काठमाडौँ । नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरूमाथि कडा कदम चाल्दै ५ वटा भ्रातृ संघका अध्यक्ष हटाउने र केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको छ। सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार तोकिएको समयभित्र महाधिवेशन गर्न नसकेका र निकट भविष्यमा पनि अधिवेशन हुने सम्भावना नदेखिएका भ्रातृ संघका नेतृत्वमाथि कारबाही गरिएको हो। पार्टीले यसअघि नै कार्यतालिका तोकेर महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको भए पनि अधिकांश संगठनले त्यसको पालना नगरेपछि म्याद थपिरहनु आवश्यक नरहेको निष्कर्ष निकालिएको बताइएको छ।
निर्णयअनुसार तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ र लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष हटाइएका छन् भने ती संगठनका केन्द्रीय समितिहरू पनि विघटन गरिएका छन्। सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार यी संगठनले पटक–पटक समय दिँदा पनि महाधिवेशन गर्न नसकेको पाइएपछि यस्तो निर्णय गरिएको हो।
यीमध्ये तरुण दलका अध्यक्ष विद्वान गुरुङ र नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले यसअघि नै पदबाट राजीनामा दिइसकेका थिए। उनीहरूका समितिहरू तदर्थ अवस्थामै रहेकाले स्वतः विघटनको अवस्थामा पुगेका थिए। अन्य संगठनहरूमा भने पार्टीले औपचारिक रूपमा नेतृत्व परिवर्तनको निर्णय गरेको हो।
कांग्रेसले यसअघि २०८१ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। त्यसपछि पनि केही संगठनले कार्यतालिका पेश गरेपछि अन्तिम पटक भन्दै समय थप गरिएको थियो। तर उक्त समयसीमाभित्र पनि अधिवेशन सम्पन्न नभएपछि पार्टी नेतृत्वले कडा कदम चाल्न बाध्य भएको जनाएको छ।
अब ती भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पार्टी सभापति गगन थापालाई दिइएको छ। पार्टी विधानअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिने बताइएको छ।
महामन्त्री प्रदीप पौडेलले भ्रातृ संगठनलाई व्यवस्थित, प्रभावकारी र विचारगत रूपमा सशक्त बनाउन यो निर्णय गरिएको स्पष्ट पारे। उनका अनुसार अब संगठनहरूलाई पुनर्गठन गर्दै सुदृढ बनाउने दिशामा पार्टी अघि बढ्नेछ।
यो निर्णयसँगै नेपाली कांग्रेसभित्र आन्तरिक संगठन सुधारको प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ भने आगामी दिनमा यसको प्रभाव पार्टी संरचना र गतिविधिमा देखिने विश्वास गरिएको छ।