भेडेटारमा गर्मीयाममा हुस्सु लाग्ने र मौसम चिसो रहने भएकाले विशेषगरी तराईका जिल्लाबाट तथा छिमेकी मुलुक भारतबाट गर्मी छल्न पर्यटक आउने गरेका छन् ।
धनकुटाको भेडेटारमा सञ्चालित स्काईवाक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । सार्वजनिक–निजी साझेदारीमा निर्माण भएको उक्त स्काईवाकमा दुई वर्षको अवधिमा तीन लाख नौ हजार पर्यटकले भ्रमण गरेका छन् ।परियोजनाका सञ्चालकले अत्यधिक करका कारण लगानीकर्ता निरुत्साहित भएको भन्दै प्रदेश सरकारसँग कर नीति पुनरावलोकनको माग गरेका छन् ।
१९ साउन, धनकुटा । कोशी प्रदेशको प्रमुख तथा चर्चित पर्यटकीय गन्तव्यमध्ये एक धनकुटाको भेडेटारमा सञ्चालित स्काईवाक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारमा निर्माण गरिएको स्काईवाकबाट पूर्वी नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमा सयौँ पर्यटक पुग्ने गरेका छन् ।
परिवारसहित भेडेटार घुम्न आएका सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का आनन्दी कुमार चौधरीलाई यसपटकको भेडेटार भ्रमण फरक अनुभव भएको छ । यसअघि पनि भेडेटार आइरहने चौधरी परिवारका लागि यसपटक स्काईवाकको अनुभव विशेष बन्यो ।
स्काईवाकको भुइँ पारदर्शी काँचले बनेको छ । त्यसैले यसको चुच्चो भागतिर पुग्दा तलको गहिरो भीर स्पष्ट देखिन्छ । यहाँ हिँड्ने आगन्तुकले डर र प्राकृतिक सौन्दर्यको अनुभूति एकैपटक गर्न सक्छन्।
‘स्काईवाकमा उभिँदा आकाशमै रहेकोजस्तो महसुस भयो,’ चौधरीले भने, ‘आकाशमै हिँडेजस्तो अनुभूति हुँदा निकै फरक अनुभव पाइयो ।’
‘कतिपय त सिसामाथि हिँड्न नसकेर वरिपरि लगाइएको फलाम समातिरहेका पनि देखिए,’ उनले थपे, ‘सुनसरी र धनकुटाको सिमानामा रहेको भेडेटार पहिलेदेखि नै पर्यटकीय गन्तव्य थियो, अहिले स्काईवाकले यसलाई नयाँ परिचय दिएको रहेछ ।’
भेडेटारमा गर्मीयाममा हुस्सु लाग्ने र मौसम चिसो रहने भएकाले विशेषगरी तराईका जिल्लाबाट तथा छिमेकी मुलुक भारतबाट गर्मी छल्न पर्यटक आउने गरेका छन् ।
दुई वर्षमा ३ लाख ९ हजार पर्यटक
वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिले निर्माण गरेको स्काईवाक २०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको हो । २०७७ फागुन ९ गते प्रदेश लगानी प्राधिकरण र विकासकर्ताबीच परियोजना विकास सम्झौता भएपछि यसको निर्माण सुरु भएको थियो । करिब २० करोड रुपैयाँको लागतमा निर्माण भएको स्काईवाकले दोस्रो वार्षिकोत्सवसमेत मनाइसकेको छ ।
कोशी प्रदेश सरकारको लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका तथा वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिको सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा निर्माण भएको स्काईवाकमा पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले भ्रमण गरेका स्काईवाकका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले जानकारी दिए । उनका अनुसार तीमध्ये करिब ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् ।
उनले ४१ मिटर लामो र दुई मिटर चौडा सिसाको पुलबाट वरपरको मनोरम दृश्य नियाल्न सकिने बताए । स्काईवाक निर्माण गरिएको जग्गा २५ वर्षका लागि वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिलाई उपलब्ध गराइएको छ । सम्झौताअनुसार त्यसपछि उक्त संरचना स्वत: सरकारलाई हस्तान्तरण हुनेछ ।
स्काईवाक बनेको स्थानमा पहिले चार्ल्स टावर रहेको थियो । बेलायती राजकुमार चार्ल्स उक्त डाँडामा पुगेपछि त्यसको नाम चार्ल्स टावर राखिएको थियो ।
यहाँ स्काईवाकसँगै अन्य साहसिक गतिविधिसमेत सञ्चालनमा छन् । पर्यटकले फ्री फल जम्प (मिनी बन्जीजस्तै), स्विङ तथा टिकटक जोनको समेत अनुभव लिन सक्छन् । परियोजनाले आगामी दिनमा थप गतिविधि विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
स्काईवाक परियोजना कोशी प्रदेश लगानी प्राधिकरणसँगको साझेदारीमा सञ्चालन भएको प्रदेशकै पहिलो सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलको पर्यटन परियोजना भएको बताइएको छ ।
