Skip to main content

Suchana Vatika

पश्चिम तराईमा भोलि वर्षाको प्रक्षेपण, गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सबै प्रदेशका तराई र पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

१४ वैशाख, काठमाडौं । कोशीदेखि लुम्बिनीसम्म भएको वर्षाले गर्मीमा राहत दिए पनि लुम्बिनीदेखि पश्चिमका तराई भूभागमा भने अझै उस्तै गर्मी कायम छ । भोलि भने पश्चिम नेपालका तराईका भूभागमा पनि पानी पर्ने र गर्मीमा राहत मिल्ने मौसमविदहरुको प्रक्षेपण छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सबै प्रदेशका तराई र पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । हिमाली भेगमा भने हिउँ वा पानी पर्ने सम्भावना छ ।

मौसमविद बिनु महर्जनले भनिन्, ‘बुधबारदेखि विहीबारभित्र कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आज भने तातो दिन कायम रहने सम्भावना छ । तर भोलि मंगलबारदेखिको वर्षाले शीतल महसुस गराउने छ ।

देशका मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा आइतबार पानी परेको छ, जसका कारण गर्मी केही कम भएको छ । डढेलो र प्रदूषण पनि घटेको छ । तर हावाहुरी र असिनाले भने कतै कतै क्षति पुर्‍याएका विवरणहरु आएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले यो हप्ताभरी बदली र वर्षा हुनेछ ।

गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा

विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा भएको छ ।

सबैभन्दा धेरै मुसिकोटमा ७८.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी आँपचौरमा ४८.४ र बडिगाड रुद्रवेणीमा ३५ र भार्सेमा १८ मिलमिटर वर्षा मापन भएको छ । त्यसैले सो क्षेत्र भएर बग्ने साना नदी तथा खोलाहरुमा बाढी आएको थियो ।

यसैगरी प्युठानको सेउलीबाङमा ४५.६ मिलिमिटर र झापाको केचनामा ४० मिलिमिटर वर्षा मापन भएको छ ।

काठमाडौं उपत्यकामा पनि हिजो पानी परेको थियो । काठमाडौंमा सबैभन्दा धेरै नैकापमा २६.२ मिलिमिटर वर्षा भएको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.