Suchana Vatika

विश्वास गर्ने कि डराउने : आयुर्वेदिक औषधि

एकथरी मानिस आयुर्वेदिक हो भने शतप्रतिशत सुरक्षित हुन्छ भनेर जथाभावी प्रयोग गर्छन् । अर्काथरी भने यसले शरीर बिगार्छ भनेर पूर्ण रूपमा डराउँछन् ।

धातु र खनिज प्रशोधन गरी बनाइने आयुर्वेदिक रस औषधि अत्यन्त शक्तिशाली हुने भएकाले यसलाई उचित शोधन गरेर मात्र प्रयोग गर्नुपर्छ ।चिकित्सकको सल्लाहविना आफैं आयुर्वेदिक औषधि किनेर सेवन गर्दा शरीरमा विभिन्न जटिल समस्याहरू आउन सक्छन् ।

आयुर्वेदिक औषधिलाई लिएर अहिले समाजमा दुईथरी धारणा सुनिन्छन् । एकातिर यस्ता औषधिलाई प्राकृतिक र प्रभावकारी उपचारको रूपमा हेरिन्छ भने अर्कोतिर यी औषधिले कलेजो र मिर्गौला जस्ता अंगमा असर गर्न सक्छ भन्ने आशंका पनि गरिन्छ ।

विशेषगरी यस्ता औषधिमा प्रयोग गरिने पारा, गन्धक, धातु र खनिज प्रयोग हुने ‘रस औषधि’ बेला–बेला विवादको केन्द्रमा पर्ने गरेको छ ।

सामाजिक सञ्जालमा ‘१०० प्रतिशत निको हुने’ दाबीहरू पनि देखिन्छन् । तर आयुर्वेद चिकित्सकहरूका अनुसार रस औषधि सामान्य जडीबुटीजस्तो होइन, यसलाई निश्चित विधि र जटिल प्रक्रियाबाट तयार गरिन्छ ।

शोधन र मारणजस्ता प्रक्रिया पूरा गरेपछि मात्रै धातु तथा खनिज औषधिको रूपमा प्रयोग गरिने र विधिपूर्वक खाँदा यसका भरपूर फाइदा भएको उनीहरू दावी गर्छन् ।

आयुर्वेदिक औषधि कसरी बनाइन्छ ? कुन–कुन समस्यामा प्रयोग गरिन्छ ? के यी स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ ? किन विशेषज्ञको सल्लाहबिना औषधि सेवन नगर्न चिकित्सकहरू चेतावनी दिन्छन् ?

यिनै विषयमा आयुर्वेदिक चिकित्सक तथा उप–प्राध्यापक साहारा श्रेष्ठसँग गरिएको कुराकानी:

आयुर्वेदमा रस औषधि वा रसशास्त्र भनेर केलाई बुझाउँछ ?

रसशास्त्र आयुर्वेदको एक अत्यन्त महत्वपूर्ण र प्राचीन विधा हो । यो मुख्य रूपमा धातु, खनिज, पारा, गन्धक र केही विषाक्त पदार्थलाई औषधिका रूपमा प्रयोग गर्ने विज्ञान हो ।सामान्य आयुर्वेदिक औषधि (काष्ठ औषधि) जडीबुटीबाट बनेका हुन्छन् भने रस औषधि धातु र खनिजबाट तयार पारिन्छ।

रसशास्त्रको मुख्य सिद्धान्त कच्चा धातु वा खनिज विषलाई उचित शोधन गरेपछि त्यही पदार्थलाई शक्तिशाली औषधिमा परिवतर्न गर्नु हो । रसौषधि (पारा, गन्धक, अभ्रक, स्वर्ण, रजत, तामालगायतका पदार्थको) विभिन्न जडीबुटी, दूध, गोमूत्र, काढा लगायतमा पटक–पटक प्रशोधन गरी शोधन गरिन्छ।

शोधनका विभिन्न विधि छन् र उचित विधिको प्रयोगले तिनको विषाक्तता हटाउँछ र शरीरमा सजिलै अवशोषित हुने बनाउँछ । रस औषधि अत्यन्त शक्तिशाली हुन्छन् । यसले थोरै मात्रामा पनि छिटो प्रभाव पार्छ ।

‘रस औषधि’ र ‘काष्ठ औषधि’ बीचको भिन्नता के हो ? के के पर्छन् ?

