Skip to main content

Suchana Vatika

१० वर्षमा २६ सय ५८ बालबालिकाको उद्धार : सडक बालबालिका मुक्त नेपाल अभियान

सरकारले सञ्चालन गरेको ‘सडक बालबालिका मुक्त नेपाल’ अभियान अन्तर्गत पछिल्लो १० वर्षमा २ हजार ६ सय ५८ जना सडक बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ।
उद्धार गरिएका बालबालिकाहरू मध्ये ८५ प्रतिशत बालक र १५ प्रतिशत बालिका रहेका छन्।
राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र स्थानीय तहहरूको सहयोगमा सञ्चालित यो अभियान अन्तर्गत बालबालिकाहरूलाई संरक्षण गृहहरूमा शिक्षा, स्वास्थ्य र सामाजिकीकरणको व्यवस्था गरिएको छ।

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘सडक बालबालिका मुक्त नेपाल’ बनाउने अभियान अन्तर्गत पछिल्लो १० वर्षमा २ हजार ६ सय भन्दा बढी बालबालिकाको उद्धार गरिएको छ।

सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०७३ वैशाख २७ देखि २०८२ फागुनसम्म कुल २ हजार ६ सय ५८ जना सडक बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ।

उद्धार गरिएका कुल बालबालिकाहरूमा बालकको संख्या उल्लेख्य देखिएको छ । प्रतिवेदन अनुसार उद्धार गरिएका मध्ये बालक २,२५८ जना (८५ प्रतिशत) र बालिका ४०० जना (१५ प्रतिशत) रहेका छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (फागुनसम्म) मा मात्रै १०५ जना बालबालिकाको उद्धार गरिएको छ। जसमा ६९ जना बालक र ३६ जना बालिका रहेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा २०४ जना र आर्थिक वर्ष २०८०/८१ मा २३५ जना सडक बालबालिकाको उद्धार गरिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र स्थानीय तहहरूको सहयोगमा यो अभियान सञ्चालन भइरहेको छ। उद्धार गरिएका बालबालिकाहरूलाई सरकारले विभिन्न संरक्षण गृहहरूमा राखेर शिक्षा, स्वास्थ्य र सामाजिकीकरणको व्यवस्था गर्दै आएको छ।

हाल ७५३ स्थानीय तहमध्ये ३९४ तहमा स्थानीय बाल अधिकार समिति गठन भई सञ्चालनमा आइसकेका छन्। यस्तै, ३१० स्थानीय तहले ’स्थानीय बाल कोष’ समेत स्थापना गरेका छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.