Skip to main content

Suchana Vatika

डेढ दर्जन जोगिंदा पक्षपातको गुनासो, सरकारी जग्गा जोगाउँदा गोली खाएका भक्तराजको घरमा पनि चल्यो डोजर

सरकारी जग्गा अतिक्रमण हुनबाट जोगाएवाफत् सरकारबाटै प्राप्त जग्गामा बसेको बताउने बुटवलका भक्तराज बस्नेतसहित ८ जनाको घर भत्काइँदा अरु डेढ दर्जन जोगाइएको छ । यो कार्य पक्षपातपूर्ण भएको पीडितको गुनासो छ ।

  • वैशाख १३ गते रुपन्देही बुटवलस्थित उच्च अदालत अगाडिको अतिक्रमित जग्गा खाली गर्न डोजर लगाइयो तर ८ घर मात्र भत्काइयो।
  • भक्तराज बस्नेतले आफूलाई राजनीतिक पीडित भन्दै उपमहानगरपालिकाको पक्षपातपूर्ण व्यवहार र अन्यायको आरोप लगाएका छन्।
  • उच्च अदालतले सबै संरचना हटाउन निर्देशन दिएको भए पनि स्थानीय निकायले क्रमशः हटाउने निर्णय गरेको उपमहानगर प्रवक्ताले बताए।

२२ वैशाख, बुटवल । यही वैशाख १३ गते रुपन्देहीको बुटवलस्थित उच्च अदालत अगाडिको अतिक्रमित जग्गा खाली गराउने भन्दै डोजर लगाइयो । तर एकै प्लटमा रहेका ८ घर मात्रै भत्काएर अरु डेढ दर्जन बढी घर जोगाइँदा पक्षपात भएको आरोप उपमहानगरपालिकाका जनप्रतिनिधिमाथि लागेको छ ।

बुटवल उपमहानगरले वैशाख १२ गते साँझ अबेर घर खाली गर्न भन्दै  माइकिङ गरेको थियो । त्यतिबेला साविकको कित्ता नंं ३९६ (हाल ७, ८, १२, १३, २, ५, १४ लगायत कित्ता)मा पर्ने २ बिघा ५ कठ्ठा १४ धुर जग्गा भित्र बनेका संरचनाहरु हटाउन भनिएको थियो । त्यसको भोलिपल्ट कित्ता नम्बर १३ मा बनाइएका ८ वटा घर मात्र भत्काइएको थियो ।

घर भत्काउँदा पीडित भएका भनिएकामध्ये भक्तराज बस्नेत पनि एक हुन् । तीन दशक अघि राज्यको जग्गा अतिक्रमण रोक्न भूमिका निर्वाह गरेवाफत् सरकारबाट पाएको जग्गामा घर बनाएर उनी बस्दै आएका थिए । ‘राजनीतिक पीडित’को उपमा पाएका उनको घर पनि बुटवल उपमहानगरपालिकाले भत्काइदियो । तर एउटै प्लटका कुनै घर भत्काउने र कुनै नभत्काउने कदम विभेदपूर्ण भएको बताए ।

उपमहानगरले जारी गरेको सूचना अनुसार कित्ता नं १३ का घरहरु मात्र भत्काइएको र अरु कित्तामा बनेका डेढ दर्जन बढी घरहरु नछोइएको भन्दै बस्नेतले भने, ‘उपमहानगरको यस्तो विभेदपूर्ण व्यवहारले मसहित ८ परिवार अन्यायमा परेका छौं । केही घर मात्रै भत्काउनु र बाँकीलाई जोगाउनुमा उपमहानगर नेतृत्वको पक्षपातपूर्ण र राजनीतिक पूर्वाग्रहपूर्ण व्यवहार हो कि भन्ने आशंका उब्जेको छ ।’

उनले यथेष्ट प्रमाणहरू हुँदाहुँदै पनि अन्यायपूर्ण तरिकाले आफूहरुका घर भत्काइएको तर सोही क्षेत्रमा रहेका पहुँचवालाका अरु घरहरु भने मेयर, उपमेयर र नगर प्रहरीले बचाएको आरोप लगाएका छन् ।

उपमहानगरले खाली गर्न भनी माइकिङ गरेको जग्गा तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको जग्गा हो । उक्त जग्गा पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको थियो ।

अतिक्रमण रोकेवाफत् जग्गा पाएको दाबी

वि.सं. २०४७ सालमा गुल्मीको नयाँगाउँमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने क्रममा तत्कालीन कांग्रेस नेता जयप्रताप मल्लले हानेको गोली लागेर बस्नेत घाइते भएका थिए । आफ्नो शरीर भित्र अहिले पनि गोली रहेको उनी बताउँछन् ।

राज्यको जग्गा अतिक्रमण रोक्न भूमिका निर्वाह गर्दा गोली लागेपछि तत्कालीन सरकारले उनलाई उपचार खर्च र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा २०५२ सालमा सुकुमवासी समस्या समाधान आयोगमार्फत उनले बुटवलमा एक कठ्ठा जग्गा पाएका थिए । सोही जग्गामा घर बनाएर उनी परिवारका सदस्यसहित बसोबास गर्दै आएका थिए ।

