Skip to main content

Suchana Vatika

दुई वर्षदेखि दिशा तय गर्न नसकेको नेप्से – बुलिस कि बियरिस

सेयर बजार परिसूचक नेप्सेले आफ्नो दिशा पत्ता लगाउन नसकेको लगभग दुई वर्ष भएको छ।

२०८१ मा भदौ २ मा ३००० विन्दुमा पुगेको नेप्से त्यसपछि एक पटकसम्म सोही विन्दुमा पुगे पनि त्यसलाई पार गर्न सकिरहेको छैन।

यसबीचमा नेप्से ३००० पुगेर झर्ने र २४६९ विन्दुसम्म पुगेर उक्लिँदै आएको छ।

करिब दुई महिनायता भने नेप्सेको यस्तो उच्च र न्यून विन्दुबीचको दुरी साँघुरिँदै गएको छ। वैशाख १० गतेयता नेप्सेले बन्द विन्दुको आधारमा २८०० बिन्दुमा पुग्न सकेको छैन। र, २७०० मुनि ओर्लिएको छैन।

मात्रै १०० अंकको अन्तरमा रहेर करिब करिब दुई महिनादेखि नेप्से उतारचढाव गरिरहेको छ।

गएको साता कस्तो रह्यो त बजार?

गएको मंगलबार पनि नेप्से अन्तरदिनको कारोबारमा भने २७०१ विन्दुसम्म पुगेर बढ्ने प्रयासमा देखिएको छ।

बजारले २० दिने मुभिङ एभरेज रेखामा महत्त्वपूर्ण टेवा पाइरहेकामा केही समयदेखि यो रेखामुनि नेप्से छ।

तर ५० दिने र २०० दिने मुभिङ एभरेज रेखाबीचको दुरी कायमै छ। यसले बुलिस प्रवृत्ति नसकिएको संकेत गरिरहेकै छ।

अहिले पनि नेप्सेका लागि २०० दिने मुभिङ एभरेज रेखा टेवाको रूपमा रहन सक्छ।

नेप्सेको १४ दिने उतारचढावका आधारमा निकालिएको रिलेटिभ स्ट्रेन्थ (आरएसआई) ले बजारमा किनबेच सन्तुलित क्षेत्रमै रहे पनि क्रमशः घट्दो क्रममा रहेको संकेत गर्छ।

केही दिनअघि ६५ सम्म पुगे पनि शुक्रबार घट्दै ३४.५९ सम्म आएको छ।

यसले बजारमा किनबेच सन्तुलित क्षेत्रबाट खस्किँदै अधिक बिक्री क्षेत्रमा प्रवेश गर्न लागेको हो कि भन्ने देखाइरहेको छ। सकारात्मक पक्ष भनेको केही दिन अघि मंगलबार पनि नेप्से आरएसआईको यही तह (३४) बाट फर्किएको थियो।

अहिले पनि यो विन्दुबाट फर्किएमा बजार बढ्न सक्ने मानिन्छ। यसरी फर्किए आरएसआईमा अंग्रेजी अक्षरको ‘डब्लू’ आकृति बन्ने छ। यसले प्रवृत्तिमा सुधार हुने मानिन्छ।

त्यस्तै, बजारमा बढ्नेभन्दा घट्ने कम्पनीको संख्या केही दिनदेखि बढ्दो छ। सात दिनदेखि कारोबारमा आएकामध्ये घट्ने कम्पनीको संख्या नै धेरै देखिएको छ।

विगत सात कारोबार दिनदेखि नै एड्भान्स र डिक्लाइन रेसियो (अनुपात) एक भन्दा कम छ। यसले बजार बियरिस रहेको संकेत गर्छ।

यो अनुपात एकभन्दा धेरै भए बजार बुलिस प्रवृत्तिमा रहेको र कम भए बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ।

पाँच कारोबार दिनदेखि एड्भान्स र डिक्लाइन लाइन नकारात्मक भएको छ। बजारमा बढेको र घटेको कम्पनी बीचको अन्तरलाई हरेक दिन जोड्ने वा घटाउने (अद्यावधिक) गर्दै यो सूचक निकालिन्छ।

