरी ध्वनि हो । यो कुरा उद्योगभित्र र बाहिर दुवैतर्फ मान्य भइसकेको छ । स्टुडियोमा पछि गरिने कृत्रिम डबिङले दृश्यको भावनात्मक प्रामाणिकतालाई खोक्रो बनाइदिन्छ । दर्शकले हेर्छ एउटा कुरा, कानले सुन्छ अर्कै, यो असंगति मनले तुरुन्त ग्रहण गर्छ, चाहे दर्शकले त्यसलाई भाषामा व्यक्त गर्न जानोस् वा नजानोस् ।

‘स्पट सिङ्क साउन्ड’ तालिमले सुटिङकै क्रममा यथार्थ ध्वनि कैद गर्ने अभ्यास स्थापित गर्छ, यो सामान्य लाग्ला, तर यही कुराले सिनेमाको आत्मालाई जीवित राख्छ । साउन्ड डिजाइन तालिमले ती सबै ध्वनि-तत्वहरूलाई कलात्मक ढंगले बुन्ने सीप दिन्छ । ध्वनिमा भएको यो दोहोरो हस्तक्षेप नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकताको सबैभन्दा ठोस आधारशिला हो ।

भ्वाइस डबिङ र भ्वाइस एक्टिङ- आवाज मिलाउनु मात्र डबिङ होइन, पात्रको प्राण भर्ने कला हो । स्वरमा भाव, उच्चारणमा शुद्धता र अभिनयको लय, यी तीनको संगमले मात्र पर्दामाथिको अनुहार साँच्चिकै बोल्न थाल्छ । यो तालिमको अर्थ केवल चलचित्रसम्म सीमित छैन, एनिमेसन, डकुमेन्ट्री, विज्ञापन र बहुभाषिक सामग्री उत्पादनमा नेपाली जनशक्तिका लागि एउटा नयाँ र फराकिलो बजार यहीँबाट खुल्न सक्छ ।

एआई फिल्ममेकिङ र ड्रोन : कृत्रिम बुद्धिमत्ता विश्व सिनेमामा अनिवार्य हुँदैछ । प्रिभिजुअलाइजेसनदेखि पोस्ट-प्रोडक्सनसम्म, स्क्रिप्ट विश्लेषणदेखि दर्शक प्रक्षेपणसम्म, एआईले काम गर्छ, र गरिरहेको छ । यो तरंग प्रतीक्षामा बस्दा भेटिँदैन, अभिमुख भएर अपनाउनुपर्छ । ड्रोन तालिमको कुरा गर्दा नेपालको अपार भौगोलिक सम्पत्तिको कुरा नगरी हुँदैन, हिमाल, बेँसी, खोला, जंगल, मध्यकालीन बस्तीहरू ।

यी दृश्यलाई सुरक्षित, कलात्मक र व्यावसायिक ढंगले क्यामेरामा उतार्ने सीप भयो भने ‘नेचर सिनेम्याटोग्राफी’ जस्तो विशिष्ट क्षेत्रमा नेपालले विश्वमै फरक पहिचान बनाउन सक्छ । त्यो सम्भावना अहिलेसम्म लगभग अछुतो छ ।

‘अवतार २’ मा कलाकारलाई पौडी सिकाउँदै निर्देशक जेम्स क्यामरुन ।

प्रोस्थेटिक मेकअप- ऐतिहासिक, मिथकीय वा युद्ध-केन्द्रित फिल्ममा मेकअपको अस्वाभाविकताले दर्शकको संलग्नता एकैछिनमा तोडिदिन्छ । पात्रको चेहरामा विश्वास नबसे कथाको कुनै अर्थ रहँदैन । यो तालिम विलासिता होइन, बाध्यता हो । विशेषगरी नेपाली सिनेमाले अब ऐतिहासिक र महाकाव्यिक कथामा हात हाल्न थालेको सन्दर्भमा ।

