Skip to main content

Suchana Vatika

कमल थापाले पोखे असन्तुष्टि, राप्रपा नेपाल एकतापछिको समायोजन अलपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता भएको पाँच महिना बितिसक्दा पनि सांगठनिक समायोजन नहुँदा नेता कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्।
थापाले पार्टी एकताको पाँच महिनासम्म भातृ संगठनहरूको एकीकरण अलपत्र परेको र निर्वाचन आयोगमा समेत एकताको औपचारिक पत्र पठाउन नसकिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एकतालगत्तै निर्वाचनमा होमिनु परेका कारण केही ढिलाइ भएको स्वीकार गर्दै समायोजनको काम प्रक्रियामा रहेको र जेठ १ गतेको बैठकले जिम्मेवारी तोकिसकेको बताएका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबिच एकता भएको पाँच महिना बित्न लाग्दा समेत सांगठनिक समायोजनको काम अघि नबढेको भन्दै नेता कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्। 

देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत पुस १६ गते दुई पार्टीबीच एकता भए पनि हालसम्म केन्द्रीय र स्थानीय तहमा समायोजन हुन नसकेको भन्दै उनले अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता थापाले पार्टी एकता भएको लामो समय भइसक्दा पनि भातृ सङ्गठनहरूको एकीकरण अलपत्र परेको र निर्वाचन आयोगमा समेत पार्टी एकताको औपचारिक पत्र पठाउन नसकिएको बताएका छन् ।

यस ढिलाइले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको उनको तर्क छ। मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन् टड्कारो बन्दै गएको उल्लेख गर्दै थापाले एकताका बेला तय गरिएको अवधारणापत्र अनुसार अविलम्ब समायोजन प्रक्रिया टुङ्ग्याउन माग गरेका छन् ।

थापाको यस अभिव्यक्ति सार्वजनिक भएलगत्तै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमार्फत नै त्यसको स्पष्टीकरण दिएका छन्। प्रवक्ता श्रेष्ठले पार्टी एकतालगत्तै निर्वाचनमा होमिनु परेका कारण केही ढिलाइ भएको स्वीकार गर्दै समायोजनको काम रोकिएको नभई प्रक्रियामा रहेको बताए। उनका अनुसार हालसम्म राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा राप्रपा नेपालबाट ७ जनाको समायोजन भइसकेको छ।

बाँकी रहेका निकायहरूको समायोजन कार्यलाई टुङ्गो लगाउन गत जेठ १ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिम्मेवारी समेत तोकिसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार यसका लागि राप्रपाबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र तत्कालीन राप्रपा नेपालबाट नेता राजीब पराजुलीलाई जिम्मेवारी दिइएको छ। प्रवक्ता श्रेष्ठले समायोजन रोक्ने वा ढिला गर्ने कुनै मनसाय नभएको स्पष्ट पार्दै उच्च मनोबलका साथ पार्टीको नियमित काम र अधिवेशनमा जुट्न नेता(कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.