Skip to main content

Suchana Vatika

कांग्रेस – सर्वसम्मत दलको नेता चयन गर्दै

  • नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्न कार्यसम्पादन समितिको बैठक र संसदीय दलको बैठक बोलाएको छ।
  • सभापति गगनकुमार थापाले कार्यसम्पादन समितिको बैठकमा दलको नेताको नाम घोषणा गर्नेछन् र संसदीय दलको बैठकले अनुमोदन गर्ने तयारी छ।
  • संस्थापनइतर समूहले दलको विधान अनुसार सर्वसम्मत वा प्रतिस्पर्धाबाट नेता चयन गर्नुपर्ने भन्दै थापाको घोषणामा आपत्ति जनाएको छ।

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) संसदीय दलको नेता चयन गर्दैछ । त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने भएको छ ।

कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आजको बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन भएको जानकारी दिएका छन् । सहमतिको प्रयास भइरहेको भन्दै कांग्रेसले अझैसम्म पनि दलको नेता चयन गर्न सकेको छैन ।

दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउन निर्वाचन तालिका सार्वजनिक गरिए पनि गत शुक्रबार अन्तिम समयमा स्थगित गरिएको थियो । आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले दलको नेताको नाम घोषणा गर्ने भएका छन् ।

कार्यसम्पादन समिति बैठकमा थापाले घोषणा गरेको नामलाई नै संसदीय दलको बैठकबाट पनि अनुमोदन गराउने तयारी कांग्रेसको छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।

कांग्रेस सहमहामन्त्री एवम् निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ ले कार्यसम्पादन समिति बैठकमा सभापति थापाले घोषणा गर्ने नामलाई प्रक्रिया अघि बढाएर टुंग्याउने जानकारी दिए ।

‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ११ बजे बस्छ । बैठकमा सभापतिले संसदीय दलको विधानको धारा ५ अनुसार नेता घोषणा गर्नुहुन्छ,’ उनले भने, ‘१ बजे सांसदहरूसँग दलको कार्यालयमा बैठक गर्छौं । प्रक्रिया अघि बढाएर टुंगो लगाउँछौं ।’

महामन्त्री गुरूराज घिमिरेले पनि सभापति थापाले कार्यसम्पादन समिति बैठकमा दलको नेताको नाम घोषणा गर्ने बताए । ‘सभापतिजीले अहिलेको समय परिस्थिति, देश र पार्टीका सबै आयामहरू बारे चर्चा गर्दै टुंगो लगाउनुहुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

सभापति थापाले घोषणा गरेको नामलाई निर्वाचन समितिले प्रक्रिया पूरा गरेर टुंग्याउने महामन्त्री घिमिरेको भनाइ छ । ‘निर्वाचन समितिले प्रक्रिया अघि बढाउँछ,’ उनले भने, ‘सहमति हामीले जे गर्छौं, जे भन्छौं त्यसैलाई प्रक्रिया पूरा गरेर टुंग्याउँछौं ।’

संस्थापनइतर समूहको आपत्ति

कांग्रेसले सभापति थापाको घोषणामार्फत् दलको नेता टुंग्याउन खोजेपछि संस्थापनइतर समूहले आपत्ति जनाएको छ । इतर समूहले नेता चयनका लागि दलको विधानमा रहेको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरूले सर्वसम्मत वा प्रतिस्पर्धाको माध्यमबाट सार्वभौम तरिकाले निर्वाचन सम्पन्न गर्ने विषय भएको स्मरण गराएको छ ।

‘यो दशथरिको हुण्डरी मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन । संसदीय दलले अबिलम्ब दल नेताको चयन सम्पन्न गरेर जनता र दुनियाँको नजरमा पार्टीको छविमा हुन थालेको थप क्षतिलाई रोकियोस्,’ निवर्तान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक्समार्फत् भनेका छन्, ‘यस विषयमा पार्टी केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण होस् ।’

उनले दलको नेता छनोट कार्यमा देखिएको अस्वाभाविक ढिलाइ र अन्योल दलको सार्वभौम अधिकारमाथिको ठाडो हस्तक्षेपको परिणाम भएको पनि उल्लेख गरेका छन् । ‘यो कार्य तत्काल बन्द गरियोस् । संसदीय दलका माननीय सदस्यहरूको यसतर्फ गम्भीर ध्यानाकार्षण,’ खड्काले भनेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.