Skip to main content

Suchana Vatika

‘हामी मान्छे भएर बाँच्न बिर्सिंदै गयौँ’ – सामाजिक सञ्जालको विकृतिबारे सांसद श्रद्धा कुँवर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालमा व्यक्त हुने विचार र प्रविधिको प्रयोगसँगै नागरिक चेतना र जिम्मेवारी बोधका विषयमा प्रश्न उठाएकी छन्।
उनले प्रविधिसँगै मानवीय संवेदना र संस्कार हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै हामीले प्रविधि त धेरै छिटो सिक्यौँ तर मान्छे भएर बाँच्न बिर्सिंदै गयौँ भनी टिप्पणी गरेकी छन्।
सांसद कुँवरले स्वतन्त्रता भनेको आफू बोल्ने अधिकार मात्र नभई अरूलाई पनि अस्तित्वसहित बाँच्न दिने संस्कार भएको र समाज बदल्नुअघि आफूलाई बदल्नुपर्ने धारणा राखेकी छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालमा व्यक्त हुने विचार र प्रविधिको प्रयोगसँगै नागरिक चेतना र जिम्मेवारी बोधका विषयमा प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले प्रविधिसँगै मानवीय संवेदना र संस्कार हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी हुन्। 

‘सञ्जालले सहज बनाएको हाम्रो अभिव्यक्ति र त्यही सञ्जालले जन्माएको हाम्रो राक्षसी मानसिकता देख्दा कहिलेकाहीँ लाग्छ, हामीले प्रविधि त धेरै छिटो सिक्यौँ,’ कुँवरले लेखेकी छन्, ‘तर मान्छे भएर बाँच्न भने बिर्सिंदै गयौँ।’

उमेर, परिवेश र जीवनका घटनाक्रमले मानिसको सोच र बुझाइ बदल्ने उल्लेख गर्दै उनले हामीले ध्यान दिनुपर्ने विषयमा ध्यान दिएका छौँ कि अरूको जीवनमा टिप्पणी गर्नमै समय बिताइरहेका छौँ भन्दै प्रश्न गरेकी छन् । देशमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीसँगै नागरिक चेतना र जिम्मेवारी बोधका विषयमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ।

हामीले अधिकार र स्वतन्त्रताको कुरा गर्दा आफ्ना जिम्मेवारी बिर्सिन नहुने कुरामा उनले जोड दिएकी छन्। ‘हामी साँच्चिकै स्वतन्त्र हुँदैछौँ कि केवल आफ्ना शब्दहरूलाई स्वतन्त्र बनाउँदैछौँ,’ उनले भनेकी छन्, ‘हामी साँच्चिकै चेतनशील हुँदैछौँ कि अरूको जीवनमा निर्णय सुनाउन मात्र अभ्यस्त हुँदैछौँ ?’

स्वतन्त्रता भनेको आफू बोल्ने अधिकार मात्र नभई अरूलाई पनि अस्तित्वसहित बाँच्न दिने संस्कार भएको उनले स्पष्ट पारेकी छन्। संसार बदल्न खोज्ने तर आफू बदलिन नखोज्ने प्रवृत्ति खतरनाक हुने बताउँदै उनले सबैभन्दा ठुलो परिवर्तन आफैँ भित्रबाट सुरु हुनुपर्ने धारणा राखेकी छन् । समाज बदल्नुअघि आफूलाई बदल्न सके मात्र स्वतन्त्रता व्यवहारमा देखिने उनको निष्कर्ष छ।
 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.