काष्ठ औषधि भनेको जडीबुटी, वनस्पतिबाट बनेका औषधि हुन् । जस्तै, त्रिफला, अश्वगन्धा, ब्राह्मी, चूर्ण, काढा आदि । यी धेरै मानिसमा परिचित पनि छन् । तर रस औषधि अलि फरक र जटिल हुन्छ । यसमा औषधिको उचित परियोजना गरी धातु, खनिज र केही विष वर्गका पदार्थ आदि प्रयोग गरीएको हुन्छ । पारा, गन्धक, स्वर्ण, रजत, अभ्रक, फलाम आदि जस्ता सामग्री यसमा पर्न सक्छन् ।

यही कारण मानिसहरू रस औषधिलाई लिएर डराउने गर्छन् । ‘धातु खाएर शरीर बिग्रिँदैन ?’, ‘मर्करीले कलेजो बिगार्दैन ?’ भन्ने प्रश्न धेरै आउँछन् । तर आयुर्वेदमा यी पदार्थ सिधै प्रयोग गरिँदैनन् । त्यसलाई शोधन र संस्कार गरेर मात्र औषधिका रूपमा प्रयोग गरिन्छ ।

समस्या कहाँ आउँछ भने बजारमा पाइने सबै उत्पादनको गुणस्तर समान हुँदैन । त्यसैले, चिकित्सकको निगरानी र विश्वसनीय उत्पादन मात्रै प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ ।

पारा वा हेभी मेटल प्रयोग हुने औषधि सुरक्षित छ भन्ने आधार के हो ?

वास्तवमा आयुर्वेदमा प्रयोग हुने धातु वा विष वर्गका पदार्थ कच्चा रूपमा प्रयोग गरिँदैनन् । त्यसको एउटा विस्तृत ‘शोधन प्रक्रिया’ हुन्छ । शोधन भनेको पदार्थको विषाक्तता कम गर्ने र शरीरलाई उपयोगी चिकित्सकीय गुण राखी प्रयोग गर्ने प्रक्रिया हो । उदाहरणका लागि पारा, गन्धक वा अन्य धातुलाई विभिन्न जडीबुटी, काढा, दूध, गोमूत्र वा अन्य माध्यममा पटक–पटक प्रशोधन गरिन्छ ।

रसशास्त्रमा स्पष्ट भनिएको छ, ‘अशोधित पदार्थ विष हो, शोधित पदार्थ औषधि हो ।’

तर यहाँ अर्को महत्त्वपूर्ण कुरा के हो भने सही तरिकाले बनाइएको औषधि र गलत तरिकाले बनाइएको औषधिबीच धेरै फरक हुन्छ । यदि शोधन प्रक्रिया ठीकसँग भएन भने समस्या आउन सक्छ ।

अहिले डर बढ्नुको अर्को कारण भनेको मानिसहरूले आफैं औषधि प्रयोग गर्नु पनि हो । रसऔषधि र रसायनको निम्ति क्षेत्रीकरण नगरी खान नमिल्ने हुन सक्छ । जथाभावी रस औषधि लामो समयसम्म लगातार खानु हुँदैन । मात्रा, अवधि, बिरामीको अवस्था र शरीरको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ । यही सावधानी नअपनाउँदा खराब इफेक्ट देखिन सक्छ ।

‘क्षेत्रीकरण’ भनेको के हो ? सुरु गर्नुअघि किन ‘क्षेत्रीकरण’ आवश्यक छ ?

आयुर्वेदमा रसायन र रसौषधि दिनुभन्दा पहिले शरीरलाई तयार बनाउने अवधारणा छ । यसलाई ‘क्षेत्रीकरण’ भनिन्छ । आयुर्वेद अनुसार शरीरमा ‘आम’ भन्ने अपचित विषाक्त पदार्थ जम्मा हुन सक्छ । जब खाना राम्रोसँग पच्दैन, त्यसको केही भाग शरीरमा रहिरहन्छ र दीर्घकालमा रोगको कारण बन्न सक्छ ।

यदि शरीरमा धेरै ‘आम’ छ भने औषधिले राम्रोसँग काम नगर्न सक्छ भन्ने मान्यता छ । त्यसैले, रस औषधि सुरु गर्नुअघि शरीरलाई रसायन र रसौषधि शोषण गर्न योग्य बनाउने प्रक्रिया गरिन्छ ।

