Skip to main content

Suchana Vatika

प्रहरीले दिएन पूर्वजानकार, धनगढीका मेयर नपुग्दै कुटिएको थियो वडा सदस्यको परिवार

बाजुराको लाम्पाटा क्षेत्रमा सीमा विवादका कारण धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई स्थानीयले ढुंगामुढा गरी रोक्न पुगेका थिए।
हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र उनको परिवारलाई प्रहरी चौकी निर्माणका कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ।
धनगढी टोलीलाई साइपाल रानीसैन बेसक्याम्प जान सुरक्षा निकायले पूर्व जानकारी नदिँदा टोली आक्रमणमा परेको र पछि संयमता अपनाएर फर्किएको छ।

७ जेठ, धनगढी । बाजुरामा सीमा विवादको विषयलाई लिएर आक्रोशित समूहले ढुंगामुढा गरेपछि पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्पतर्फ हिँडेको टोली फर्किएको छ ।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प गइरहको थियो ।

तर, बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा एक समूहले मेयर हमाल नेतृत्वको टोलीलाई अघि बढ्न दिएन । ढुंगामुढा गर्दै उनीहरु आक्रमणमा उत्रिएपछि पर्यटन प्रवर्द्धनका लागि पुगेका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाले भागेर ज्यान जोगाए ।

झन्डै तीन सयको संख्यामा रहेका हुम्लाको खार्पुुनाथ गाउँपालिका–२ थालीका स्थानीयले ढुुंगामुढा गरेपछि भ्रमणमा हिँडेकाहरु भागिरहेको दृष्य सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ ।

थालीका बासिन्दाले विगतदेखि नै लाम्पाटा क्षेत्रमा दाबी गर्दै आएका थिए ।  सोही कारण त्यहाँ विवाद थियो ।

सुदूूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेपछि थप विवाद बढेको थियो । कुनै पनि हालतमा प्रहरी चौकी निर्माण गर्न नदिने अडानमा खार्पुनाथका बासिन्दा थिए । धनगढीबाट टोली आउँदैछ भन्ने थाहा पाएपछि स्थानीयबासिन्दा त्यहाँ जम्मा भएको पाइएको छ ।

वडा सदस्यको परिवारमाथि मरणासन्न हुनेगरी कुटपिट

हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका थिए । त्यसपछि उनी हुम्लाको खार्पुनाथको थाली गाउँको नजरमा परे ।

लाम्पाटा क्षेत्र आफ्नो दाबी गर्दै आएका थालीपासीको योजनामा गुरुङको परिवारमाथि आक्रमण गरिएको स्थानीय बताउँछन् ।

२ जेठदेखि नै दुई जिल्लाको सीमामा पर्ने लाम्पाटास्थित वडा सदस्यको घरमा उनीहरु जम्मा भएका थिए । प्रहरी चौकी बनाउन जग्गा दिएको निहुँमा उनीहरुले ३ जेठमा गुरुङको घरमा आक्रमण गरेका थिए । गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङलाई घरमै कुटपिट गरिएको थियो ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा सदस्यको परिवारमाथि कुटपिट गर्दै घर कब्जा गरी लुटपाट समेत गरेको पाइएको बताए ।

सोही क्रममा हिमालीका प्रमुुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि पनि आक्रमण भएको उनी बताउँछन् । तर, सञ्चार सम्पर्क नभएका कारण त्यहाँको वस्तुस्थितिबारे यथेष्ट सूचना प्राप्त गर्न सकिएको थिएन ।

धनगढीका मेयर हमालसहितको टोलीलाई साइपाल लैजान सहजीकरण गरेका अध्यक्ष मल्लले प्रहरी प्रशासनले समेत पर्याप्त सूचना नदिएपछि दोस्रो आक्रमणको स्थिति बनेको सुनाए ।

‘त्यहाँ पहिले नै वडा सदस्यको परिवारलाई कुटपिट गरेर हुुम्लाको खार्पुुनाथका स्थानीयले नियन्त्रणमा लिइसकेका रहेछन् । जिल्लाका प्रहरी प्रमुखलाई बुझ्दा घटना समान्य हो । साम्य भइसक्यो भन्नुभयो,’ अध्यक्ष मल्लले अनलाइनखबरसँग भने, ‘त्यसपछि धनगढीको टोली अघि बढेको हो । तर त्यहाँ पुग्दा अवस्था अर्कै देखियो । बल्लतल्ल ज्यान जोगाएर फर्कियौँ ।’

उनका भनाइमा लाम्पाटा पुुगेपछि मात्र वडा सदस्यको परिवारलाई मरणासन्न हुने गरी कुटपिट भएको थाहा भएको थियो । धनगढीको टोली पुगेपछि मात्र उनीहरु आक्रोशित समूहको नियन्त्रणबाट मुुक्त भएका थिए ।

ड्रोन उडाएका कारण आक्रमण भएको हो ?