यो सूचक अहिले ३५२ ले ऋणात्मक छ। हामीले विगत १७ दिनदेखि यो सूचक तयार गरिरहेका छौं। पछिल्लो समय बजार दैनिक घटिरहेकाले पनि यो ऋणात्मक हुने दर बढ्दै गएको हो।

बजार सूचक वा मूल्य र कारोबार भएका सेयरको परिमाणको आधारमा गणना गरिने मनि फ्लो इन्डेक्स सोमबार ४७ मा छ। यसको मान ० देखि २० सम्म आए बजारमा उच्च दरमा बिक्री बढेको, ८० देखि १०० बीच रहे उच्च दरमा खरिद भइरहेको संकेत गर्छ। २० देखि ८० भित्र रहे बजारमा सन्तुलन नै रहेको देखाउँछ।

केही समयअघि यस्तो मान ६१ थियो भने यो शुक्रबार ४७ थियो।

मनी फ्लो इन्डेक्सको मान बढ्दो भए बजारमा नयाँ पैसा प्रवेश गरिरहेको र खरिद चासो बलियो बन्दै गएको संकेत दिन्छ। मान घट्दो भए बिक्री दबाब बढ्दै गएको तथा पैसा बाहिरिन थालेको संकेत गर्न सक्छ।

एकुमुलेसन–डिस्ट्रिब्युसन लाइनले केही दिनयता बजारमा बिक्री दबाब बढ्दै गएको संकेत गरिरहेको छ। एकुमुलेसन हुनु भनेको बजारमा खरिदकर्ताको प्रभाव बढ्दै जानु तथा बजारमा नयाँ पैसा प्रवेश गर्नु हो भने डिस्ट्रिब्युसनले लगानीकर्ताले सेयर बिक्री गर्दै नाफा सुरक्षित गर्न थालेको वा बजारबाट पैसा बाहिरिन थालेको अवस्था जनाउँछ।

यद्यपि समग्र प्रवृत्ति हेर्दा विगत १५ कारोबार दिनमा बजारमा बाहिरिएकोभन्दा भित्रिएको पैसा नै बढी देखिन्छ। यस अवधिको सञ्चित मान करिब एक करोड रूपैयाँले सकारात्मक छ। यसले मध्यम अवधिमा खरिद पक्ष अझै बलियो रहेको संकेत गर्छ।

पछिल्ला दुई कारोबार दिनमा भने अवस्था केही फरक देखिएको छ। बिहीबार २८ लाख रूपैयाँ र शुक्रबार १५ लाख रूपैयाँ बराबरको डिस्ट्रिब्युसन देखिएकाले छोटो अवधिमा बिक्री दबाब बढेको बुझिन्छ। सकारात्मक पक्ष भनेको डिस्ट्रिब्युसनको परिमाण बिहीबारको तुलनामा शुक्रबार घटेको छ।

यसले बिक्री गर्नेहरूको दबाब अझै कायम रहे पनि त्यस्तो दर केही कम हुन थालेको संकेत दिन्छ। त्यसैले हालको बजारबाट ठूलो मात्रामा पैसा बाहिरिइरहेको भन्दा पनि केही समयअघिको वृद्धिपछि लगानीकर्ताले आंशिक नाफा सुरक्षित गरिरहेको मान्न सकिन्छ।

आगामी केही दिनमा पुनः एकुमुलेसन बढे बजारमा सुधार हुँदै जाने अपेक्षा गर्न देखिन्छ।

समग्रमा विश्लेषण गर्दा अहिले पनि बजार दबाबमा छ। अल्पकालीन प्रवृत्ति कमजोर रहे पनि दीर्घकालीन बुलिस प्रवृत्ति बिग्रिनसकेको यसले संकेत गरिरहेको छ। अल्पकालीन अवधिमा भने सेयर लगानीकर्ताहरूमा अन्योलता कायमै देखाइरहेको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.