यसका लागि पञ्चकर्म, विरेचन, वमन, आमपाचनजस्ता प्रक्रिया प्रयोग गरिन्छ । रोगीको अवस्था अनुसार उचित क्षेत्रिकरण विधिको प्रक्रियाबाट पनि शरीरलाई औषधि ग्रहण गर्न तयार बनाउने प्रयास गरिन्छ । तर अहिले धेरै मानिसले यी प्रक्रिया नगरी सिधै औषधि सुरु गर्छन् । त्यसपछि अपेक्षित परिणाम नआउने सम्भावना हुन्छ ।

आयुर्वेदमा ‘अनुपान’ र ‘पथ्य–अपथ्य’ भनिएको के हो ? यसलाई किन यति महत्वपूर्ण मानिन्छ ?

आयुर्वेदमा औषधि मात्र होइन, औषधि कसरी र कुन माध्यमसँग खाने भन्ने पनि महत्त्वपूर्ण हुन्छ । यसलाई ‘अनुपान’ भनिन्छ । जस्तै, कुनै औषधि महसँग, कुनै अदुवाको रससँग, कुनै दूधसँग, कुनै पानको पातसँग खान भनिएको हुन्छ ।

यसले औषधिको प्रभाव र शरीरले त्यसलाई ग्रहण गर्ने प्रक्रियामा फरक पार्छ । त्यस्तै, पथ्य–अपथ्य पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ । केही खानेकुरा औषधिको प्रभावसँग मेल नखान सक्छन् ।

त्यसैले, नुनिलो खाना, केही दाल, गेडागुडी, तारेको खाना, मदिरा आदि बार्न भनिन्छ । आजभोलि धेरै मानिस औषधि त खान्छन्, तर खानपान र जीवनशैलीमा ध्यान दिँदैनन् । त्यसपछि ‘औषधिले काम गरेन’ भन्ने गुनासो आउँछ । आयुर्वेदमा उपचार भनेको औषधि मात्र होइन, सम्पूर्ण जीवनशैली व्यवस्थापन पनि हो ।

अहिले आयुर्वेदिक औषधिलाई लिएर समाजमा सबैभन्दा ठूलो भ्रम र समस्या के देख्नुहुन्छ ?

अहिलेको सबैभन्दा ठूलो समस्या भनेको आयुर्वेदलाई लिएर दुईवटा अतिवादी धारणा बन्नु हो । एकथरी मानिस ‘आयुर्वेदिक हो भने शतप्रतिशत सुरक्षित हुन्छ’ भनेर जथाभावी प्रयोग गर्छन् । अर्काथरी भने ‘यसमा पारा र हेभी मेटल हुन्छ, शरीर बिगार्छ’ भनेर पूर्ण रूपमा डराउँछन् । वास्तविकता यी दुईको बीचमा छ ।

नेपालमा पनि आयुर्वेदिक औषधि उत्पादन हुन्छन्, तर विशेषगरी रस औषधि अझै धेरै बाहिरबाट आउने गर्छन् । रस औषधिमा पारा, गन्धक, अभ्रक, स्वर्ण, रजतजस्ता धातु र खनिज प्रयोग हुने भएकाले मानिसहरूमा शंका हुनु स्वाभाविक पनि हो । अहिले ‘मर्करी पोइजनिङ’ र ‘हेभी मेटल टक्सिसिटी’ को कुरा धेरै उठ्ने भएकाले डर झन् बढेको छ ।

तर समस्या औषधिमा मात्र छैन, प्रयोग गर्ने तरिकामा पनि छ । अहिले धेरै मानिसले चिकित्सकको सल्लाहबिना आफैं औषधि किनेर खाने चलन बढाएका छन् ।

कसैले युट्युब हेरेर खान्छन्, कसैले ‘पहिले खाएको थिएँ, राम्रो भएको थियो’ भनेर फेरि खान्छन् । रस औषधि भनेको सामान्य जडीबुटी होइन, यो अत्यन्त शक्तिशाली औषधि हो । त्यसैले, सही चिकित्सकीय निगरानी अत्यन्त आवश्यक हुन्छ ।

अहिले मानिसहरू आफैं औषधि किनेर खाने प्रवृत्ति कत्तिको जोखिमपूर्ण छ ?

