Skip to main content

Suchana Vatika

१७ वर्षीया किशोरीको डिम्ब झिकियो ५० हजारको प्रलोभन देखाएर ललितपुरमा

सुरुमा ५० हजार रुपैयाँ दिने बताइए पनि ३० हजार रुपैयाँ मात्रै किशोरीलाई दिइएको थियो । तर शरीरमा समस्या आएर उपचार गराउनुपर्दा उल्टै रकम अभाव खेप्नु परेको पीडितको गुनासो छ ।

ललितपुरमा १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी अवैध रूपमा डिम्ब झिकेको घटना सार्वजनिक भएपछि प्रहरीले एकजना बिचौलियालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पीडित किशोरीको परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि बी एण्ड बी आईभीएफ सेन्टरमा भएको सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी गौतम मिश्रले बताए।
डिम्ब तस्करीको मुद्दामा संलग्नलाई कारबाही नभएको गुनासो बढेका बेला सरकारले निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२ मार्फत यस्ता कार्यलाई नियमन गर्ने प्रयास गरेको छ।

७ साउन, काठमाडौं । राज्यकै संरक्षणमा मुद्दा नचलाई सामसुम पारिएको डिम्ब तस्करी प्रकरणजस्तै अहिले फेरि अर्को डिम्ब तस्करीको भएको खुलेको छ ।

सुशीला कार्की प्रधानमन्त्री भएको बेला महान्यायाधिवक्ता सबिता भण्डारीमार्फत डिम्ब तस्करीको मुद्दा नचलाउने निर्णय भएको थियो । तत्कालीन महान्यायाधिवक्ता भण्डारीको आफ्नै लगानी रहेको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरले डिम्ब तस्करीसम्बन्धी मुद्दामा क्लिनचिट पाएको छ।

अहिले यही शैलीमा अर्को डिम्ब तस्करी भएको खुलेको छ ।

एक १७ वर्षीया किशोरी डिम्ब तस्करीको प्रयासबाट बनेकी छिन् । कक्षा ११ मा अध्ययनरत ती किशोरीलाई सुरुमा साथीले नै डिम्ब झिक्दा केही हुँदैन भनेको पीडित किशोरीले बताएकी छिन् ।

‘मैले पनि दुई/तीन पटक दिइसके । यो महिना–महिना दिनमा आफैं खेर जाने चिज हो । केही पनि हुँदैन । पैसा पनि आउँछ’ साथीले आफूलाई भनेको कुरा पीडित किशोरीले अनलाइनखबरलाई बताइन् ।

पैसा आउने र केही पनि नहुने बताएपछि ती आफू तयार भएको ती किशोरीको भनाइ छ । त्यसपछि ती किशोरीलाई एक एजेन्टको सम्पर्कमा पुर्‍याइएको थियो । ती एजेन्टले किशोरीलाई झनै कन्भिन्स गराए ।

प्रलोभन देखाएपछि किशोरी तयार भइन् । ‘केही पनि हुँदैन, दुखाई पनि हुँदैन । शरीरलाई केही हानी गर्दैन भनेर मलाई फकाइयो’ किशोरीको भनाइ छ । किशोरीका अनुसार त्यसपछि उनलाई ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी आईभीएफमा लगियो ।

‘सुरुमा एउटा इन्जेक्सन लगाइयो । त्यसको करिब हप्ता/दश दिनपछि डिम्ब निकालियो’ पीडित किशोरीको भनाइ छ । इन्जेक्सन लगाएर डिम्ब विकास गराउने र उपयुक्त भएपछि निकाल्ने गरिन्छ । सोही अनुसार सुरुमा ती किशोरीलाई इन्जेक्सनमात्रै लगाइएको थियो ।

डिम्ब विकास भएपछि गत असार१४ गते ती किशोरीबाट डिम्ब झिकियो । त्यसपछि भने किशोरीको शरीरमा एकाएक परिवर्तन आयो । उनी कमजोरीले ढल्नेसम्मको अवस्था आयो ।

किशोरीको शरीरमा समस्या आएपछि उनले सबै कुरा परिवारलाई बताइन् । त्यसपछि किशोरीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरेर उपचार गरियो ।

निसन्तान दम्पतीलाई सन्तान प्राप्तिका लागि अन्य महिलाको डिम्ब प्रयोग गरिन्छ । यसरी संकलन गरिएको डिम्बलाई आईभीएफमार्फत बच्चाको उत्पादन गरिन्छ ।

अर्कोतर्फ सुरुमा ५० हजार रुपैयाँ दिने बताइए पनि ३० हजार रुपैयाँ मात्रै किशोरीलाई दिइएको थियो । तर शरीरमा समस्या आएर उपचार गराउनुपर्दा उल्टै रकम अभाव खेप्नु परेको पीडितको गुनासो छ ।