उपमहानगरपालिकाले २०७७ सालमा गठन गरेको जग्गा छानबिन उपसमितिले समेत उनलाई ‘राजनीतिक पीडित’का रूपमा उल्लेख गरेको थियो ।

त्यसैले उपमहानगरले भत्काइएका अन्य ७ घर र आफू बसेको जग्गाको प्रकृति फरक रहेको बस्नेत बताउँछन् । तर उपमहानगरपालिकाले एक दिन पनि समय नदिएर आफ्नो घरमा पनि डोजर चलाएको भन्दै उनले गम्भीर आपत्ति जनाए ।

पाकिसकेको खानासमेत खान नदिएको गुनासो

राति करिब ८:३० बजे माइकिङ गरेर सूचना दिइएको र भोलिपल्ट बिहानैबाट घर खाली गराउने तयारी गरिरहेका बेला दुई घण्टा समय माग्दा पनि नदिई डोजर चलाइएको उनको गुनासो छ ।

‘पाकेको खाना खानसमेत नदिई डोजर लगाइयो, हामीले सामान निकाल्न समय माग्दा मेयर, उपमेयर, वडाध्यक्ष र नगर प्रहरी प्रमुख कसैले सुनेनन्,’ बस्नेतले भने । सामान निकाल्न नपाउँदा धेरै धनमाल नोक्सान भएको उनको गुनासो छ ।

खाली गर्न जारी गरिएको सूचनामा उल्लेख भएका अन्य डेढ दर्जन बढी घर भने अहिलेसम्म नभत्काइएको बताउँदै उनले भने, ‘मलाई र मेरो नजिक घर रहेकालाई नै लक्षित गरेर भत्काएको जस्तो देखिन्छ, नत्र अन्य घर किन बाँकी राखियो ?’ उनले प्रश्न गरे ।

सरकारी निर्णयका आधारमा प्राप्त जग्गामा बसेको भन्दै उनले आफूले अतिक्रमण नगरेको बताए उनले राज्यले आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।

बस्नेतले यस विषयमा निष्पक्ष छानबिन गरी न्याय दिलाउन पत्रकार र सरोकारवाला निकायसँग पुन: सहयोगको अपेक्षा गरेका छन् । आफूमाथि गरिएको अन्यायका विरुद्ध कानूनी लडाइँका लागि अदालत जाने बस्नेतले बताए ।

बस्नेतलाई घरमा रहेका सामान निकाल्न दुई घन्टा पनि समय नदिएका बुटवलका जनप्रतिनिधिले आइतबार सुकुमवासीको सभामा पुगेर घर भत्काउन संघीय सरकारले दिएको निर्देशन नमान्ने अभिव्यक्ति दिएपछि बस्नेत थप आक्रोशित भएका छन् ।

‘हामीलाई सामान निकाल्न २ घण्टा समय दिनुस् भन्दा भन्दा नसुनेर सिधै डोजर चलाइयो तर अहिले मेयर–उपमेयरले सुकुमवासीको भेलामा गएर हामीहरू तपाईंको पक्षमा छौं, बस्ती हटाउंदैनौं भन्नुभएको छ,’ बस्नेतले भने, ‘उहाँहरुकै व्यवहारले हामी ८ परिवारमाथि सिधै प्रतिशोध साधेको देखियो ।’

पक्षपात नभएको दाबी

संघीय सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउन सुरु गरेपछि स्थानीय सरकारहरू पनि अतिक्रमित जग्गा संरक्षणको नाममा बस्ती भत्काउन थालेका थिए । उक्त सरकारी जग्गामा बसेको बस्ती हटाउन २०७० सालमै स्थानीय तिलोत्तमा दैनिकमा सूचना जारी गरिएको थियो । तर बस्ती हटेको थिएन । त्यहाँ बनेका टहरा अधिकांश चिया पसल र रेष्टुरेन्ट थिए ।

उच्च अदालत तुल्सीपुर बुटवल इजलासका सूचना अधिकारी धिरेन्द्रकुमार सुवेदीले अदालतले साविक ३९६ कित्ता अन्तर्गत २ बिघा ५ कठ्ठा १४ धुरमा बनेका सबै संरचना हटाउन जिल्ला प्रशासन र उपमहानगरलाई पत्राचार गरेको बताए । ‘हामीले साविक ३९६ कित्ता अन्तर्गतका सबै संरचनाहरु हटाउन भनेका हौं तर जिल्ला प्रशासन, बुटवल उपमहानगर लगायत सम्बन्धित सरकारी निकायका प्रतिनिधिको बैशाख ९ गतेको बैठकले शुरुमा कित्ता नं १३ मा बनेका संरचना खाली गर्ने र बाँकी क्रमश: खाली गराउने निर्णय भएको हुँदा बाँकी सरंचना कहिले हटाइन्छ भन्न सकिँदैन,’ सुवेदीले भने ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले नहटाइएका संरचना आवश्यकताका आधारमा क्रमश: हटाउन सकिने बताए । उनले केही घर मात्र हटाउने र केही नहटाइनुमा कुनै पक्षपात र राजनीतिक पक्षधरता नरहेको दाबी गरे ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.