Skip to main content

Suchana Vatika

विमलेन्द्र निधि : राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक प्रणालीमाथि सङ्कट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख गर्दै व्यवसायीहरूलाई राजनीतिक चासो राख्न र प्रणाली जोगाउन एकजुट हुन अपिल गरे । नेता निधिले सुनचाँदी व्यवसायीहरूलाई ‘कालोबजारी’को रूपमा हेर्ने सरकारी दृष्टिकोण गलत रहेको टिप्पणी गर्दै यसलाई तत्काल बदल्नुपर्नेमा जोड दिए ।

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाम सुनचाँदी व्यवसायी सङ्घको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता निधिले नेपाली जनताको लामो सङ्घर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त सङ्घीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

राजनीतिक प्रणालीमाथि सङ्कट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख गर्दै नेता निधिले व्यवसायीहरूलाई राजनीतिक चासो राख्न र प्रणाली जोगाउन एकजुट हुन अपिल गरे । सुनचाँदी व्यवसायका क्षेत्रमा विद्यमान समस्याहरूबारे चर्चा गर्दै नेता निधिले सरकारको ध्यानाकर्षणसमेत गराए । उनले सुनचाँदी व्यवसायीहरूलाई ‘कालोबजारी’को रूपमा हेर्ने सरकारी दृष्टिकोण गलत रहेको टिप्पणी गर्दै यसलाई तत्काल बदल्नुपर्नेमा जोड दिए ।

नेता निधिले भने, ‘देशमा सात प्रदेश, ७५३ स्थानीय तह र ६,७४३ वडासहितको जुन ऐतिहासिक संरचना बनेको छ, यसको सफल कार्यान्वयन आजको आवश्यकता हो । तर राजनीतिक दलहरूबिचको आन्तरिक द्वन्द्व र अन्य कारणले सङ्घीयता, लोकतन्त्र र समावेशितामाथि खतरा उत्पन्न भएको छ । राजनीति नेताहरूको मात्र विषय हो भनेर नठान्नुस् । यो तपाईंहरूको पनि प्रत्यक्ष सरोकारको विषय हो । प्रणाली नै रहेन भने कुनै पनि व्यवसाय सुरक्षित रहन सक्दैन ।’

सुनचाँदी व्यवसायीका लागि सहज, सुरक्षित र मर्यादित कानुन निर्माण गरी भयमुक्त वातावरणमा व्यापार गर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायीहरूले ग्राहकबाट फिर्ता लिएको वा खरिद गरेको सुन बैंकहरूले किनिदिने उचित व्यवस्था गर्नुपर्ने, सुनचाँदी व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण अन्त्य गरी उनीहरूको सामाजिक मर्यादाको रक्षा गर्नुपर्ने माग गरे । बैंकिङ प्रणालीमा देखिने तरलता अभावले व्यवसायमा पारेको असरप्रति संकेत गर्दै उनले बैंकिङ प्रणालीलाई थप व्यावहारिक र व्यवसायीमैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.