राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा संलग्न नहुने औपचारिक निर्णय गरेको छ । संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार गठनको कुनै पनि दौडमा नरहने निर्णय गरेको हो । केन्द्रीय कार्यसम्पादन समितिको निर्देशन अनुरूप उक्त निर्णय सर्वसम्मतिले पारित भएको जानकारी नेता थापाले गराउनुभयो ।
२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा संलग्न नहुने निर्णय गरेको छ ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बिहीबार राति अबेर सकिएको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकले सर्वसम्मतिले पारित गरेको थापाले जानकारी दिए ।
एमालेले कांग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँलाई दिएको समर्थन साउन ६ गते फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। त्यसपछि साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनका लागि नेतृत्व बाँडफाँटको सहमति सार्वजनिक भएको थियो। उक्त सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ। तर, हालसम्म एमालेले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन भने सकेको छैन।
बागमतीमा सरकार गठनको बहुमत जुटाउन ५३ सांसदको समर्थन चाहिन्छ । तर एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद छन् । १२ सांसद रहेको राप्रपाले सरकार गठनको गणितीय खेलमा नलाग्ने भनेपछि अब अरु साना दलको समर्थन खोज्नुपर्ने भएको छ ।