जिल्ला प्रहरी कार्यालय बाजुराले पठाएको विवरणमा धनगढी उपमहानगरपालिकाको टोलीले लाम्पाटामा ड्रोन उडाएर भिडियो खिच्ने क्रममा वादविवादपछि आक्रमणको घटना भएको उल्लेख छ ।

जबकी धनगढीको पर्यटन प्रवर्द्धनको टोली नपुुग्दै वडा सदस्यलगायतमाथि कुटपिट गरिएको थियो । तर, ड्रोन उडाएको विषय नभएर विगतदेखिको सीमा विवाद र योजनाअनुसार नै आक्रमणको घटना भएको पालिका अध्यक्ष मल्ल बताउँछन् ।

हिमाली गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी समेत रानीसैन बहस कार्यक्रम आयोजना गर्न साइपालको रानीसैन जाँदै थिए । उनीहरुसँगै जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया पनि थिए ।

अघिअघि हिमाली गाउँपालिकाको टोली र पछिपछि धनगढीबाट गएको टोली थियो । धनगढीबाट गएको टोली घटना भएको ठाउँसम्म पुग्न नपाएको खुलेको छ तर खार्पुनाथबाट आएको स्थानीय समूहले हिमाली गाउँपालिकाको टोलीलाई आक्रमण गर्दै उनीहरु भएको ठाउँसम्म लखेटेको थियो ।

प्रहरीले दिएन पूर्वजानकारी

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले लाम्पाटामा स्थानीयबीच सीमा विवादको विषयमा द्वन्द्व रहेको र कुटपिटको घटनाबारे पूर्व जानकारी नभएको बताएका छन् ।

लाम्पाटाको फेदतिर पुुग्ने बेला मात्र वडा सदस्यसहितमाथि कुटपिट भएको कुरा थाहा पाएको बताउँदै त्यसपछि माथितिर नगएको हमालले जानकारी दिए ।

तर, हिमालीका अध्यक्षसहितलाई लखेट्दै आफूहरु भएको ठाउँसम्म पुगाएको उनी बताउँछन् । ‘त्यहाँ स्थानीयबीच द्वन्द्व छ भन्ने थाहा भएको भए हामी जादैनौँ थियौँ । त्यो कुरा थाहा पाएनौँ,’ हमालले भने, ‘वडा सदस्यलाई कुटपिट गरेको थाहा पाएपछि हामी डाँडा चढेनौँ । हिमालीको अध्यक्षमाथि आक्रमण हुन थालेपछि उहाँ दौडिँदै तल आइपुग्नुुभयो । आक्रोशित समूहले काठे पुल पनि भत्काइदिए । त्यसपछि हामी पनि फर्कियौँ ।’ तर ड्रोन उडाएका कारण घटना नभएको हमालले बताए ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर धनगढीका मेयरसहितको टोली ३१ वैशाखमा साइपाल बेस क्याम्प रानीसैनतर्फ हिँडेको थियो । भ्रमण तालिकाबारे २९ बैशाखमै बाजुराका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिइएको थियो ।

तर, रानीसैन हिँडेको मेयरसहितको टोलीलाई सुरक्षा निकायले लाम्पाटामा भएको घटनाबारे जानकारी नदिएकै कारण उनीहरु समेत आक्रमण र दुुर्व्यवहारमा परेको पाइएको छ ।

धनगढी र बाजुराको हिमाली गाउँपालिकाको भ्रमण टोली संयमता अपनाउँदै फिर्ता भएपछि दोहोरो घटना हुन पाएन ।

हिमाली गाउँपालिकाको गुम्बा पुगेपछि मेयर हमालले प्रमुख जिल्ला अधिकारी र गृह सचिव सम्पर्क गरेर त्यहाँको घटनाबारे जानकारी गराउँदै घाइतेको तत्काल उद्धार गर्न ध्यानाकर्षण गराएका थिए । त्यसपछि ३ जेठमा मरणासन्न हुने गरी कुटिएका वडा सदस्यसहितलाई सरकारले हेलीकोप्टरमार्फत बुुधबार मात्र उद्धार गरेको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.