Skip to main content

Suchana Vatika

सिंहलाई जिम्मेवारी, जनमतले मधेश संसदीय दलको नेता यादवलाई हटायो

२२ वैशाख, काठमाडौं । जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाएको छ । उनको सट्टा चन्दन कुमार सिंहलाई संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ ।

यो जानकारी जनमत पार्टीका अध्यक्ष सीके राउतले विज्ञप्तिमार्फत् दिएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेताको रुपमा श्री चन्दनकुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौं ।’

सिंह प्रमुख सचेतकको जिम्मेवारीमा थिए । उनी पार्टी महासचिव समेत हुन् ।

मधेशमा वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा जनमत भित्र विवाद छ ।

सिंहको नेतृत्वमा जनमतका बहुमत प्रदेश सांसदहरूले हिजो मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि नेता यादवले समर्थन कायमै रहेको पत्र बुझाएका थिए ।

हिजो जनमत पार्टीका ९ जना सांसदहरूले सरकारको समर्थन फिर्ता लिएको पत्र पठाएका थिए । सि‌ंहका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँगको सल्लाहमा पार्टी संसदीय दलका बहुमत सदस्यले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो ।

प्रदेश सभामा जनमत पार्टीका हाल १२ जना सदस्य छन् । ती मध्ये बबिताकुमारी राउत उपसभामुख छिन् । जनमत पार्टीबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा युवा तथा समाजकल्याण मन्त्री छन् ।

मधेशमा एमाले बाहेक सबै दल मिलेर सरकार बनेको छ । जनमत पार्टीका सांसदहरूको यो निर्णयसँगै कांग्रेस नेतृत्वको सरकारको विकल्पमा वैकल्पिक गठबन्धन बन्न खोजेको संकेत देखा परेको छ ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ जना चाहिन्छ । प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १२, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक-एक सिट रहेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.