Skip to main content

Suchana Vatika

माधव नेपाल : हामी टाउको लुकाएर भाग्नुपर्ने अवस्था छैन

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरूसामु टाउको लुकाएर हिँड्नुपर्ने अवस्था आफ्नो पार्टीको नरहेको जिकिर गरेका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सिटलाई ‘सुनामी’ को संज्ञा दिँदै यसका पछाडिका कारणहरू खोजी भइरहेको बताए।
नेपालले वि.सं. २०४७ को संविधान निर्माणदेखि नै महिला र दलितको उपस्थिति अनिवार्य गराउन आफूहरूले पहल गरेको दाबी गरे।

१६ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरूसामु टाउकु लुकाएर हिंड्नुपर्ने अवस्था आफ्नो पार्टीको नरहेको जिकिर गरेका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई निजक सिटलाई सुनामीको संज्ञा समेत दिए । यसको पछाडिका कारणहरू अहिले खोजी भइरहेको उनको भनाइ छ ।

‘विरोधीहरू आक्रामक, हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन । केही आवश्यकता छैन भाग्नुपर्ने । यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो यो । यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ । बेला–वखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेले,’ उनले अघि भने, ‘के–के हो ? सेनाको भूमिका कस्तो रह्यो ? सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने पनि छ ।’

नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख उनले सम्बोधनको क्रममा गरे ।

‘चाहे राष्ट्रपति होस् उपराष्ट्रपति होस्, चाहे त्यो जुनसुकै राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रमुख सभामुख उपसभामुख होस्, यी सबै ठाउँहरूमा पनि महिलाहरूको पनि उपस्थिति अनिवार्य हुनुपर्दछ भनेर हामीले व्यवस्था पनि गरेका छौँ । त्यसैले यी सबै कुरा यी अहिले जितेका पार्टीका मान्छेलाई सोध्नुस् त थाहा छ उनीहरूलाई ? उनीहरूले कुनै भूमिका खेलेका छन् ? त्यो बेलामा भूमिका खेल्ने को हुन् ?,’ उनको प्रश्न छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.