पटकथा लेखन :  क्यामेरा जतिसुकै अत्याधुनिक भए पनि, पटकथाको जग कमजोर भएपछि सबै भत्किन्छ। नेपाली सिनेमाको वैचारिक कमजोरी प्रायः पटकथामा नै देखिन्थ्यो, अनावश्यक लम्बाइ, दृश्य संरचनाको अभाव, पात्र विकासको शिथिलता। यो तालिमले कथा भन्नुलाई एउटा शास्त्रीय अनुशासनको रूपमा स्थापित गर्छ, प्रतिभाको खेल मात्र होइन, सिक्न र सिकाउन मिल्ने विज्ञान पनि हो भन्ने मान्यता स्थापित गर्छ ।

यी तालिमहरूमा एउटा छ, जुन पहिलो नजरमा अनावश्यक लाग्न सक्छ- घोडसवारी र पौडी ।

मानिस हाँस्न पनि सक्छन् : “के बोर्डले अब अभिनेतालाई खेलाडी बनाउन लाग्यो ?’ तर यो हाँसो त्यसले हाँस्छ जसले पर्दाको भाषा गहिरोसँग बुझेको छैन ।

नेपाली परिवेशमै २०४० सालभन्दा अगाडिको कुनै दृश्य खिच्नुपर्‍यो भने घोडचढी बिना त्यो दृश्य पूरा हुँदैन । तर घोडामाथि बस्दा शरीरले आत्मविश्वास नदेखाए, हात कठ्याङ्ग्रिए, ढाड अकड्यो, आँखा डराएको देखियो, भने दर्शकले पात्र होइन, अभिनय देख्छ । पानीको दृश्यमा डमी राखेर काम चलाउँदा पनि त्यही हुन्छ, क्यामेराले बाहिरी आकार ढाक्न सक्छ, तर भावनाको अभावलाई ढाक्न सक्दैन ।

यो कुरा हामीले मात्र भनेका होइनौं । ‘द लर्ड अफ द रिङ्स’ को सुटिङ सुरु गर्नुअघि कलाकारले महिनौं घोडा प्रशिक्षण लिए । ‘अवतार : द वे अफ वाटर’ का लागि मुख्य कलाकारले पानीमुनि अभिनय गर्न सक्ने गरी लामो पानीमुनि अभिनय गर्ने तालिम गरे, यो सनक थिएन, आवश्यकता थियो । किनकि दर्शकले अभिनय हेर्न होइन, यथार्थ अनुभव गर्न आउँछ । र त्यो यथार्थ शरीरबाट आउँछ, स्क्रिप्टबाट मात्र होइन ।

तालिमलाई नेपाली नीतिगत सोचमा प्रायः ‘प्रशासनिक खर्च’ ठान्ने गरिन्छ, काट्न मिल्ने, सार्न मिल्ने, पछि गर्न मिल्ने । यो सोच गलत मात्र होइन, रचनात्मक उद्योगको सन्दर्भमा घातक पनि हो ।

एउटा चलचित्रकर्मीको सीप बढ्यो भने उसको काम राम्रो हुन्छ । उसको काम राम्रो भयो भने उद्योगको औसत स्तर उठ्छ । उद्योगको स्तर उठ्यो भने अन्तर्राष्ट्रिय बजारमा पहुँच बढ्छ र त्यो पहुँचले सांस्कृतिक कूटनीतिदेखि पर्यटनसम्म धेरै ढोका खोल्छ । यो तर्कमा कुनै जटिलता छैन, यो सिधा तर्क हो, तर यसलाई बुझ्न मन लाग्नुपर्छ ।

अझ ठोस कुरा गरौं । नेपालमै साउन्ड डिजाइनर, प्रोस्थेटिक मेकअप आर्टिस्ट र पोस्ट-प्रोडक्सन विशेषज्ञ तयार भए, मुम्बई र चेन्नई जाने पुँजी यहीँ रोकिन्छ । आज नेपाली निर्माता ध्वनि मिलाउन, रंग सुधार्न, विशेष प्रभाव हाल्न बाहिर जान्छन्, पैसा जान्छ, ज्ञान जान्छ, अनुभव जान्छ । यो चक्र तोड्ने एकमात्र उपाय यहीँ दक्षता निर्माण गर्नु हो ।

यो ‘इम्पोर्ट सब्स्टिच्यूसन’ को सिनेमाटिक संस्करण हो, र यसको आर्थिक मूल्य उत्तिकै ठोस छ, जति कुनै पनि उद्योगनीतिको हुन्छ । बोर्डको यो पहललाई मनले मान्दामान्दै एउटा प्रश्न पनि उठाउनैपर्छ र यो प्रश्न आलोचना होइन, जिम्मेवारीको सम्झाइ हो ।

‘वर्ष’ पछि के ?