‘स्काईवाक सञ्चालनमा आएपछि भेडेटारमा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ । स्थानीय व्यवसाय र पर्यटन क्षेत्रलाई यसले प्रत्यक्ष टेवा पुर्याएको छ,’ रोकाहाले भने, ‘यहाँ सिसामाथि हिँड्ने अनुभव, फ्री फल, स्विङलगायतका साहसिक गतिविधि सञ्चालनमा छन् । निकट भविष्यमा स्काई साइकलिङ, जिपलाइन तथा बालबालिकाका लागि आकर्षक पार्क निर्माण गर्ने योजना अघि बढाइएको छ ।’
स्काईवाकमा २१ जना कर्मचारी कार्यरत छन् । तीमध्ये ७० प्रतिशत साँगुरीगढी गाउँपालिकाका स्थानीय रहेको रोकाहाले बताए ।
हिमालदेखि तराईसम्मको दृश्य
स्काईवाक टावरबाट सप्तकोशी नदीको मनोरम दृश्य, पूर्वी तराईका विशाल फाँट तथा विश्वको सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजङ्घा र कुम्भकर्णलगायतका हिमशृङ्खला एकैसाथ अवलोकन गर्न सकिन्छ । मौसम सफा भएका दिनमा सूर्योदय र सूर्यास्तको अनुपम दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।
टावरको माथिल्लो भागबाट चारैतिर फैलिएको हरियाली, पहाडी दृश्य तथा तराईका बस्तीहरूको दृश्यले भेडेटार भ्रमणलाई स्मरणीय बनाउने गरेको सुनसरीको धरानका अविन शाक्यले बताए ।
समुद्री सतहबाट करिब एक हजार चार सय मिटर उचाइमा रहेको भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वारका रूपमा परिचित छ । शीतल हावापानी, प्राकृतिक सौन्दर्य तथा सहज पहुँचका कारण भेडेटार वर्षौंदेखि पर्यटकको रोजाइमा पर्दै आएको छ । पछिल्ला वर्षहरूमा यहाँ निर्माण भएका नयाँ पर्यटकीय पूर्वाधारमध्ये स्काईवाक सबैभन्दा चर्चित बनेको छ ।
पर्यटन प्रवर्द्धनमा सहयोग
स्काईवाकले भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको स्थानीय व्यवसायीहरूको भनाइ छ । होटल, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव परेको होटल साविराकी सञ्चालक अनिरा राईले बताइन् ।
उनका अनुसार विशेषगरी बिदाका दिन, सार्वजनिक बिदा तथा चाडपर्वका बेला भेडेटार आउने पर्यटकको संख्या उल्लेखनीय हुने गरेको छ ।
प्राकृतिक दृश्यावलोकनसँगै साहसिक अनुभव लिन चाहनेका लागि स्काईवाक उपयुक्त गन्तव्य बनेको होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले बताए । होटल एसोसिएसन अफ भेडेटारका पूर्वअध्यक्षसमेत रहेका लावतीले टावरबाट देखिने हिमाल, पहाड र तराईको संगमले भेडेटारलाई कोशी प्रदेश मात्र होइन, देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको बताए ।
उनले स्काईवाकका कारण साना पसलदेखि होटल व्यवसायसम्म थप चलायमान भएको अनुभूति भएको बताए ।
साँगुरीगढी गाउँपालिकाको मुख्य आयस्रोत नै पर्यटन रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । उनका अनुसार नमस्ते झरना, पाथीभरा मन्दिर, नाम्जे र ध्वजेडाँडाजस्तै स्काईवाक पनि गाउँपालिकाको अर्को प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । उनले स्काईवाकले भेडेटारमा पर्यटक आगमन बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
करको भार परेको गुनासो
परियोजनाले अत्यधिक करको भार बेहोर्नुपरेको जनाएको छ । नियमित करबाहेक ५ प्रतिशत रोयल्टी र ५ प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने भएकाले प्रत्येक टिकटमा करको भार बढ्ने गरेको परियोजनाको भनाइ छ ।
‘वार्षिक ३ लाख रुपैयाँ नवीकरण शुल्क, पर्यटन कर, भ्याट तथा अन्य विभिन्न करसमेत तिर्नुपर्छ,’ प्रबन्ध निर्देशक रोकाहाले भने, ‘गत वर्ष करिब ९ करोड रुपैयाँ कारोबार हुँदा मात्र करिब ४५ लाख रुपैयाँ रोयल्टी तिर्नुपरेको थियो । त्यति नै रकम मनोरञ्जन करमा पनि तिर्नुपर्यो ।’
वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिले काठमाडौंको कमलादीस्थित स्काईवाकमा भने वार्षिक ५० हजार रुपैयाँ मात्र मनोरञ्जन कर तिर्ने गरेको जनाएको छ ।
‘अन्य स्काईवाक परियोजनामा यस्तो अतिरिक्त करको व्यवस्था छैन । त्यसैले कोशी प्रदेशमा लागू गरिएको उच्च करले लगानीकर्तालाई निरुत्साहित गरेको हाम्रो अनुभव छ,’ उनले भने ।
प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनालाई प्रवर्द्धन गर्ने नीति लिएको भए पनि यस्ता परियोजनालाई दिगो बनाउन कर नीति पुनरावलोकन आवश्यक रहेको सञ्चालकहरूको भनाइ छ ।
उनीहरूका अनुसार अत्यधिक करको सट्टा व्यावहारिक र लगानीमैत्री नीति अपनाइए नयाँ परियोजना आकर्षित गर्न, पर्यटन विकास गर्न तथा दीर्घकालीन रूपमा राज्यको राजस्वसमेत बढाउन सहयोग पुग्नेछ ।