किशोरीको शरीरमा समस्या आएर उपचारपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा उनीहरुले उजुरी दिएका हुन् । यता परिसर ललितपुरका प्रवक्ता तथा एसपी गौतम मिश्रले पनि उजुरी आएको पुष्टि गरे ।

‘उजुरी आएको छ । हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं’ मिश्रले अनलाइखबरसँग भने । यो प्रकरणमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेर अनुसन्धान गरेको छ । एसपी गौतमका अनुसार पक्राउ पर्नेमा लमजुङ घर भई ललितपुर बस्ने २१ वर्षीया राधिका गोतामे छिन् । उनलाई १ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि मानव बेचबिखन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । तर यता पीडित पक्षको भने डिम्ब झिक्न संलग्ने हुने चिकित्सकलाई प्रहरीले पक्राउ नगरेको गुनासो छ । ‘मुख्य दोषी नै डिम्ब झिक्ने डाक्टर हो भने उनी अहिलेसम्म किन पक्राउ पर्दैनन् ?’ पीडित पक्षको प्रश्न छ । यता प्रहरीले भने अनुसन्धानको काम भइरहेको र संलग्नहरुलाई पक्राउ गर्ने दाबी गरेको छ ।

‘पीडितले बी एण्ड बी मा लगेर डिम्ब झिकियो भन्नु भएको छ । हामी सबै प्रमाणहरू जुटाएर अनुसन्धानको काम गरिरहेका छौं । जसमा संलग्न तथा दोषी देखिने जो भए पनि पक्राउ पर्छन्’ एसपी गौतमले भने ।

निसन्तान दम्पतीलाई सन्तान प्राप्तिका लागि अन्य महिलाको डिम्ब प्रयोग गरिन्छ । यसरी संकलन गरिएको डिम्बलाई आईभीएफमार्फत बच्चाको उत्पादन गरिन्छ ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८२ को असारमा यस्तै डिम्ब तस्करीमा संलग्नहरूलाई पक्राउ गरेको थियो ।

बबरमहलको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमार्फत डिम्बको तस्करी भएको भन्दै अनुसन्धानको दायरामा तानिएका थिए ।

पीडित किशोरीहरुलाई ८/१० हजार रुपैयाँ दिने र २० लाखसम्म असुलेर डिम्बको बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको थियो ।

अनुसन्धान सकेर सीआईबीले गत भदौमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार डा. स्वस्ति शर्मा, प्रत्युषा बराल, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहित सात जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।

तर तत्कालीन महान्यायाधिवक्ता भण्डारीले गत ३० असोजमा यो मुद्दा नचल्ने निर्णय गरेकी थिइन् । प्रतिवादी बनाउन सिफारिस गरिएकी प्रत्युषा भण्डारीकी छोरी हुन् भने स्वस्ति पनि पारिवारिक सदस्य हुन् ।

अवैध रूपमा डिम्ब (अन्डादान) बेचबिखन गरेको तथ्य खुलेपछि सरकारले नयाँ मापदण्ड तयार पारेको थियो । सरकारले निःसन्तान उपचार (आईभीएफ) सेवालाई नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ जारी गरेको थियो ।

संविधानले सुनिश्चित गरेको प्रजनन अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न र बाँझोपना उपचार सेवामा एकरूपता ल्याउन मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार अधिकार प्रयोग गरी मापदण्ड जारी गरेको हो ।

मापदण्डअनुसार अब डिम्बदान प्रक्रिया निश्चित सीमा, गोपनीयता र स्वास्थ्य सुरक्षासहित गर्नुपर्नेछ । डिम्ब दानसम्बन्धी नयाँ मापदण्डअनुसार एक महिलाले जीवनमा ६ पटकभन्दा बढी डिम्बदान गर्न पाइँदैन ।

हरेक दानबीच कम्तीमा तीन महिनाको फरक हुनुपर्नेछ । डोनरको उमेर २० देखि ३५ वर्षभित्रको हुनुपर्ने र डिम्बदान गर्नुअघि शारीरिक परीक्षण र प्रयोगशाला जाँचमार्फत सरुवा रोग नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

डिम्बदान गर्ने महिलालाई सो प्रक्रियाबाट तत्काल वा भविष्यमा आउन सक्ने सम्भावित स्वास्थ्य जटिलताबारे जानकारी दिइनुपर्ने र सुसूचित मञ्जुरी अनिवार्य लिनुपर्ने हुन्छ । तर यहाँ भने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर डिम्ब झिकिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.