नेपाली सार्वजनिक जीवनमा ‘वर्ष’ घोषणाहरूको लामो परम्परा छ । साक्षरता वर्ष, पर्यटन वर्ष, सुशासन वर्ष, आउँछन्, केही गतिविधि हुन्छन्, फोटो खिचिन्छन्, कार्यक्रम हुन्छन्, र वर्ष सकिएसँगै जोस पनि सकिन्छ । अर्को वर्षको पर्खाइ सुरु हुन्छ । यो अभियान त्यही खाँचोमा नपरोस् भन्ने चाहना सबैको हो, तर चाहनाले मात्र हुँदैन, संरचनाले हुन्छ ।

यो वर्षले जुन बीउ रोप्यो, त्यसलाई दीर्घकालीन संस्थागत कार्यक्रममा विकसित गर्नु अनिवार्य छ । छायांकन, सम्पादन, अभिनय, विशेष मेकअपमा अन्तर्राष्ट्रिय मास्टरक्लास निरन्तर हुनुपर्छ । डिजिटल पोस्ट-प्रोडक्सन, भीएफएक्स र कलर ग्रेडिङको त्रिकोण बिना नेपाली सिनेमा प्राविधिक रूपमा विश्वस्तरसँग प्रतिस्पर्धा गर्न सक्दैन ।

फिल्मको बजारीकरण, वितरण र ओटीटीको तयारी । किनकि चलचित्र बन्नु र चलचित्र बिक्नु दुई फरक सीप हुन्, र दोस्रो सीपको तालिम नभएसम्म नेपाली सिनेमा ‘बन्छ तर पुग्दैन’ भन्ने अवस्थामै रहिरहन्छ । फेस्टिभल रणनीति, अन्तर्राष्ट्रिय सह-निर्माण, फिल्ममा लगानी, यी तालिमहरू नेपाली सिनेमालाई विश्व मञ्चसम्म पुर्‍याउने पुलहरू हुन् ।

कपिराइट ज्ञान, फिल्म आर्काइभिङ, फिल्म जर्नलिज्म यी विषयले उद्योगलाई बौद्धिक र ऐतिहासिक जिम्मेवारीसँग जोड्छन् । यी सबैको सामूहिक उपस्थितिले मात्र नेपाली चलचित्र उद्योगलाई एउटा सच्चा इको-सिस्टमको रूपमा स्थापित गर्न सकिन्छ, जहाँ हरेक कडी बलियो छ, र एउटा कमजोर कडीले पूरै शृंखलाको क्षमता सीमित गर्दैन ।

नेपाली सिनेमाको सबैभन्दा गहिरो शक्ति त्यसको मौलिकता र भावनात्मक सत्यता हो, यो कुरा यहाँका कथाकारले कहिल्यै गुमाएका छैनन् । त्यो शक्ति अहिले पनि छ, भोलि पनि रहनेछ । तर त्यो शक्तिलाई विश्वका दर्शकसम्म अनुवाद गर्न अब प्राविधिक र व्यावसायिक दक्षताको उत्तिकै गहिरो जग चाहिन्छ । बोर्डले त्यो जग खन्न थालेको छ, यो प्रशंसनीय छ, निर्विवाद रूपमा ।

अब हेर्ने कुरा एउटै हो, यो जग ‘दक्षता अभिवृद्धि वर्ष’ सकिएपछि पनि खनिँदै रहन्छ कि त्यसमाथि महल उठाउनुअघि नै काम बन्द हुन्छ । अब सही उत्तर दिने जिम्मेवारी पनि चलचित्र विकास बोर्डको नै हो । रहरले सिनेमा सुरु हुन्छ, तर दक्षताले मात्र सिनेमा उत्कृष्ट बन्न सक्छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.