यो निकै ठूलो समस्या बनिरहेको छ । अहिले सामाजिक सञ्जाल र विज्ञापनको प्रभावले धेरै मानिसले चिकित्सकसँग परामर्श नगरी औषधि खाने गरेका छन् ।

विशेषगरी रस औषधिमा यस्तो गर्नु जोखिमपूर्ण हुन सक्छ । किनकि, सबै बिरामीको शरीर, रोगको अवस्था र प्रकृति एउटै हुँदैन । कसैलाई वात बढी हुन्छ, कसैलाई पित्त, कसैलाई कफ । एउटै रोग भए पनि औषधि फरक हुन सक्छ ।

यही कारणले गर्दा कतिपयले ‘यो औषधिले फलानोको सुगर ठीक भयो’ भनेर आफैं सुरु गर्छन् । तर उसको शरीरले त्यसलाई कसरी प्रतिक्रिया दिन्छ भन्नेभन्न सक्दैन ।

रस औषधि धेरै समय लगातार खाँदा बीच–बीचमा ब्रेक आवश्यक हुन्छ । चिकित्सकले निगरानी नगरी लामो समय प्रयोग गर्दा शरीरमा असर पर्न सक्छ ।

एलोपेथिक औषधिजस्तो आयुर्वेदमा क्लिनिकल ट्रायल हुन्छ ?

हुन्छ, तर सीमित रूपमा । परम्परागत ‘क्लासिकल’ औषधिहरू त हजारौं वर्षदेखि प्रयोग हुँदै आएका छन् । त्यसैले, तिनको प्रभावबारे परम्परागत अनुभव धेरै छ ।

तर अहिले कम्पनीहरूले बनाउने नयाँ फर्मूलेशनहरूमा क्लिनिकल ट्रायल गरिन्छ । विशेषगरी भारतमा यसबारे अध्ययन भइरहेका छन् । नेपालमा पनि केही अस्पताल र संस्थाले सीमित अनुसन्धान गरिरहेका छन् ।

तर एलोपेथिक औषधिजस्तो ठूलो स्याम्पल साइज, व्यापक डेटा र अन्तर्राष्ट्रिय स्तरको ट्रायल भने कम छन् । यही कारण आयुर्वेदमाथि अझै धेरै वैज्ञानिक अनुसन्धान आवश्यक छ भन्ने देखिन्छ ।

‘क्यान्सर पूर्ण निको’, ‘मिर्गौला ठीक’, ‘१०० प्रतिशत उपचार’ जस्ता दाबी कत्तिको सही हुन् ?

यही ठाउँमा सबैभन्दा धेरै भ्रम छ । कतिपय ठाउँमा ‘१०० प्रतिशत निको’, ‘केही दिनमै रोग च्वाट्टै’ भन्ने जस्ता भ्रामक विज्ञापन गरिन्छ । नेपालमा पनि छ, भारतमा पनि छ । तर चिकित्सा पद्धतिले १०० प्रतिशत ग्यारेन्टी दिन सक्दैन ।

क्यान्सरजस्ता जटिल रोगमा आयुर्वेद सहायक उपचारमा पनि उपयोगी हुन सक्छ । जस्तै, भोक बढाउने, शरीर बलियो बनाउने, थकान कम गर्ने, मानसिक तनाव घटाउने, जीवनको गुणस्तर सुधार गर्ने तर ‘पूर्ण रूपमा निको हुन्छ’ भनेर ग्यारेन्टी गर्नु उचित होइन । विशेषज्ञ आयुर्वेद चिकित्सकको परामर्श अनुसार औषधि र थेरापीको प्रयोग गर्नुपर्छ ।

कतिपय बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन् । सुरुमै सही उपचार नगरी समय गुमाउँदा समस्या झन् जटिल हुन्छ । त्यसपछि ‘आयुर्वेदले काम गरेन’ भन्ने धारणा बन्न सक्छ । त्यसैले आयुर्वेदलाई चमत्कारिक समाधानको रूपमा होइन, सही रोग, सही अवस्था र सही चिकित्सकीय परामर्शमा प्रयोग गर्नुपर्छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.