Skip to main content

Suchana Vatika

उत्साहजनक ऊर्जा क्षेत्रमा भएको प्रगति

मन्त्रालयले २०६८ सालयता छोटो अवधिमा नै करिब ६ गुणाले विद्युत् उत्पादनमा वृद्धि भएको उल्लेख गरेको छ ।

  • अर्थ मन्त्रालयले एक दशकमा विद्युत् जडित क्षमता ८ सय २९ मेगावाटबाट ४ हजार ३ सय ४० मेगावाट पुगेको जनाएको छ।
  • नेपालको कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पहुँच पुगेको तर प्रसारणलाइन अभावले चुनौती कायम रहेको उल्लेख छ।
  • सरकारले आगामी ५ वर्षभित्र विद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ।

१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले ऊर्जा क्षेत्रमा भएको प्रगति उत्साहजनक रहेको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ मा एक दशक अवधिमा विद्युत् जडित क्षमता ८ सय २९ मेगावाटबाट बढेर ४ हजार ३ सय ४० पुगेको उल्लेख छ ।

कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पहुँच पुगेको जनाइएको छ । तर, विद्युत् आपूर्ति भइरहने जोखिम विद्यमान रहेको र निर्माणाधीन जलविद्युत् तत्काल उपयोगका लागि समयमा नै प्रसारणलाइन बनाउनुपर्नेमा जोड दिइएको छ ।

मन्त्रालयले २०६८ सालयता छोटो अवधिमा नै करिब ६ गुणाले विद्युत् उत्पादनमा वृद्धि भएको उल्लेख गरेको छ ।

धेरै जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । नेपाल अहिले विद्युत् खुद निर्यात गर्न सक्ने अवस्थामा रहेको तर सुक्खायामका लागि आयातबाट विद्युत् खपतको माग पूरा गर्नुपरेको छ ।

प्रसारणलाइन पहुँच र क्षमता विस्तार हुन नसक्दा निजी उत्पादनको विद्युत् उपभोक्तासम्म पुर्‍याउन चुनौती कायम रहेको जनाइएको छ ।

विद्युत् उपभोग बढाउने र माग तथा आपूर्ति सन्तुलन मिलाउँदै ऊर्जा सुरक्षा कायम राख्न जलाशययुक्त आयोजना एवं सौर्य ऊर्जा उत्पादनमा प्राथमिकता दिनुपर्ने समेत जनाएको छ ।

जलविद्युत्को विशाल सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यात मार्फत स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने अवसर रहेको उल्लेख छ । क्षेत्रीय विद्युत् व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको स्थान सुदृढ गर्ने देखाएको छ ।

विद्युत् उत्पादनमा कुल जडित क्षमता आगामी ५ वर्षभित्र १५ हजार मेगावाटसम्म पुर्‍याउने, राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजना निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने, रणनीतिक महत्त्वका नयाँ आयोजना विकास गर्ने लगायत पूर्वाधार विकासबाट निजी लगानी समेत आकर्षित गरी आर्थिक वृद्धिमा तीव्रता दिने सरकारको भनाइ छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.