Skip to main content

Suchana Vatika

एमालेले अघि सार्‍यो ६ नीति – जनतासँगको सम्बन्ध सुधारका लागि

नेकपा एमालेले जनतासँगको सम्बन्ध सुधारका लागि ६ नीति अघि सारेको छ। यही नीतिमा आधारित भएर एमालेले स्थानीय तह निर्वाचनकेन्द्रित मिसन जागरण अभियानमा चलाउन लागेको हो।

एमालेले यससलाई ‘६ ज’ को नीतिका रूपमा व्याख्या गरेको छ।

जसअन्तर्गत् ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात  गरौं र जनमत सर्भेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौं’ भन्ने रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

एमालेले डिजिटल संगठन र  प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको उनले बताए। 

पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। एमालेले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट (धारणा व्यवस्थापन)’ मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ। 

३१ पृष्ठको सो अवधारणाा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ। आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहलाई पालिकाको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ। जिम्मेवारी पाएका नेताहरू स्थलगत रुपमा खटेका छन् कि छैनन भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ। केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताए। 

आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ।

पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण पनि केलाइएको छ। 

मुख्यतः २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको एमालेले विश्लेषण गरेको छ।

‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमश वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो,’  पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ ‘आकस्मिक र अस्वभाविक रूपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रूपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो।’

पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठम्याइ छ। जसका कारण भदौ २३ र २४ गतेका विध्वंशकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ। 

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरूले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होऊन भन्ने ध्येयले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको हो। 

विगतदेखिको राजनीतिक उतारचढाव, निर्वाचन पछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशाबारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकून् भन्ने पार्टी केन्द्रले सोचेको उनले बताए। 

‘पार्टी केन्द्रले पठाएको दस्तावेज सबै नेताहरूले विस्तृत अध्ययन गर्नुुहुनेछ। पार्टी कमजोर हुनाका कारण, देशी विदेशीको चलखेल, निर्वाचनमा एमालेविरुद्ध अल्गोरिदमको प्रयोग जस्ता विषयहरू विस्तृत रुपमा व्याख्या गरिएको छ,’ आचार्यले भने ‘एमालेले अब गर्नुपर्ने डिजिटल तयारी, त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधि समेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौं।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.