रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यले लेन्दे खोलामा आएको बाढीले विगतका वर्षहरूको तुलनामा निकै ठुलो क्षति पुर्याएको र जनजीवन कष्टकर बनेको जानकारी दिएका छन् । तिब्बती क्षेत्रमा हिमताल विस्फोटका कारण आएको यो बाढी गत वर्षको भन्दा ठूलो र शक्तिशाली रहेको सांसद आचार्यले बताएका छन् । बाढीले सडक मार्ग अवरुद्ध पारेको र टेलिफोन सम्पर्क विच्छेद भएकाले उद्धार तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले उल्लेख गरे ।
काठमाडौँ । रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवामा आएको बाढी र पहिरोका कारण जनजीवन निकै कष्टकर बनेको र ठुलो भौतिक क्षति भएको जानकारी दिएका छन् । लेन्दे खोलामा आएको बाढीले विगतका वर्षहरूको तुलनामा निकै ठुलो क्षति पुर्याएको भन्दै उनले उद्धार र राहतका लागि सरकारसँग माग गरेका छन् ।
सांसद आचार्यका अनुसार तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएका कारण रसुवाको लेन्दे खोलामा अप्रत्याशित बाढी आएको हो । उनले भने– ‘यो पटकको बाढी कल्पनाभन्दा बाहिरको छ । लेन्दे खोलामा गत वर्षको साउन २४ गते आएको बाढीभन्दा यो धेरै ठुलो र शक्तिशाली छ । यसले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजार र नुवाकोटका विभिन्न भागमा समेत ठुलो क्षति पुर्याएको छ ।’
बाढीका कारण रसुवा पुग्ने सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको र हवाई मार्ग (हेलिकप्टर) बाट मात्र उद्धार सम्भव रहेको उनले बताए । टेलिफोन सम्पर्क समेत विच्छेद भएकाले मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहेको र धेरै परिवारहरू चिन्तित रहेको आचार्यले जानकारी दिए ।
उनले प्रधानमन्त्री र सरकारको विपद् व्यवस्थापन टोलीले देखाएको सक्रियताको प्रशंसा गर्दै घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूको व्यवस्थापनका लागि आग्रह गरे ।