Skip to main content

Suchana Vatika

‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो’ : परराष्ट्रमन्त्री खनाललाई वाङ यीले भने

२ असार, काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने बताएका छन् ।

सोमबार चीनको राजधानी बेइजिङमा भएको भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल छिमेकी रहेको स्मरण गर्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताएका हुन् ।

नेपाल र चिनियाँ समकक्षीबीच भएको भेटबारे चिनियाँ विदेश मन्त्रालयले गएराति अबेर लेखेको छ, ‘वाङ यीले “टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो” भन्ने उक्ति उद्धृत गर्दै चीन नेपालका लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा सधैं भरपर्दो छिमेकी र साझेदार रहने बताएका थिए ।’

इतिहास र यथार्थले चीन–नेपाल मित्रता नेपाल राष्ट्र, नेपाली जनता तथा राष्ट्रिय हितका लागि लाभदायक रहेको प्रमाणित गरेको भन्दै वाङले चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्वपूर्ण स्थानमा राखेको जानकारी गराएका थिए । नेपाली जनताप्रतिको मैत्रीपूर्ण नीति निरन्तर रहने पनि उनले बताए ।

विदेशमन्त्री वाङले चीन र नेपाल पहाड–नदीले जोडिएका तथा साझा भविष्य भएका छिमेकी राष्ट्र रहेको भन्दै कूटनीतिक सम्बन्ध स्थापना भएयता अन्तर्राष्ट्रिय परिस्थिति वा नेपालको आन्तरिक राजनीतिक अवस्थामा जस्तोसुकै परिवर्तन आए पनि दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अवलम्बन गर्दै द्विपक्षीय सम्बन्धलाई निरन्तर अगाडि बढाएको स्मरण गरे ।

चीनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न सधैं समर्थन गर्ने, नयाँ नेपाली सरकारलाई जनसमर्थनका साथ सफलतापूर्वक शासन सञ्चालन गर्न सहयोग गर्ने तथा नेपालको राष्ट्रिय परिस्थितिअनुकूल विकास मार्गको खोजीलाई समर्थन गर्ने उनले बताए ।

‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्धता जनाउँदै ताइवान तथा तिब्बतसँग सम्बन्धित चीनका मूल हितका विषयमा निरन्तर समर्थन गरेको भन्दै विदेशमन्त्री वाङले नेपालको प्रशंसा पनि गरेका थिए ।

उनले उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण सञ्जाल, सडक, नाका तथा हवाई यातायातलगायत क्षेत्रमा सहकार्य विस्तार गरी नेपाललाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

साथै उनले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा अनुकूल व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा गरेको उनले बताए । साथै, दुवै देशले बहुपक्षीय मञ्चहरूमा सहकार्य सुदृढ गरी विकासशील राष्ट्रहरूको साझा हितको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुवै देशले विकास र समृद्धिमुखी पुस्तौँसम्मको मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारी स्थापना गरेको स्मरण गर्दै यसले चीन–नेपाल सम्बन्धलाई थप उचाइमा पुर्‍याउने साझा दिशा निर्धारण गरेको बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.