Skip to main content

Suchana Vatika

धान गोडमेलमा व्यस्त बने किसान, ललितपुरका खेतबारीमा छायो हरियाली

मनसुन सक्रिय भएसँगै ललितपुरका खेतबारीमा हरियाली छाएको छ। भदौ लागेसँगै किसानहरू धानको गोडमेल गर्न व्यस्त भएका छन्। समयमै रोपाइँ भएकाले यस वर्ष धानखेती राम्रो हुने आशा पलाएको छ।

ललितपुर । मनसुन सक्रिय भएसँगै समयमै रोपाइँ सकिएका ललितपुरका खेतबारी अहिले हरियाली बनेका छन्।

भदौ लागेसँगै स्थानीय किसान यही हरियो धानबारीमा गोडमेल गर्न व्यस्त बनेका छन्।

धान रोपेको केही सातापछि खेतमा उम्रिएका झारपात हटाउन किसानहरू गोडमेलमा जुटेका हुन्। खेतमा धानको बोटसँगै झार उम्रिएपछि उत्पादन राम्रो बनाउन गोडमेल आवश्यक हुने किसानहरूको भनाइ छ।

कृषि विभागको तथ्याङ्क अनुसार साउन २२ गतेसम्म देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलको ९५.५ प्रतिशत भागमा रोपाइँ सम्पन्न भएको थियो। कुल १३ लाख ७० हजार ६२ हेक्टरमध्ये १३ लाख ८ हजार ३८३ हेक्टरमा धान रोपिएको विभागले जनाएको छ।

गत वर्ष साउन २५ सम्म ९१.३१ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सोही आसपासको अवधिमा रोपाइँको प्रगति केही अगाडि देखिएको छ।

समयमै रोपाइँ भएपछि अहिले धेरै ठाउँमा धान गोड्ने समय पनि भएको छ। सामान्यतया रोपाइँपछि करिब २० देखि २५ दिनमा पहिलोपटक गोडमेल गर्ने र आवश्यकता अनुसार त्यसको केही सातापछि दोस्रोपटक गोडमेल गर्ने किसानहरूको अभ्यास छ। ललितपुरका खेतमा देखिएको हरियालीले यस वर्ष धानखेती राम्रो हुने आशा जगाएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.