बङ्गलादेश सरकारले उत्तरी नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित उद्धार, राहत, पुनःस्थापना तथा मानवीय प्रयासका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले नेपाली राजदूत घनश्याम भण्डारीलाई सहयोगबारे जानकारी गराएका हुन् ।
बङ्गलादेशले नेपालमा आएको विपद्प्रति निरन्तर ऐक्यबद्धता जनाउँदै आएको छ ।
काठमाडौँ । उत्तरी नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित उद्धार, राहत, पुनःस्थापना तथा मानवीय प्रयासका लागि बङ्गलादेश सरकारले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ ।
बङ्गलादेशको प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बिहीबार बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेको पत्र हस्तान्तरण गर्दै सहयोगको जानकारी दिएका हुन् ।
नेपालमा २६ अगस्ट २०२६ मा आएको आकस्मिक विनाशकारी बाढी र पहिरोपछि बङ्गलादेशले निरन्तर ऐक्यबद्धता जनाउँदै आएको छ । घटनापछि प्रधानमन्त्री रहमानले प्रधानमन्त्री शाहलाई सन्देश पठाउँदै विपद्मा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै नेपाली सरकार र विपद्को सामना गरिरहेका नेपाली जनताप्रति बङ्गलादेशको पूर्ण ऐक्यबद्धता रहेको बताएका थिए ।
त्यसैगरि, बङ्गलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालका राष्ट्रपतिप्रति समवेदना प्रकट गरेका थिए भने नेपालमा भएको विपद्प्रति बङ्गलादेशको राष्ट्रिय संसद्ले समेत ११ भदौमा बसेको संसद् बैठकमा विपद्मा ज्यान गुमाउने तथा बेपत्ता भएकाप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो ।