Skip to main content

Suchana Vatika

विद्युत् आपूर्ति सुरु, नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

भोटेकोशी बाढीका कारण अवरुद्ध नुवाकोटका क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारणमार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ। खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत आपूर्ति मिलाइएको प्राधिकरणले जनाएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणको उच्चस्तरीय टोली नुवाकोट खटिएको छ र साँझसम्म सेवा नियमित गर्ने प्रयास भइरहेको छ।

११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुन:सुचारु गरेको छ ।

बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ ।

आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।

त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङस्थित सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत् आपूर्ति गर्न कठिनाइ भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् सेवा यथाशीघ्र नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितका टोली नुवाकोटतर्फ परिचालन गरेको छ । टोलीले प्रभावित विद्युत् संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा रोकिएका कर्मचारीको उद्धारसँगै विद्युत् सेवा तत्काल पुन:स्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरी काम तीव्र बनाउन निर्देशन दिनुभएको थियो । मन्त्री श्रेष्ठको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

टोलीमा प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणालगायतका अधिकारी सहभागी छन् ।

प्राधिकरणले बाढीबाट क्षति पुगेका विद्युत् संरचनाको अवस्था निरन्तर मूल्याङ्कन गर्दै सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीबाट आपूर्ति सञ्चालन गर्ने तथा क्षतिग्रस्त संरचनाको मर्मत गरी नियमित विद्युत् सेवा पुन:स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.